मानव स्वास्थ्यमा कुखुराको मासु र अण्डाको महत्व

by Dr. Bhojraj Adhikari/ Krishna Acharya

पृष्ठभुमिः नेपालमा कुपोषणको समस्या
Nepal Demographic and Health Survey को रिपोर्ट अनुसार नेपालका ४९ प्रतिशत बालबालिकाको शारीरिक उचाइ उमेरअनुसार हुनुपर्ने भन्दा कम छ, ३९ प्रतिशत बालबालिकाको शारीरिक तौल उमेर अनुसार हुनुपर्ने भन्दा कम (Underweight) छ र १३ प्रतिशत बालबालिका दुब्लो–पातलो (Wasting+) छन् । यसरी शारीरिक वृद्धि विकाश नहुनुको प्रमुख कारण भनेको खानामा प्रोटिनको कमि हुनु हो । सोहि रिपोर्टअनुसार नेपालको २४ प्रतिशत महिलामा प्रोटिन–इनर्जी कुपोषण (Protein Energy Malnturition) को समस्या देखिएको छ । महिलाहरुको गर्भावस्था र सुत्केरी अवस्थामा पर्याप्त पोषणयुक्त आहारा पाएका छैनन् जसको शारीरिक एवं मानसिक दुष्प्रभाव महिला स्वयं र नयाँ जन्मिने शिशु दुवैमा पर्न जान्छ ।

प्रोटिनको महत्व
प्रोटिन शरीरमा नभइनहुने एक पोषक तत्व हो । शरीरको वुद्धि–विकासमा प्रोटिनको भुमिका हुन्छ । विशेष गरेर बढ्ने उमेरका बालबालिको खानामा पर्याप्त मात्रामा प्रोटिन हुनुपर्छ । नत्र उनिहरुमा उचाइ कम हुने, तौल कम हुने र दुब्लो –पातलो हुनेजस्ता शारीरिक समस्या दखिन्छन् । रोगविरुद्ध लड्ने एन्टिबोडि (Antibody) भन्ने तत्व बन्न पनि प्रोटिनको आवश्यकता पर्दछ । प्रोटिन कुपोषण भएको मानिसको रोग प्रतिरोधात्मक शक्ति कमजोर हुन्छ । यस्ता मानिसलाई रोगव्याधिले सताइ रहन्छ । यति मात्र होइन, प्रोटिन कुपोषण भएका व्यक्तिको मानसिक क्षमता पनि कमजोर हुन्छ । यस्ता व्यक्तिमा आत्मविश्वास, सिर्जनशीलता, लगनशिलता स्मरण क्षमता आदिको कमि हुन्छ । प्रोटिन कुपोषणले मानव स्वास्थ्यमा तत्कालीन तथा दिर्घकालीन शारीरिक मानसिक दुष्प्रभाव त ल्याउँछ नै साथ–साथै मानिसको शैक्षिक प्रगति, श्रम उत्पादकत्व र आर्थिक विकासमा समेत बाधा पु¥याउँछ ।

प्रोटिनको रासायनिक वनावट
प्रोटिन एक लामो आकारको अणु हो जसमा थुप्रै प्रकारका एमिनो एसिड (Amino Acid) हरु सिक्री आकारमा मिलेर बसेका हुन्छन् । मानिसको शरीरलाई २२ भिन्न किसीमका एमिनो एसिडहरुको आवश्यकता पर्दछ । ती २२ वटामध्ये १४ वटा एमिनो एसिड शरीरले नै बनाउँछ जसलाई नन–एसेन्सियल (Non Essential) एमिनो एसिड भनिन्छ । जबकि आठवटा एमिनो एसिडहरु शरीरले बनाउँन सक्दैन जसलाई एसेन्सियल (Essential) एमिनो एसिड भनिन्छ । तिनलाई नियमित प्रोटिनजन्य खानाबाट पूर्ति गर्नुपर्छ ।

खानामा प्रोटिनको स्रोत
प्रोटिनको स्रोत मूलतः दुई प्रकारका हुन्छन्, प्लान्ट प्रोटिन (वनस्पतिजन्य) र एमिमल प्रोटिन (पशुपंक्षीजन्य) । दाल र तरकारीको रुपमा खाइने विभिन्न गेडागुडि जस्तै भटमास, चना, बोडि, राज्मा, केराउ आदि प्लान्ट प्रोटिन स्रोत हुन् । त्यस्तै दूध र दुधजन्य खानेकुरा (जस्तै छुर्पी,कुराउनी आदि) र खसी, पाडा, बंगुर, कुखुरा, आदिको मासु अनि कुखुरा, हाँस आदिको अण्डा एनिमल प्रोटिनका स्रोत हुन् ।

एनिमल प्रोटिनको महत्व
एनिमल प्रोटिनमा मानवलाई चाहिने सबै प्रकारका एमिनो एसिडहरु सन्तुलित मात्रामा पाइन्छ जब कि प्लान्ट प्राटिनमा केहि आवश्यक एमिनो एसिडहरु (जस्तै मेथिओनिन, लाइसिन, ट्रिपटोयान, आइसोलिउसिन) एकदमै कममात्रामा पाइन्छ जसलाई Limiting Amini Acid भनिन्छ । यस कारणले गर्दा प्लान्ट प्रोटिनलाई अपूर्ण प्रोटिन (Incomplete Protein) र एनिमल प्रोटिनलाई (Complete Protein) भन्ने चलन पनि छ । प्लान्ट प्रोटिन स्रोतबाट मात्र मानिसको एमिनो एसिड आवश्यक परिपूर्ति गर्न गाह्रो पर्छ । यसै कारणले गर्दा नै शाहाकारी मानिसले दुध र दुधजन्य खानेकुरा मांशाहारीले भन्दा बढि मात्रामा खानुपर्छ । मानिसलाई चाहिने एमिनो एसिडको उपयुक्त समिश्रण भएको सस्तो र सुलभ प्रोटिनको स्रोट हो कुखुराको मासु, जुन सेतो मासु वर्गअन्तर्गत पर्दछ ।

मासुको प्रकार
रङ र गुणको आधारमा मासु दुई वर्गको हुन्छ, सेतो मासु र रातो मासु । कुखुरा, टर्कि, खरायो र सामुहिक खाना (Sea Feed) बाट प्राप्त हुने मासु सेतो मासु हो भने भेडा, बाख्रा, बंगु, भैसी आदिबाट प्राप्त हुने मासु रातो मासु हो । विश्वमा मासु खपतको तथ्यांक हेर्दा सबैभन्दा बढि बंगुको मासु (३८ प्रतिशत), त्यसपछि कुखुराको मासु (३१ प्रतिशत), विफ (२४ प्रतिशत), भेडा बाख्राको मासु (५ प्रतिशत) र अन्य मासु (२ प्रतिशत) खपत हुने गरेको छ । धार्मिक कारणले गर्दा नेपालमा गाई गोरुबाट उत्पादित मासु (विफ) को खपत लगभग शुन्य छ । सेतो र रातो दुवै प्रकारको मासुबाट पाईने पोषक तत्व जस्तैः प्रोटिन, आइरन, जिंक, भिटामिन B12 सागसब्जी र विरुवाबाट प्रापत हुने भन्दा प्रचुर मात्रामा हुन्छ । तर केहि विशेष प्रकारको पोषण गुणले गर्दा सेतो मासु रातो मासुभन्दा गुणस्तरीय मानिन्छ ।

मनव स्वास्थ्यमा सेतो मासु (कुखुराको मासु) को महत्व
सेतो मासुमा मायोग्लोबिन (Yoglobin) भन्ने तत्व कम हुन्छ जसको काम मासुमा अक्सिजन पु¥याउने हो । उच्च मायोग्लोबिनको मात्रा हुनाले नै रातो मासुको रङ रातो हुन्छ । विभिन्न बैज्ञानिक अध्ययनहरुले उच्च मायोग्लोबिनको कारणले क्यान्सरको जोखिम हुन्छ भन्ने देखाएको छ ।

सेतो मासुमा फ्याटको मात्रा कम हुन्छ । ज्यादा फ्याटले मोटोपना गराउँछ । मोटोपना गराउने फ्याटको मात्रा कम हुनाले नै सेतो मासुलाई Lean Meat पनि भनिन्छ । रातो मासुमा कोलेस्ट्रोल (Cholesterol) र स्याचररेटेड फ्याट (Saturated Fat) को मात्रा बढि हुन्छ । Saturated Fat लाई खराब फ्याट अथवा (Bad Fat)  पनि भनिन्छ । Saturated Fat ले रगतमा Cholesterol को मात्रा बढाई मुटुरोगको सम्स्या निम्त्याउँछ । कोलेस्ट्रोल तथा मुटुको समस्या कम गराउन जनस्वास्थ्य डाक्टरहरुले सेतो मासु उपभोग गर्ने सल्लाह दिन्छन् । रातो मासुको तुलनामा सेतो मासुमा ओमेगा ३ फ्याटि एसिड (Omega 3 Fatty Acid) को मात्रा बढि हुनाले हाड र मांसपेशीलाई राम्रो बनाउँछ र मुटुको रोग पनि कम लाग्छ । (Omega 3 Fatty Acid) लाई राम्रो फ्याट अर्थात Good Fat पनि भनिन्छ । सेतो मासुमा ग्लाइकोजन हुने हुनाले ग्लुकोज साइकल बनाउन पनि मद्दत पु¥याउँछ ।

विफ (गाई–भैसीको मासु), पोर्क (बंगरको मासु), ल्याम्ब भेडाको मासु ) र चेभोन (बाख्राको मासु), सबैको तुलनामा कुखुराको मासुमा उच्च प्रोटिन हुन्छ । साथै कुखुराको मासुमा भएको प्रोटिन मानव शरीरले बढि मात्रामा शोषण गर्न सक्छ अर्थात पोल्ट्री प्रोटिनको Bio-availability बढि हुन्छ । साथै कुखुराको मासुको सुप रुघा लाग्दा Decongestant को रुपमा प्रयोग गर्न सकिन्छ ।

अर्कोतर्फ रातो मासुले कोलेस्ट्रोल, फ्याट र युरिकएसिड बढाउने, पेट, ठूलो आन्द्रा, पेनक्रियाज र छातीको क्यान्सरको सम्भावना हुने जोर्नीहरु सुन्निने, उक्त रक्तचाप हुने र डायविटिज हुने हुँदा मानव स्वास्थ्यको दृष्टिकोणले सेतो मासु उपयुक्त देखिन्छ ।

मानव स्वास्थ्यमा अण्डाको महत्व
एउटा अण्डामा झण्डै ६.३ ग्राम प्रोटिन हुन्छ । जसमध्ये ३.६ ग्राम सेतो भागबाट र २.७ ग्राम पहेलो भागबाट प्राप्त हुन्छ । अण्डाबाट मानव शरीरलाई आवश्यक पर्ने सम्पूर्ण एमिनो एसिड प्राप्त गर्न सकिने हुनाले अण्डालाई Complete Protein भनिन्छ । तिनै एमिनो एसिड खपत गरेर शरीरका तन्तुहरुको विकास हुन्छ साथै पस्तिष्कले राम्रोसँग काम गर्छ दिनमा एउटा अण्डा खानाले एक वयस्क पुरुषको दैनिक प्रोटिन आवश्यकताको १७ प्रतिशत पूर्ति हुन्छ (महिलाको हकमा २० प्रतिशत पूर्ति हुन्छ ) ।

अण्डामा भिटामिन (Vitamin) र लवण (Mineral) जस्ता पौष्टिक तत्व प्रचुर मात्रामा पाइन्छ । एउटा अण्डामा १४७ मिमिग्राम कोलिन पाइन्छ । कोलीन मष्तिस्कको कार्यक्षमताको लागि महत्वपूर्ण भिटामिन हो । कोलीनले मुटुरोग र स्तनक्यान्सर हुने सम्भावना कम गराउँछ । एउटा अण्डाको खपतबाट दैनिक सेलेनियम आवश्यकताको २८ प्रतिशत पूर्ति हुन्छ । सेलेनियम थाइराइडको कार्यक्षमताको लागि नभइ नहुने मिनिरल हो । यस्तै आयोडिन, भिटामिन B2, B5B12 को पनि धनीस्रोत हो अण्डा । अण्डामा क्याल्सियम, फस्फोरस र भिटामिन D पनि प्रशस्तमात्रामा पाइन्छ ।

क्याल्सियमसँग मिलेर भिटामिन D ले हड्डी मजबुत बनाउने कार्य गर्दछ । अण्डामा भिटामिन ए र भिटामिन ई अधिक मात्रामा हुन्छ । आँखाको ज्योतिको लागि महत्वपूर्ण हुन्छ भिटामिन ए । त्यस्तै भिटामिन ई ले शरीरको रोग प्रतिरोधात्मक प्रणाली मजबुत बनाउँछ । सेलेनियम र भिटामिन ई एन्टि –एजिंग तत्व (Anti ageing Agent) पनि हुन् जसले बुढोपन चाँडै आउन दिदैन् । अण्डामा भिटामिन के र जिङ्क पाइन्छ । भिटामिन के ले घाउ भएको ठाउँमा रगत जमाउने भूमिका खेल्छ र जिङ्कले रोग प्रतिरोधात्मक प्रणालीलाई मजबुत बनाउँछ । अण्डाको पहेलो भागमा लुटिन र जिजान्थिन भन्ने एन्टी–अक्सिड्यान्ट (Anti-oxidant) पाइन्छ जसले बढ्दो उमेरसँगै हुनसक्ने आँखाको खराबीबाट जोगाउँछ ।

एउटा अण्डाबाट जम्मा ७० ग्राम जति क्यालारी प्राप्त हुन्ट । मोटोपना कम गर्नको लागि राम्रो खराक/डाइट (Diet) हो अण्डा । त्यस्तै डायबेटिक प्यासेन्टको लागि पनि राम्रो डाइट हो अण्डा । अण्डामा स्याचुरेटेड फ्याटको मात्रा कम हुन्छ । तसर्थ मुटुरोगीहरुको लागि पनि राम्रो डाइट हो अण्डा ।

यिनै बहुमुल्य स्वस्थकर गुणहरुको कारणले आजभोली भन्न थालिएको छ, An egg a day keeps doctor away अर्थात दैनिक एउटा अण्डाको सेवनले डाक्टरलाई टाढा राख्छ ।

डा. भोजराज अधिकारी /कृष्ण आचार्य

WordPress Themes