व्रोइलर पाल्दा प्रत्येक सप्ताह विचार गर्नुपर्ने कुराहरु  (साप्ताहिक तालिका)

by

पहिलो हप्ता (१ देखि ७ दिन)

– प्रति वर्ग फुट ४ वटा चल्ला हुनेगरी क्षेत्रफल दिने ।

– प्रत्येक चल्लाको बाक्साबाट ४-५ वटा चल्लाको तौल लिने र अभिलेख राख्ने ।

– चल्लालाई खोरमा ल्याउनासाथ तुरुन्त ब्रुडिंग क्षेत्रमा छोडिहाल्ने ताकि चल्लाले छिटो भन्दा छिटो पानि पिउन सकून । छोड्दाखेरि पानीको भाँडा नजिकै लगेर छोड्ने र पानि खान उत्प्रेरित गराउने । चल्लाको चुचो पानीमा डोबेर चल्लालाई पानि खान उत्प्रेरित गराउन सकिन्छ । कुखुरामा स्वास—प्रस्वास सम्बन्धि समस्या बढी देखिने स्थानमा चल्लाको सुरुको १ देखि २ घण्टाको पानीमा आई.बिए.च. १२० भ्याक्सिन दिनु उपयुक्त हुन्छ ।

– पानीको भाडो (चिक ड्रिङ्कर) को संख्या प्रति ४० चल्ला १ वटा भाडो हुनेगरी मिलाउने । गर्मीयाममा प्रति १०० चल्ला बराबर ३ वटा पानीको भाडो दिने

– चल्लाले पिउने पानीमा इलेक्ट्रोलाईट मिसाउने ।

– पानि पिउन सुरु गरेको २-३ घण्टा पछि मात्र दाना दिने । प्रि- स्टार्टर दाना दिने ।

– दानाको भाँडा (चिक फिडर) को संखा प्रति ४० चल्ला बराबर १ वटा भाडो हुनेगरी मिलाउने ।

– ब्रुडरको नजिकको तापक्रम ९०-९५ डिग्री फरेनहाईट र कोठाको तापक्रम ८०-८५ डिग्री फरेनहाईट हुनुपर्दछ ।

– कुनैपनि हालतमा चल्लालाई स्वच्छ हावा चाहिन्छ । पानि र दाना भन्दापनि महत्वपूर्ण कुरा हो स्वच्छ हावा । आवश्यक तापक्रम कायम रहने गरी दुवैतर्फ माथिको पर्दा खोल्नुपर्द्छ ताकि अधिक भन्दा अधिक मात्रामा हावाको आवत-जावत हुन सकोस् । अत्यधिक ठण्डी मौसममा पनि कम से पर्दाको माथि कम १ फुट खुला रहोस् ।

– दोस्रो, तेस्रो र चौथो दिन दैनिक ५-६ घण्टाको पानीमा डेनागार्ड (Denaguard) ४ ग्राम प्रति १००० चल्लाको दरले वा सोलुटिल (Solutyl) १० ग्राम प्रति १००० चल्लाको दरले वा टाइलोभेट (Tylovet) १ ग्राम प्रति ३ लिटर पानिको दरले ५-६ घण्टाको पानीमा दिने ।

– चल्लालाई रानीखेत विरुद्धको बि-वान (B-1) भ्याक्सिन आँखामा १ थोपा, ५ देखि ७ दिनभित्र दिने। सकभर पाँचौ दिन मै दिने ।

– सोत्तरको गहिराई कमसेकम डेढ इन्च हुनुपर्छ ।

– चल्ला ह्याच भैसकेपछि फार्मसम्म आइपुग्दा केहि समय लाग्ने हुनाले डिहाईड्रेशन भई गाउट रोग देखिन सक्ने अधिक सम्भावना हुन्छ यो समयमा । गाउट रोग साथै फंगल (ढुसिजन्य) इन्फेकशन नहोस् भन्नाको लागि विशेष सावधानी अपनाउने ।

– यो हप्ता प्रत्येक चल्ला दाना खपत १६० – १६५ ग्राम हुनुपर्दछ (कब-५०० को हकमा १६७ ग्राम) । दाना खेर नजाओस् भन्ने कुरामा सावधानी अपनाउने । समय-समयमा खोरमा कामदारलाई हिड्ने-डुल्ने गर्न लगाउने ताकि चल्ला दाना खान प्रेरित हुन् । रातिमा दाना खानको लागि पर्याप्त मात्रामा प्रकाश रहोस् ।

– यति दाना भैसकेपछि हप्ताको अन्त्यमा चल्लाको वजन करिब १८५ ग्राम आउनुपर्दछ (कब-५०० को हकमा पनि १८५ ग्राम) ।

– मृत्युदर १ प्रतिशत भन्दा बढी नहोस् ।

– भि-अक्स (V-Ox) वा वायो-बुस्टर (Bio-Buster) ले एकपटक खोरभित्र छिटेर निसंक्रमण गर्ने ।

दोस्रो हप्ता (८ देखि १४ दिन)

– चल्लालाई अलि बढी क्षेत्रफल उपलब्ध गराउने । प्रति वर्ग फुट २ वटा चल्ला हुनेगरी क्षेत्रफल दिने ।

– १२ औँ दिनसम्म सतप्रतिशत प्रि- स्टार्टर दाना नै दिने । १३ औँ दिन ७५ % प्रि- स्टार्टर र २५ % स्टार्टर दाना मिसाएर दिने । १४ औँ दिन ५० % प्रि- स्टार्टर र ५० % स्टार्टर दाना मिसाएर दिने । तेस्रो हप्ता देखि स्टार्टर दाना खुवाउनको लागि दोस्रो हप्ताको अन्त्यतिर क्रमिक रुपमा प्रि- स्टार्टर दानाको मात्रा घटाउने । एक्कासी परिवर्तन नगर्ने ।

– दानाको भाडा हेर्ने । सबै कुखुरालाई खाने स्थान पुग्ने गरी पर्याप्त छ कि छैन ?

– दानाको भाडाको उचाई पनि यथोचित हुनुपर्दछ ।

– हावाको आवत-जावत (भेन्टीलेशन) अझै बढाउने ।

– सोत्तरलाई यो हप्तामा दुई-तीन पटक पल्टाउने (रेकिङ्ग) गर्ने । सोत्तरको मोटाई बढाएर २ इन्च बनाइदिने ।

– ब्रुडरको नजिकको तापक्रम ८५-९० डिग्री फरेनहाईट र कोठाको तापक्रम ७५-८० डिग्री फरेनहाईट हुनुपर्दछ ।

– १२ देखि १४ दिनको बिचमा गम्बोरो बिरुद्धको इन्टरमेडीयट प्लस (IBD Intermediate Plus) भ्याक्सिन आखाँ वा नाक वा मुखको प्वालमा एक -एक थोपा दिने । सकभर १२ औँ दिनमै दिएको राम्रो । मुखको प्वालमा दिँदा उत्साहजनक परिणाम देखिएको छ ।

– फंगल (ढुसिजन्य) इन्फेकशन र एसाईटिस (पेटमा पानि जम्मा हुने) नहोस् भन्नाको लागि विशेष सावधानी अपनाउने ।

– यो हप्ता प्रत्येक चल्ला दाना खपत ३६० – ३७० ग्राम हुनुपर्दछ (कब-५०० को हकमा ३७५ ग्राम) । समय-समयमा फिडरलाई हल्लाउने ।

– यति दाना खपत गरेपछि चल्लाको औषत तौल लगभग ४५० ग्राम हुनुपर्छ (कब-५०० को हकमा ४६५ ग्राम) । यदि सोभन्दा कम वजन आएमा तुरुन्त के कारणले गर्दा कम आयो भन्ने कुराको खोज तलास गरिहाल्ने । अन्यथा सुधार गर्नको लागि ढिलो हुनसक्छ ।

– मृत्युदर १ प्रतिशत भन्दा बढी नहोस् ।

– भि-अक्स (V-Ox) वा वायो-बुस्टर (Bio-Buster) एकपटक खोरभित्र छिटेर निसंक्रमण गर्ने । जीवित भ्याक्सिन (Live vaccine) दिनुभन्दा ४८ घण्टा अगाडि देखि १२ घण्टा पछिसम्म खोरभित्र निसंक्रमण औसधि प्रयोग नगर्ने । निसंक्रमण औसधिको प्रभावले Live vaccine को सक्रिय तत्व नष्ट हुनसक्छन ।

तेस्रो हप्ता (१५ देखि २१ दिन)

– एउटा व्रोइलरलाई पौने वर्ग फिट पुग्ने गरि क्षेत्रफल दिने ।

– १५ औँ दिन ७५% स्टार्टर र २५% प्रि-स्टार्टर दाना दिने । १६ औँ दिनबाट १००% स्टार्टर दाना दिने । दानाको प्रकार एक्कासी परिवर्तन नगरिकन क्रमबद्ध रुपमा गर्ने । दाना परिवर्तन गर्ने बेलामा बायोलिभ १५ एम एल प्रति सय चल्लाको दरले १२ औँ दिनदेखि १६ औँ दिनसम्म पानीमा चलाउने ।

– दानाको भाडा हेर्ने । सबै कुखुरालाई खाने स्थान पुग्ने गरी पर्याप्त छ कि छैन ?

– दानाको भाडाको उचाई पनि यथोचित हुनुपर्दछ । फिडरको उचाई कुखुराको पिठ्यु बराबर हुनु उचित हुन्छ।

– हावाको आवत-जावत (भेन्टीलेशन) अझै बढाउने ।

– सोत्तरलाई यो हप्तामा प्रत्येक दिन पल्टाउने (रेकिङ्ग) गर्ने । सोत्तर जहाँ भिजेको छ त्यसलाई हटाउने र नयाँ सोत्तर थपेर मोटाई ३ इन्च बनाइदिने ।

– ब्रुडरको नजिकको तापक्रम ८०-८५ डिग्री फरेनहाईट र कोठाको तापक्रम ७०-७५ डिग्री फरेनहाईट हुनुपर्दछ ।

– १९ देखि २१ दिनको बिचमा फेरी गम्बोरो विरुद्धकै इन्टरमेडीयट (IBD Intermediate) भ्याक्सिन पानीमा मिलाएर दिने। सकभर १९ औँ दिनमै दिएको राम्रो ।

– एसाईटिस (पेटमा पानि जम्मा हुने) नहोस् भन्नाको लागि विशेष सावधानी अपनाउने । कब-५०० जातका व्रोइलर कुखुरामा तुलनात्मक रुपमा बढी एसाईटिसको समस्या देखिने गरेको पाइएको छ ।

– यो हप्ता प्रत्येक चल्ला दाना खपत ६२०-६३० ग्राम हुनुपर्दछ (कब-५०० को हकमा ६५० ग्राम) ।

– यति दाना खपत गरेपछि चल्लाको औषत तौल लगभग ८५० ग्राम हुनुपर्छ (कब-५०० को हकमा ९४३ ग्राम) । यदि कम वजन आएमा तुरुन्त के कारणले गर्दा आयो भन्ने कुराको खोज तलास गरिहाल्ने ।

– मृत्युदर आधा प्रतिशत भन्दा बढी नहोस् ।

– भि-अक्स (V-Ox) वा वायो-बुस्टर (Bio-Buster) जस्ता भाइरुसाइडल औषधिले हप्तामा दुई पटक खोरभित्र छिटेर निसंक्रमण गर्ने ।

चौथो हप्ता (२२ देखि २८ दिन)

– एउटा व्रोइलरलाई एक वर्ग फिट पुग्ने गरि क्षेत्रफल दिने ।

– २६ औँ दिनसम्म सतप्रतिशत स्टार्टर दाना नै दिने । २७ औँ दिन ७५ % स्टार्टर र २५ % फिनिसर दाना मिसाएर दिने । २८ औँ दिन ५० % स्टार्टर र ५० % फिनिसर दाना मिसाएर दिने । पाचौँ हप्ता देखि स्टार्टर दाना खुवाउनको लागि चौथो हप्ताको अन्त्यतिर क्रमिक रुपमा स्टार्टर दानाको मात्रा घटाउने । एक्कासी परिवर्तन नगर्ने ।

– दानाको भाडा हेर्ने । सबै कुखुरालाई खाने स्थान पुग्ने गरी पर्याप्त छ कि छैन? निश्चित समयको अन्तरालमा फिडर हल्लाउने । यसरी फिडर हल्लाउनाले कुखुरा दाना खान प्रेरित हुन्छ ।

– दानाको भाडाको उचाई पनि यथोचित हुनुपर्दछ । फिडरको उचाई कुखुराको पिठ्यु बराबर हुनु उचित हुन्छ।

– हावाको आवत-जावत (भेन्टीलेशन) अझै बढाउने ।

– सोत्तरलाई यो हप्तामा प्रत्येक दिन पल्टाउने (रेकिङ्ग) गर्ने । सोत्तर जहाँ भिजेको छ त्यसलाई हटाउने र नयाँ  सोत्तर थपेर मोटाई ३ .५ इन्च बनाइदिने ।

– ब्रुडरको नजिकको तापक्रम ७५-८० डिग्री फरेनहाईट र कोठाको तापक्रम ६५-७० डिग्री फरेनहाईट हुनुपर्दछ ।

– २३ औँ र २४ औँ दिनमा फेरीपनि डेनागार्ड (Denaguard) १० ग्राम प्रति १००० चल्लाको दरले वा सोलुटिल (Solutyl) २५ ग्राम प्रति १००० चल्लाको दरले वा टाइलोभेट (Tylovet) १ ग्राम प्रति ३ लिटर पानिको दरले ५-६ घण्टाको पानीमा दिने ।

– २५ देखि २८ दिनको बिचमा फेरी रानीखेत विरुद्धकै लासोटा (Lasota) भ्याक्सिन पानीमा मिलाएर दिने । सकभर २५ औँ दिनमै दिएको राम्रो ।

– सि.आर.डि., ई. कोलाई, कक्सीडियोसिस् एवम् एसाईटिस (पेटमा पानि जम्मा हुने) नहोस् भन्नाको लागि विशेष सावधानी अपनाउने । उपरोक्त रोगका लक्षण देख्नासाथ तुरुन्त दर्तावाल भेटेरिनरी डाक्टर कहाँ उपचार गर्ने ।

– यो हप्ता प्रत्येक चल्ला दाना खपत ९००-९२० ग्राम हुनुपर्दछ (कब-५०० को हकमा ९४३ ग्राम) ।

– यति दाना खपत गरेपछि चल्लाको औषत तौल लगभग १४०० ग्राम हुनुपर्छ (कब-५०० को हकमा १५२४ ग्राम) । यदि कम वजन आएमा तुरुन्त के कारणले गर्दा कम आयो भन्ने कुराको खोज तलास गरिहाल्ने ।

– मृत्युदर आधा प्रतिशत भन्दा बढी नहोस् ।

– भि-अक्स (V-Ox) वा वायो-बुस्टर (Bio-Buster) जस्ता भाइरुसाइडल औषधिले हप्तामा दुई पटक खोरभित्र छिटेर निसंक्रमण गर्ने ।

जानकारी राख्नुहोस :- यो सप्ताहलाई व्रोइलर पालनमा एकदम जटिल सप्ताहको रुपमा बुझिन्छ । यो सप्ताह खैरियतसँग काटियो भने प्रायगरी अन्त्यसम्म खैरियत नै रहन्छ ।

पाचौँ हप्ता (२९ देखि ३५ दिन)

– एउटा व्रोइलरलाई सवा एक वर्ग फिट पुग्ने गरि क्षेत्रफल दिने ।

– २९ औँ दिन ७५% फिनिसर र २५% स्टार्टर दाना दिने । ३० औँ दिनबाट १००% फिनिसर दाना दिने । दानाको प्रकार एक्कासी परिवर्तन नगरिकन क्रमबद्ध रुपमा गर्ने । दाना परिवर्तन गर्ने बेलामा बायोलिभ १५ एम एल प्रति सय चल्लाको दरले २६ औँ दिनदेखि ३० औँ दिनसम्म पानीमा चलाउने ।

– दानाको भाडा हेर्ने । सबै कुखुरालाई खाने स्थान पुग्ने गरी पर्याप्त छ कि छैन ? निश्चित समयको अन्तरालमा फिडर हल्लाउने ।

– दानापानिको भाडाको उचाई पनि यथोचित हुनुपर्दछ । फिडर- ड्रीङ्करको उचाई कुखुराको पिठ्यु बराबर हुनु उचित हुन्छ।

– हावाको आवत-जावत (भेन्टीलेशन) अझै बढाउने ।

– सोत्तरलाई यो हप्तामा प्रत्येक दिन पल्टाउने (रेकिङ्ग) गर्ने । सोत्तर जहाँ भिजेको छ त्यसलाई हटाउने र नयाँ सोत्तर थपेर मोटाई ४ इन्च बनाइदिने ।

– ब्रुडरको नजिकको तापक्रम ७०-७५ डिग्री फरेनहाईट र कोठाको तापक्रम ६०-६५ डिग्री फरेनहाईट हुनुपर्दछ ।

– सि.आर.डि. र ई. कोलाईको संक्रमण नहोस् भन्नाको लागि विशेष सावधानी अपनाउने ।

– यो हप्ता प्रत्येक चल्ला दाना खपत १२०० ग्राम हुनुपर्दछ (कब-५०० को हकमा १२१५ ग्राम) ।

– यति दाना खपत गरेपछि चल्लाको औषत तौल लगभग १९०० ग्राम हुनुपर्छ (कब-५०० को हकमा २१९२ ग्राम) । यदि कम वजन आएमा तुरुन्त के कारणले गर्दा आयो भन्ने कुराको खोज तलास गरिहाल्ने र निवारण गर्ने ।

– मृत्युदर आधा प्रतिशत भन्दा बढी नहोस् ।

– भि-अक्स (V-Ox) वा वायो-बुस्टर (Bio-Buster) जस्ता भाइरुसाइडल औषधिले हप्तामा तीन पटक खोरभित्र छिटेर निसंक्रमण गर्ने ।

छैठौँ हप्ता (३६ देखि ४२ दिन) 

– एउटा व्रोइलरलाई डेढ वर्ग फिट पुग्ने गरि क्षेत्रफल दिने ।

– फिनिसर दाना दिने

– दानाको भाडा हेर्ने । सबै कुखुरालाई खाने स्थान पुग्ने गरी पर्याप्त छ कि छैन ? निश्चित समयको अन्तरालमा फिडर हल्लाउने ।

– दानापानिको भाडाको उचाई पनि यथोचित हुनुपर्दछ । फिडर-ड्रीङ्करको उचाई कुखुराको पिठ्यु बराबर हुनु उचित हुन्छ।

– हावाको आवत-जावत (भेन्टीलेशन) अझै बढाउने ।

– सोत्तरलाई यो हप्तामा प्रत्येक दिन पल्टाउने (रेकिङ्ग) गर्ने । सोत्तर जहाँ भिजेको छ त्यसलाई हटाउने र नयाँ सोत्तर थपेर सुख्खा बनाइदिने ।

– कोठाको तापक्रम ६०-६५ डिग्री फरेनहाईट हुनुपर्दछ । यदी कोठाको तापक्रम ५५ डिग्री फरेनहाईट भन्दा कम भएमा कुखुराले अनावश्यक बढी दाना खाएर एफ. सि. आर. खराब हुनसक्छ, यस्तो अवस्था आइपरे भुकारीको प्रयोग गरेर तापक्रम बढाउने ।

– सि.आर.डि.र ई. कोलाईको संक्रमण नहोस् भन्नाको लागि विशेष सावधानी अपनाउने ।

– यो हप्ता प्रत्येक चल्ला दाना खपत १२३०-१२५० ग्राम हुनुपर्दछ (कब-५०० को हकमा १४३४ ग्राम) ।

– यति दाना खपत गरेपछि चल्लाको औषत तौल लगभग २४०० ग्राम हुनुपर्छ (कब-५०० को हकमा २८५७ ग्राम) । यदि कम वजन आएमा के कारणले गर्दा आयो भन्ने कुराको खोज-तलास गर्ने जुन अर्को लटको लागि शिक्षा हुनसक्दछ, यो लटको लागि भने सुधार गर्ने बेला टरिसकेको हुन्छ ।

– मृत्युदर आधा प्रतिशत भन्दा बढी नहोस् ।

– भि-अक्स (V-Ox) वा वायो-बुस्टर (Bio-Buster) जस्ता भाइरुसाइडल औषधिले हप्तामा तीन पटक खोरभित्र छिटेर निसंक्रमण गर्ने ।

नोट :-

१. एक समयमा एकै उमेर समूहको व्रोइलर राख्नु उपयुक्त हुन्छ । यसलाई प्रणाली All-in All-out System भनिन्छ । यसबाट नतिजा राम्रो आउनेछ ।

२. यहाँ बताइएको दाना खपत र शारीरिक वजन व्रोइलरको जात अनुसार केहि फरक हुनसक्नेछ ।

३. पानीको भाँडा विहान र बेलुका गरी दिनको दुई पटक सफाई गर्ने । कुनै प्रभावकारी निसंक्रमण झोलले छिट्ने पनि गर्ने ।

४. हावाको आदान-प्रदान कम भएमा एसाईटिस (पेटमा पानि जम्मा हुने) को समस्या देखिन सक्छ । साथै खोएभित्र एमोनिया ग्याँसको मात्रा बढ्न गएर विभिन्न संक्रामक रोग निम्त्याउने सम्भावना रहन्छ र वजन प्राप्तिमा समेत नकारात्मक असर पर्नसक्छ ।

५. दाना खेर जान बाट जोगाउने । फिडरमा सतप्रतिशत भरिने गरी दाना नराख्ने । दुई-तिहाई जति मात्र राख्ने र खाइसकेपछि पून: थप्ने ।

६. सुलीको रंग बदलिएको खण्डमा वा सुली पातलो भएको खण्डमा तुरुन्त यसप्रति ध्यान दिने र दर्तावाल भेटेरिनरी डाक्टर कहाँ लगेर उपचार गरिहाल्ने ।

७. केहिबेर चल्लाको नजिकै बसेर ध्यान दिने । कोहि सानो र कोहि ठुलो त भैरहेका छैनन् ? यदी यस्तो भएको छ भने कारण पत्ता लगाउने र निराकरण गर्ने । निराकरण गर्नको लागि तौल अनुसार ग्रेडिंग गरी ठुला र सानालाई छुट्टा-छुट्टै बस्ने र दानापानि खाने व्यवस्था गर्न सकिन्छ । चल्लालाई सास फेर्ने बेलामा अफ्ठ्यारो भई आवाज निस्कने गरेको त छैन ? यदी छ भने तुरुन्त भेटेरिनरी डाक्टरसँग परामर्श लिएर सोहि मुताविक काम गर्ने । खुट्टा कमजोर त भएको छैन ? यदी भएमा तुरुन्त उपचार गर्ने ।

८. डेनागार्ड वा सोलुटिल वा टाइलोभेट भएको पानि प्रयोग गरिसकेपछि बाँकी पानिमा विशेषज्ञ भेटेरिनरी डाक्टरको सल्लाह मुताविक कुनै राम्रो एन्टीवायोटिक (जुन प्रयोगशालामा एन्टीवायोटिक सेन्सिटिभिटी गर्दा अक्सर गरेर सेन्सिटिभ भेटिएको छ । सेन्सिटिभ एन्टीवायोटिक ठाउँ र समय अनुसार फरक हुनसक्छन ।) ३-४ दिन सम्म दिन सकिन्छ । व्रोइलर उधोगमा माइकोप्लाज्मा (सि.आर.डि.) देखि जोगिन आवश्यक छ । प्रायगरी ह्याच भएर आएदेखि नै चल्ला आफैले खोरमा माइकोप्लाज्मा भित्राएको पाइन्छ । संक्रमण भैसकेपछि हुनसक्ने क्षतिबाट बचावको लागि एन्टीवायोटिकको प्रयोग नै उपयुक्त विधि हो । तर विशेषज्ञ भेटेरिनरी डाक्टरको परामर्श विना आफुखुसी वा अन्धाधुन्ध एन्टीवायोटिक प्रयोगको निर्णय लिनु उपयुक्त हुँदैन ।

९. यहाँ कुनै विशेष भ्याक्सिन वा औसधिको नाम उल्लेख गरिएको छ । विशेषज्ञ दर्तावाल भेटेरिनरी डाक्टरको सल्लाह लिएर यससँग मिल्ने अन्य भ्याक्सिन वा औसधिको प्रयोग गर्न सकिन्छ, परन्तु गर्नुहोस जरुर ।

१०. डेनागार्ड (टियामुटिन) प्रयोग गर्ने बेला यो कुरा ध्यान दिनुपर्छ कि दानामा सालिनोमाईसिन, मदुरामाईसिन, मोनेनसिन र नारसिन जस्ता कक्सीडियोस्टाट प्रयोग भएको हुनुहुँदैन । दाना बिक्रेताबाट यो कुराको जानकारी लिन सकिन्छ । यदी दानामा यस्ता कक्सीडियोस्टाट प्रयोग भएको भए सोलुटिल वा टाईलोभेट (टाइलोसिन) प्रयोग गर्न उपयुक्त हुन्छ ।

विशेष नोट:-

१. हामी ब्रुडिंगको समयमा तापक्रम कायम गर्ने कुरामा मात्र केन्द्रित हुन्छौँ । हावाको आवत-जावत (भेन्टीलेशन) मा भने खासै ध्यान दिदैनौँ । हावाको आवत-जावत अत्यन्तै आवश्यक छ ।

२. कतिपय किसानले आफ्नो व्यवस्थापनबाट ब्रुडरलाई हटाएको भेट्न सकिन्छ । कतिपयलाई ब्रुडर भन्ने चिज के हो भन्ने नै थाहा छैन । यो एकदम गलत कुरा हो । सामान्य बल्बले मात्र ताप दिने कुरा गर्मीयाममा त पर्याप्त होला तर जाडोयाममा कदापि हुनसक्दैन ।

३. सोत्तरमा बढ्दै गएको ओसिलोपनामा ध्यान दिदैनौँ । यसले एफ.सि.आर लाई खराब बनाउँछ साथै एमोनिया ग्याँसको मात्र वृद्दि भएर थुप्रै स्वास्थ्यजन्य समस्या आइपर्न सक्छ ।

४. सफलतम व्रोइलर पालनको लागि यो कुरा आवश्यक छ कि दैनिक हिसाब-किताब तथा अभिलेख राख्नुपर्छ । तर हामी यसो गरिरहेका छैनौँ ।

डा. विवेक बन्धु रेग्मी

कन्शलटेन्ट भेटः पोल्ट्री कन्शलटेन्शी एण्ड डायग्नोष्टिक ल्याब, दाङ

प्राविधिक निर्देशकः हाइजिन एग्रो प्रा लि, घोराही, दाङ

WordPress Themes