व्यवसायिक कुखुरा पालन; जाडोयाममा देखिने समस्या, रोकथाम र व्यवस्थापनका उपाएहरु

by डा. जितेन्द्र  लामा 

वर्षभरीमा हुने मौसम परिवर्तन संगै व्यवसायिक कुखुरा पालनमा मौसम अनुरुप आउने समस्या, रोकथाम र व्यवस्थापनका उपाएहरु जान्नु सफल व्यवसायको आधार हो।मौसम अनुसार तापक्रम घटबढ हुनाले कुखुरा पालनमा त्यहीअनुरुपले व्यवस्थापनमा ध्यान पुराउनु अत्यावश्यक छ। पशुपालन मध्यमा सबैभन्दा धेरै शारिरीक तापक्रम कुखुराहरुको हुने र मौसम अनुरुप तापक्रमको घटबढले गर्दा कुखुरामा हुने तनाबलाई न्यूनीकरण गर्न सक्नु कुखुरा पालन व्यवसायिहरुको लागि अपरिहार्यता र चुनौतिको विषय हो।

अन्य मौसममा भन्दा जाडो याममा कुखुरापालन गर्दा तापक्रममा विशेष ध्यान पुर्याउने हो भने कुखुरा पालनबाट रार्मो मुनाफा लिन सकिन्छ। 0 दिन देखि १४ दिन सम्म चल्लाले आफ्नो शरीरको तापक्रम विनियमन गर्न असमर्थ हुनाले त्यस  अनूरुप जाडो मौसममा १४ दिनसम्म ब्रूडिंग गर्नुअत्यन्तै जरूरी हुन्छ। उचित तापक्रमको व्यवस्थापनले चल्लाको शारीरिक वृद्धि राम्रो भइ रोग प्रतिरोधात्मक क्षमता पनि बढ्छ।

मौसम संगै वातावरणमा आएको परिवर्तनलाई कुखुराको पर्यावरणव समुचित व्यवस्थापन गर्दै लैजानुपर्छ उचित व्यवस्थापनको कमीको कारणले कुखुरामा मौसम अनुरुप विभिन्न किसिमको रोगहरु लाग्ने गर्छ।जाडोयाममा कुखुरामा धेरैजसो रोगहरु व्यवस्थापकिय त्रुटिका कारणले नै लाग्ने गर्दछन्।

जाडोयामको आगमनसंगै मुख्यतया तल उल्लेखित समस्याहरु देखिने गर्छन।

१. Ascites (पेटमापानीजम्ने)

२. CRD (घ्यार-घ्यार)

३. Gout (गाउट)

१. Ascites (पेटमा पानी जम्ने)

यो समस्या प्राय गरेर जाडोयाममा ४ देखि ६ हप्ताको ब्रोइलर कुखुरामा (चाडोबढ्ने) देखिनेगर्छ।अक्सिजनको कमि,भेन्टिलेशनमा त्रुटी, शारीरिक विकार, स्वास प्रस्वास प्रणालीमा समस्या, राशनमा त्रुटी, वातवरनिय तथा वंशाणुगत तत्व जस्ता कारणले पेटमा पानी जमने हुन्छ।

प्राय जाडो याममा तापक्रम व्यवस्थापन गर्नका लागि किसानहरुले खोरमा पूर्ण रूपमा पर्दा लगाउछन जस अनरुप स्वच्छ हावा प्रवाहामा अवरोध आउछ साथै खोरमा पैदा भएको अमोनिया ग्यासको पनि उचित निकास हुन पाउदैन।कुखुराले आफ्नो शारीरिक तापक्रम व्यवस्थापनको लागि जाडो याममा दानाको खपत धेरै गर्छ साथै दानाको वर्ग अनुसार B0, B1 र  B2 दानामा क्रमश शक्ति पनि बढी हुनाले यसको पाचन प्रक्रियामा अक्सिजनको मात्रा पनि क्रमश बढी चाहिन्छ।

त्यसैले अक्सिजनको प्रयाप्त मात्रा अपरिहार्य हुन्छ तर किसानहरुको गलत अभ्यासको कारणले खोरमा अक्सिजनको मात्रा कम हुन जान्छ।फलस्वरूप दानाको पाचन प्रक्रियामा गम्भीर असर पर्न गइ पेटमा पानि जम्ने समस्या धेरै देखिन्छ।

लक्षणहरु:

क. उच्च रूपमा स्या-स्याँ साथै घ्यार घ्यार देखिनु

ख. सियुर र लोती असामान्य रूपमा निलो देखिनु

ग. धेरै हिड्न नसकी चाडै थाक्नेर पेटले टेकी मर्ने

घ. कुखुरा चिरेर हेर्दा धेरै मात्रामा पेटबाट पानीबग्ने

रोकथामका उपाएहरु:

क. सोत्तरको उचित व्यवस्थापनका साथ साथै खोर भित्र संचित भएको अमोनिया ग्यासलाई भेन्टिलेशन मार्फत बाहिर निकाल्ने गर्नुपर्छ।यसको लागि खोरमा रातिको समयमा पर्दा लगाउदा छानाको सतह देखि एकहात तल बाट पर्दा लगाउदा उचित हुन्छ।

ख. Ascites को समस्या देखा परिहाले पशुचिकित्सकको सल्लाह बमोजिम साविक दाना खपतमा जटिलता अनूरुप ५०% सम्म दाना कम गर्नुपर्ने हुन सक्छ।

ग. मौसम अनुरुप दानामा शक्तिको मात्रा कम गर्नु पर्छ

घ. भिटामिन सी. को प्रयोगले राम्रो प्रतिफल आँउछ

२. CRD (घ्यार-घ्यार)

यो रोग सबै उमेरका कुखुराहरुमा देखिने गर्छ।यो रोगमा इकोप्लाज्मा (Mycoplasma) जीवाणुले लाग्नुका साथै अन्य व्यवस्थापकीय त्रुटिका कारणले पनि लाग्ने गर्छ।यो रोग संक्रमित हावा, अन्डा, सोत्तर, दाना तथा पानीबाट सर्नेगर्छ।

किसानहरुले प्राय जाडोयाममा खोरलाई न्यानो बनाइराख्नको लागि रातिको समयमा पर्दाले पुरैढाक्ने गर्छन।यस्तो किशिमको अभ्यासगर्नाले अमोनिया ग्यास खोरमा संचित भइ अमोनियाग्यासको मात्रा धेरै हुदै जाने हुन्छ जसले गर्दा प्रतक्ष्य रूपमा आँखा र स्वास नलीमा भएको कोषिकाहरुलाई हानि पुराउछ।फलस्वरूप जीवाणु तथा विषाणुले आक्रमण गर्ने वातावरण पाउछन र कुखुरालाई स्वासप्रस्वास सम्बन्धि रोगहरु लाग्छ।

खोरमा अधिक मात्रामा अमोनिया ग्यास हुनु, ब्रूडिंगको समयमा तापक्रमको व्यवस्थापन राम्रो नहुनु, कुखुराले पिउने पानीको निर्मलीकरण नगर्नु साथै भ्याक्सिनेसनको उचित व्यवस्थापनन भई रोग प्रतिरोधात्मक क्षमतामा ह्राश आउनाले जाडोयाममा घ्यार घ्यारको समस्या धेरै देखिने गर्छ।

लक्षणहरु:

क. खोक्नु, घ्यार घ्यार हुनु, मुख बाट र्याल निकाल्नु, ह्वाच्छिउ गर्नु

ख. पेटले शास फेर्नु

ग. मुख खोलेर शाश फेर्नु, झोक्र्याउनु

घ.आँखा सुन्निनु

ङ.शारीरिक वृद्धिदरमा ह्राश आउनु

च. दाना खपत कम हुनु

रोकथामका उपायहरु:

क. खोरमा उचित जैविक सूरक्षाको व्यवस्थापन गर्नुपर्छ।

ख. सरदर छानाको माथिल्लो सतह देखि एक हात बराबरको भेन्टिलेशन छोडी पर्दा लगाउनुपर्छ।

ग. ब्रूडिंग तापक्रमको मापदण्ड अनुसार जाडो याममा १२ दिन देखि १४ दिन सम्म ब्रूडिंग गर्नुपर्छ।

घ.  भ्याक्सिनेसनको तालिका अनुसार कोल्ड चेन मेन्टेन गरिएको भ्याक्सिन कुखुरालाई उचित मार्ग बाट दिनुपर्छ। भ्याक्सिन दिने दिन, दिनु भन्दा एकदिन अगाडी र दिएको एक दिन पछाडी, पानीमा कुनै पनी प्रकारको पानी सफा गर्ने औषधि र एण्टिवायटिक प्रयोग गर्नु हुदैन।

ङ.  जुनसुकै मौसममा पनि पानी लाई निर्मलीकरण गरि मात्र कुखुरा लाई दिने गर्नुपर्छ।कुखुरालाई खुवाउने पानी ल्याब टेस्ट गरेर मात्र प्रयोग गर्नु अतिनै उपयुक्त हुन्छ।

च. सवैभित्र – सवैबाहिर (All in – All out) को सिद्धान्त अनुरुप कुखुराको उत्पादनको व्यबस्था मिलाउनु पर्छ।

३. Gout (गाउट)

गाउट एउटा चयपचय (Metabolic) रोग हो। यो कुनै जीवाणु, विषाणु तथा परजीवीले लाग्ने रोग होइन।कुखुराको शरीरमा धेरै मात्रामा युरिक एसिड संचित हुनुले गाउटको समस्या देखिने गर्छ।सामान्यतया कुखुराको कलेजोमा निरन्तर रूपमा युरिक एसिड उत्पादन र मृगौला द्वारा उत्सर्जन भइरहेको हुन्छ।मृगौलामा कुनै समस्या देखिएमा उत्पादित युरिक एसिड रगतमा संचित हुदै जान्छ फलस्वरूप युरिक एसिड जोर्नीमा (Articular  Gout) र शरीरको भित्रि अङ्गमा (Visceral Gout) जम्मा भएर बस्छ।

प्रोटिन र प्युरिनको पाचन प्रक्रियाको अन्तिम परिणाम युरिक एसिड हो। B2 (फिनिसर), B1 (स्टाटर) र B0 (ग्रोवर) दानामा क्रमश प्रोटिनको मात्रा बढि हुन्छ।दानामा प्रोटिनको मात्रा धेरै हुनु र जाडोयाममा पानीको खपत कम हुनुले १ हप्ता देखि ३ हप्तासम्मको कुखुरामा गाउट देखिने गर्छ।

यो दुई प्रकारको हुन्छ:

१. Articular Gout

२. Visceral Gout

विषेस रूपमा मृगौलाको क्षतिले चयपचय पद्दतिमा आउने समस्याले गाउट हुन्छ।

Goutगाउट हुनु को कारण हरु:

क. पानीको खपत कम हुनाले, प्राय यो समस्या जाडो याममा देखिने हुन्छ।

ख. दानामा प्रोटिनको मात्रा धेरै हुनाले

ग. गम्बोरो र आइ.बि को विषाणु तथा माइकोटोक्सिनले मृगौलामा क्षति पुर्याउनाले

घ. दानामा क्याल्सियम र फोस्फोरसको   अनुपात नमिल्नाले

ङ. भिटामिनए. को कमीले

रोकथामका उपायहरु:

क. खोरमा पानीको भाडा प्रयाप्त मात्रमा राख्ने (१००कुखुरा = ३ पानीको भाडा)

ख. जाडोयाममा मनतातो पानी दिने जसले गर्दा पानी खपतमा वृद्धि हुन्छ

ग. दानामा धेरै प्रोटिन भएको अवस्थामा मकैकोआटालाई ५०% सम्मको अनुपातमा मिसाई खुवाउने गर्नुपर्छ वा दाना फोर्मुलेशन गर्दा प्रोटिनको मात्रा घटाउनु पर्छ।

घ. पशुचिकित्सकको सल्लाह बमोजिम भिटामिन ए. कुखुरालाई खुवाउने

ङ. दाना फोर्मुलेसन गर्दा क्याल्सियम र फस्फोरसको मात्रा उचित अनुपातमा मिलाउने

जैविकसुरक्षा, खोर र कुखुराको व्यवस्थापन, दानाको उचित फोर्मुलेसन साथै भ्याक्सिनको सहि प्रयोगले जुनसुकै मौसममा पनि सफल कुखुरापालन गर्न सकिन्छ।समयको गति र प्रविधिको विकास संगै कृषक पनि सम्मुनतिको बाटो तर्फ उन्मुख हुन व्यवस्थापनलाइ सबल बनाउन अत्यन्तै जरूरी छ।तसर्थ मौसम संगै खोर र कुखुराको उचित व्यवस्थापन गर्दै लैजानु एक सफल कृषकको चिनारी हो।

डा. जितेन्द्र  लामा 

Veterinarian, New Hope Agro Business Pvt. ltd

 

WordPress Themes