बर्षायाममा कुखुरा पालनका व्यवस्थापकिय पक्षहरु

by डा. युवराज पन्थ

कुखुरापालन व्यवसायको सफलतामा चल्ला, आहार एवं व्यवस्थापकिय पक्षहरुले महत्वपूर्ण स्थान ओगटेका हुन्छन् । अझ मौषम अनुसारका अभ्यासहरुलाई कुखुरापालनमा ख्याल पु¥याउनु पर्दछ । गर्मी, जाडो तथा वर्षामा केही फरक तयारीहरु गरी व्यवस्थापन मौषम अनुसार उचित हुने खालको हुनुपर्दछ । मौषम अनुसारको व्यवस्थापन गर्न नसकिएमा बातावरणिय प्रतिकुलताको प्रभावलाई नकार्न सकिन्न ।

वर्षात् संगै हावाको आद्रता बढ्न गई ढुसीजन्य रोगहरुको प्रकोप बढ्दो हुन्छ । वर्षायामको सुरुवात संगै सुक्ष्म जीवाणु तथा परजिवीहरु फैलिने बातावरण मिल्छ । त्यसैले, यो समयमा विफर, फल कोलेरा, साल्मोनेलोसिस, कोलिबेसिलोसिस, कक्सिडियोसिस जस्ता रोगहरु फैलन गई कुखुराहरु अस्वस्थ हुने र मृत्युदर बढ्ने हुन सक्छ ।

वर्षायाममा ध्यान दिनुपर्ने व्यवस्थापकिय पक्षहरु

खोर व्यवस्थापन

खोरको छानो, जाली, पर्खाल, भुई आदीबाट वर्षामा पानी खोरमा छिर्ने सम्भावना हुन्छ । खोरभित्र उचित तापक्रम, हावाको प्रवाहको प्रबन्ध मिलाउनुपर्दछ । बाछिटो पस्न नदिनको लागि, हावा संचारलाई ध्यानमा राखी, पर्दाको उचित व्यवस्थापन गर्नु पर्छ । खोरको छाना नचुहिने हुनुपर्दछ र आवश्यकता अनुसार मर्मत गर्नुपर्दछ । खोरबाट बलेनी नजिकै भएमा खसेको पानी भुईमा ठोक्किएर खोरभित्र पसेर सोत्तर चिसो हुन सक्ने भएकोले ३ फिटको बलेनी आवश्यक पर्दछ ।

वर्षामा खोर वरिपरि पानी भरिन गई खोरमा पानी पस्न सक्ने हुंदा जमिन हेरिकन खोरको उचाइ तय गर्नु पर्छ, सामान्यतया १-१.५ फिटको उचाइ गरिन्छ । पानी नजम्ने गरी जल निकासा गराउनुपर्दछ, किनभने यस्ता पानी जम्ने ठाउँहरु रोगका संवाहकको रुपमा काम गर्दछन् । खोर वरिपरी ५ मिटर जती खाली ठाउँ छोड्नुपर्छ र यो स्थानमा झाडी हटाउनुपर्दछ । पानी पसेर खोर चिसो हुन सक्ने भएकोले, मुसाले खोलेका प्वालहरु बन्द गरिदिनु पर्दछ ।

दाना व्यवस्थापन

४-५ दिनसम्म लगातार पानी पर्दा दाना ढुवानीमा समस्या हुनसक्दछ, त्यसैले आवश्यकता अनुरुपको दाना व्यवस्थापन पहिले नै गर्नुपर्दछ । सापेक्षिक आद्रता बढी हुने हुंदा वर्षायाममा दानामा ढुसी लाग्ने समस्या बढी हुन्छ । यस्तो ढुसी जन्य दाना खाएमा कुखुरालाई माइकोटक्सिकोसिस, एस्पर्जिलोसिस जस्ता रोग लागेर उत्पादन घट्ने र मृत्युदर बढ्ने पनि हुन सक्छ । यस्तो दाना सुकाएर पनि खुवाउनु हुंदैन ।

दानाको भण्डारण ओसेप नपरेको र सुख्खा ठाउंमा गर्नुपर्छ । वर्षा याममा ७ दिन भन्दा माथि दाना भन्डारण नगरेको राम्रो मानिन्छ । दाना लोड अनलोड तथा ओसारपसार गर्दा भरसक पानी नपरेको समयमा गर्नुपर्दछ ।

कुखुरालाई दाना दिंदा एकैपटक सबै दाना भन्दा थोरै थोरै पटक पटक दिंदा ठीक हुन्छ । दाना दिने भांडाहरु पनि डिटर्जेन्टको प्रयोग गरी सफा गर्नुपर्छ र दाना हाल्न भन्दा पहिले नै सुख्खा हुनुपर्दछ ।

पानी व्यवस्थापन

पानी शारिरिक व्रिद्धी र उत्पादनको लागि अत्यन्त आवश्यक पदार्थ हो । शरीरमा दानाको उचित उपयोगको लागि सरदर दानाको मात्राको दुई गुणा स्वच्छ र सफा पानी कुखुरालाई आवश्यक पर्दछ । वर्षायाममा कुवा, इनार तथा अन्य श्रोतको पानीमा वर्षाको पानी मिसिएर दुषित बनाउने हुंदा पानी सफा गर्ने र निर्मलिकरण गरेर मात्रा कुखुरालाई उपलब्ध गराउनुपर्छ । क्लोरिन, ब्लिचिङ पाउडर जस्ता केमिकल प्रयोग गरेर पानी शुद्धिकरण गर्न सकिन्छ ।

वर्षायामको पानीमा रोगजन्य जीवाणु तथा पारीजिविको भारी हुन सक्ने भएकोले त्यस विरुद्धका औषधीलाई प्रयोगमा ल्याउनुपर्छ । त्यस्तै, पानी दिने भांडाहरु पनि डिटर्जेन्टको प्रयोग गरी सफा गर्नुपर्छ ।

सोत्तर व्यवस्थापन

वर्षायाममा आद्रता बढी हुने र खोरभित्र पानी छिर्ने सम्भावना हुने हुंदा सोत्तर भिज्ने गर्दछ । चिसो सोत्तर भएमा सुक्ष्म जीवाणु हुर्कने राम्रो बातावरण बन्छ । कक्सीडियोसिस, सि.आर.डि, कोराइजा, ढुसीजन्य रोगहरु, जस्ता समस्या निम्तिन सक्ने भएकोले सोत्तर बेलाबेलामा पल्टाइदिने तथा आवश्यकता अनुरुप परिवर्तन गरिदिनुपर्छ ।

सोत्तर चिसो भएमा खोरमा एमोनियाको मात्रा बढ्छ, जसले कुखुराको आँखा र श्वासनलिमा ठुलो असर पार्दछ । सोत्तर चिसो भएमा चुना, एमोनियम सल्फेट, कपर सल्फेट छर्किन सकिन्छ ।

प्रकाश व्यवस्थापन

वर्षातको मौसममा, वादलले गर्दा, घामको प्रकाश नपर्दा, प्रकाश अपर्याप्त हुन सक्ने भएकाले प्रकाश व्यवस्थापन गर्नुपर्छ । पर्याप्त प्रकाश नहुंदा दाना उपयोग तथा अन्डा उत्पादनमा कमी आउन सक्छ । त्यसैले लेयर्स तथा ब्रोइलरलाई आवश्यक प्रकाशको व्यवस्थापन गर्न बत्ती बालिदिनु पर्ने हुन सक्छ ।

अत: व्यवस्थापन पक्षलाई ध्यानमा राख्न सके रोग आदी लागेर हुने थप खर्चलाई घटाऊन सकिन्छ र स्वस्थ कुखुरा हुर्काउन सकिन्छ । सामान्य कुराहरुलाई मात्रा मध्य नजर गर्न सके व्यवसाय मुनाफा केन्द्रित हुन्छ ।

डा. युवराज पन्थ

प्राविधिक अधिक्रित

लुम्बिनी एग्रो ईन्डस्ट्रिज, बुटवल

WordPress Themes