व्रोइलर कुखुराको पेटमा पानि जम्ने समस्या, समाधानका उपाय

by डा. विवेक बन्धु रेग्मी

एसाइटिस अथवा “वाटर बेली” व्रोइलर कुखुरामा प्राय देखिईराख्ने समस्या हो । एसाइटिस यस्तो अवस्था हो जतिबेला कुखुराको पेटमा झट्ट हेर्दा पानि जस्तै देखिने प्रोटिनले भरिपूर्ण तरल पदार्थ जम्मा भएर पेट भकुण्डो आकारको भई फुलेको हुन्छ । प्रोटिनले भरिपूर्ण तरल पदार्थ नियालेर हेर्दा फिक्का पहेलो जेलजस्तो देखिन्छ । एसाइटिसको कारणले सास फेर्न गाह्रो भई कुखुराको मृत्यु हुन्छ । सामान्यतया व्रोइलर कुखुरामा एसाइटिसको कारणले १ देखि ५ प्रतिशत सम्म मृत्युदर हुन्छ । कहिलेकाही मृत्युदर ३० प्रतिशत सम्म हुने गरेको पाईएको छ।

लेयर्स कुखुरामा कहिलेकाही देखापर्ने एसाइटिस व्रोइलर कुखुरामा भने प्रायगरी देखिईराख्छ । व्रोइलर कुखुरा अत्यधिक छिटो बढ्नुपर्ने हुँदा उनीहरुको शरीरको कोष तथा तन्तुहरुको अक्सिजन आवश्यकता पनि अत्याधिक धेरै हुन्छ । अक्सिजन आवश्यकता परिपूर्ति गर्न मुटु तथा रक्तसंचार प्रणाली अधिक रुपमा सक्रिय हुन्छ । किनभने रगतबाट नै शरीरको कोषहरुमा अक्सिजन प्रवाह हुन्छ । कुखुराको फोक्सो अन्य जीवजन्तुको भन्दा फरक हुन्छ (कडा हुन्छ, फुल्ने क्षमता हुदैन) जसले उच्च रक्तसंचारको चाप घटाउने गरि अक्सिजन ग्रहण गर्न सक्दैन । फलस्वरूप उच्च रक्तसंचारको चाप दाहिने मुटु हुदै कलेजो सम्म पुग्छ । दाहिने मुटु पनि फेल हुन्छ । यसरी चाप वृद्दि भएसंगै कलेजोबाट रातो कोष विहिन तरल पदार्थ पेटमा चुहिन्छ र अन्ततः एसाइटिस देखापर्छ:

 व्रोइलर कुखुरामा एसाइटिस देखिनुको कारक तत्वहरु निम्न अनुसार छन 

१) वंशाणुगत कारणः आधुनिक व्रोइलर कुखुरालाई अत्यधिक छिटो बढ्ने गरेर वंशाणु विकास गरिएको छ । तर व्रोइलर कुखुराको शारीरिक वृद्दिको अनुपातमा उनीहरुको मुटु, कलेजो र फोक्सो जस्ता अंगहरुको विकास कम नै हुने गरेको छ । फलस्वरूप शरीरको आवश्यकता अनुरुप अक्सिजन प्रवाहको कार्य हुननसक्दा रगत संचारको चाप वृद्दि हुनगई एसाइटिसको समस्या देखिन्छ

 २) फोक्सोले वातावरणबाट अक्सिजन ग्रहण गर्ने कार्यमा बाधा उत्पन्न गराउने कुनैपनि कारणले एसाइटिस हुनसक्छ । जस्तै फोक्सोलाइ संक्रमण गर्ने रोग (सि.आर. डि., आइ. बि., रानीखेत, एस्परजिलोसिस आदि) को कारणले वा खोरको भेन्टिलेसन कम भएको अवस्थामा एसाइटिस हुनसक्छ । विशेष गरेर जाडो महिनामा केहि किसानले कुखुरालाई जाडोबाट जोगाउन कहिँ कतैबाट हावा छिर्न नमिल्ने गरि पर्दा लगाउछन । यसो गर्दा अक्सिजनको कमि भई कुखुरालाई एसाइटिस हुन्छ ।

 ३) पानीमा सोडियमको मात्रा बढी भएको खण्डमा वा दानामा नुनको मात्रा अधिक भएको खण्डमा रक्त नलिभित्र रगतको चाप वृद्दि हुन्छ र एसाइटिसको जोखिम उच्च हुन जान्छ । फिस मिल अथवा माछाको धुलो प्रयोग गरिने दानामा नुनको मात्र धेरै हुने सम्भावना रहन्छ । ४०० पि.पि.एम. भन्दा बढी सोडियम भएमा व्रोइलरमा समस्या उत्पन्न हुन्छ ।

 ४) उच्च पहाडी वा हिमाली क्षेत्रमा कुखुरापालन गरेको खण्डमा एसाइटिसको समस्या अधिक रुपमा देखापर्छ किनभने त्यस्ता उच्च क्षेत्रको हावामा अक्सिजनको मात्रा न्यून हुन्छ ।

 ५) जाडोयाममा शरीरमा ताप उत्पन्न गराउन रक्तसंचार अधिक रुपमा सक्रिय हुन्छ । फलस्वरूपः जाडो समयमा गर्मीको तुलनामा एसाइटिस हुने जोखिम बढी रहन्छ ।

 ६) खोरभित्रको हावाको गुणस्तर कम भएको खण्डमा (बढी मात्रामा एमोनिया, कार्बन डायोक्साइड, कार्बन मोनोअक्साइड भएमा) पनि एसाइटिस हुने सम्भावना बढी हुन्छ ।

 ७) विभिन्न रोग वा अन्य कारणले कलेजो वा मुटुको खराबी भएको अवस्थामा पनि एसाइटिसको जोखिम उच्च रहन्छ । कुनैपनि संक्रमण वा विषाक्तता (सोडियम, माइकोटकसिन, एमोनिया ग्याँस आदि) जसले कुखुराको फोक्सो, कलेजो र मृगौला जस्ता महत्वपूर्ण अंगहरुमा क्षति पुर्याउछन, तिनको कारणले गर्दा पेटमा पानि जम्ने समस्या देखिन सक्छ ।

 ८)  नेपालको सन्दर्भमा कुखुरापालन सम्बन्धि वैज्ञानिक ज्ञान हाँसिल गरेर भन्दापनि अरुबाट प्रभावित भई सामान्य देखासिकीको भरमा कुखुरा पाल्ने होडवाजी देखिन्छ । कतिपय मानिसले खोर नै निर्माण नगरी घरका कोठामा व्रोइलर पाल्ने गरेको पनि पाइन्छ । यसरी कोठामा व्रोइलर पाल्दा भेन्टिलेसनको कमि भई एसाइटिसको समस्या व्यापक रुपमा देखिन्छ ।

 एसाइटिस भएका कुखुराले देखाउने लक्षणहरु

कुखुराको शारीरिक वृद्दि विकास कम हुन्छ । पेट भकुण्डो जस्तो फुलेको हुन्छ । सास फेर्न गाह्रो महशुस हुन्छ । कुखुराले मुख खोलेर सास लिन्छ जसलाई वैज्ञानिक भाषामा “प्यान्टिङ्ग” भनिन्छ । सास फेर्दा आवाज निस्किन्छ । छालामा निलोपना देखापर्छ । सिउर, लोती र मासुका तन्तुहरुमा समेत निलोपना देखापर्छ ।

 पोस्टमार्टम गर्दा निम्नअनुसार परिवर्तन देखिन्छ

पेटमा जम्मा भएको पहेलो जेलजस्तो पानि चुहिन्छ । फोक्सोको रंग फिक्का वा खैरो हुन्छ । फोक्सो सुनिएजस्तो हुन्छ । कलेजो पनि सुनिएको हुन्छ । मुटुको दाया भागको मासु बाक्लो भएको हुन्छ । दाया मुटुको भेन्ट्रीकल फुलेको हुन्छ । कहिलेकाही पेटमा पानि जम्मा नहुँदै फोक्सोमा पानि जमेको कारण पनि कुखुराको मृत्यु हुनसक्छ ।

 कुखुरालाई एसाइटिसबाट जोगाउन निम्न कुराहरुमा ध्यान दिनुपर्छ

१) समुद्री सतहदेखि ३,००० फिट भन्दा माथि पालिएका व्रोइलरमा एसाइटिस हुने सम्भावना बढी रहन्छ । तसर्थ समुद्री सतहदेखि धेरै उच्च स्थान (जस्तै नेपालको उच्च पहाडी र हिमाली भेग) मा व्रोइलर पालन नगर्नु नै वेस हुन्छ ।

 २) खोरमा सोत्तर व्यवस्थापन राम्रोसंग गर्नुपर्छ । सोत्तरलाई भिज्न दिनुहुदैन । भिजेको सोत्तरबाट बढी एमोनिया उत्पादन हुन्छ । सोत्तर भिज्न नदिनको लागि पानीको भाँडाको उचित व्यवस्थापन गर्नुपर्छ, नियमित सोत्तर पल्टाउनुपर्छ, खोरको क्षमताभन्दा बढी कुखुरा पाल्नुहुदैन साथै कुखुरालाई आन्द्रामा हुने संक्रमणबाट जोगाउनुपर्छ । दाना फर्मुलेसन पनि उचित हुनुपर्छ । दाना फर्मुलेसनको गडबडीले पनि सोत्तर भिज्ने समस्या उत्पन्न हुन्छ ।

 ३) कुखुराको खोरमा स्वच्छ हावाको नियमित प्रवाह भैराख्नुपर्छ । भेन्टिलेसनको राम्रो प्रबन्ध हुनुपर्छ । ब््रुडिङ गर्दा वा जाडोयाममा हावा नै नपस्ने गरि पर्दा पुरै लगाउनुहुँदैन ।

 ४) ओपन हाउस सिस्टममा पाल्दा व्रोइलर कुखुराको खोर २५ फिट भन्दा बढी चौडाई हुनेगरी बनाउनु हुदैन । चौडाई सकभर २० फिट मात्र राख्न सकेमा अझ उत्तम हुन्छ । लेयर्स कुखुराको हकमा भने २८ देखि ३० फिट चौडाई सम्म जान सकिन्छ । चौडाई बढी भएको खोरमा हावाको प्रवाह कम भई सोत्तर भिज्ने जोखिम उच्च हुन्छ साथै एमोनियाको मात्रापनि बढी हुन्छ ।

 ५) एकै ठाउँमा धेरै खोर भएको फार्ममा एक खोर देखि अर्को खोर बीच पर्याप्त दुरी –कम्तिमा पनि ४० फिट कायम गर्नुपर्छ । सो अन्तर खोर दुरी कम भएमा पनि हावाको प्रवाह कम भई सोत्तर भिज्ने जोखिम हुन्छ ।

 ६) फोक्सो, कलेजो तथा मुटुमा संक्रमण गर्ने रोगहरुबाट कुखुरालाई जोगाउनुपर्छ ।

 ७) दाना र पानीमा सोडियमको मात्रा बढी हुनुहुदैन ।

 ८) जाडोयाममा फोक्सोलाई चिसोबाट जोगाउन र रक्तसंचार अधिक हुन नदिन कुखुरालाई अन्य स्रोतबाट पर्याप्त तापक्रम दिनुपर्छ ।

 ९) ब्रुडिङ अवस्थामा चल्लालाई पर्याप्त तापक्रम दिनुपर्छ । चल्लालाई ब्रुडिङ अवस्थाको पहिलो हप्तामै केहि समय मात्र चिसोको तनाव भएमा फोक्सोको कमजोरीको कारणले गर्दा त्यस्ता चल्लालाई पछि गएर एसाईटिस हुने जोखिम अधिक रहन्छ । तसर्थ जाडो मौसममा चल्लालाई पर्याप्त मात्रामा ब्रुडिङ तापक्रम छ कि छै भन्ने कुरामा विशेष हेक्का राख्नुपर्दछ ।

 १०) शारीरिक वृद्दिदरलाई कम गरेर पनि एसाइटिसबाट जोगाउन । यसको लागि मास दाना दिने वा कम दाना दिने गर्न सकिन्छ ।

 ११) एसाइटिस प्रतिरोधात्मक क्षमता भएको व्रोइलरको जात छनौट गर्नु उचित हुन्छ ।

 १२) एसाइटिसको समस्या बढी भएको खण्डमा दानामा माछाको धुलो (फिस मिल) प्रयोग गर्नु उचित हुदैन ।

१३) दानामा भिटामिन ई (२५० आइ. यु.), सेलेनियम (०.३ पि.पि.एम.) र भिटामिन सि (५०० ग्राम प्रति टन) को दरले वृद्दि गर्नाले एसाइटिसको जोखिम कम हुने तथ्य विभिन्न वैज्ञानिक अनुसन्धानले देखाएको छ ।

 १४) कम क्लोराईड युक्त र बढी बाइकार्बोनेट युक्त दानाले एसाइटिसको जोखिम कम गर्दछ । दानामा सोडियम बाइकार्बोनेट राख्नाले एसाइटिसको सम्भावना कम हुन्छ ।

 १५) मृगौलाले बढी मात्रामा पानि फाल्न सक्षम बनाउने डाईयुरेटिक औषधिले पनि एसाइटिसको जोखिम न्यूनीकरण गर्दछ ।

 १६) जति धेरै दाना खपत भयो मेटाबोलिजमको लागि कुखुराको शरीरलाई त्यति नै धेरै अक्सिजन आवश्यकता पर्दछ । अक्सिजनको प्रवाह धेरै बनाउनको लागि फोक्सो नजिकको रक्त नलीहरुमा रगत धेरै मात्रामा बग्नुपर्ने हुन्छ । फलस्वरूपः रक्त नलीमा प्रेसर धेरै भई पेटमा पानि चुहिन सक्छ । दाना खपतलाई नियन्त्रण गरेर वा दानाको पोषण घनत्वलाई कम गरेर पनि एसाईटिसको समस्या विरुद्द जुध्ने प्रयास गरेको पाइन्छ । यसो गर्नको लागि पेलेटको बदलामा मास दाना खुवाउने चलन पनि छ

१७) किसानवर्गले व्यवसायिक सोच सहित वैज्ञानिक एवं व्यवस्थित खोर निर्माण गरि कुखुरापालनमा लाग्नुपर्छ । घरका कोठामा व्रोइलर पालन गर्ने चलन वन्द नै गर्नुपर्छ । कोठामा गरिने व्रोइलर पालनमा एसाइटिसको समस्या देखिईराख्छ ।

सकभर माथिका बुदाहरुलाई आत्मसाथ गरी एसाइटिस लाग्न नदिनु नै उचित हुन्छ । यदि लागिहाले तुरुन्त भेटेरिनरी डाक्टरको सल्लाह लिएर औषधि उपचार गरि यसबाट हुने मृत्युदरलाई न्यूनीकरण गर्न सकिन्छ । तर रोग लाग्ने कारक तत्वलाई उन्मुलन नगरी औषधि प्रयोग गरेर मात्र व्रोइलर पालन नाफामुलक हुन सक्दैन ।

डा. विवेक बन्धु रेग्मी

मध्यपश्चिम पोल्ट्री डायग्नोसिस एण्ड भेट फर्मा

घोराही, दाङ

WordPress Themes