पोल्ट्री ह्याचरीमा जैविक सुरक्षाको महत्व र अवलम्बन गर्ने कार्यविधि

by    Dr. Bibek Bandhu Regmi

पोल्ट्री ह्याचारिमा उचित जैविक सुरक्षाको उपायहरु अवलम्बन गर्नैपर्छ किनभने उच्चतम जैविक सुरक्षाको अवलम्बनले गर्दा निम्न अनुसारका जोखिमहरु लाई न्यूनीकरण गर्न सकिन्छ:

– ह्याचारिमा रोगका किटाणुको संक्रमण न्यून रहन्छ ।

– सफा क्षेत्र (अण्डा भण्डारण कक्ष, इन्कुबेशन कक्ष आदि) र फोहर क्षेत्र (ह्याचर कक्ष, पुल-आउट कक्ष आदि) बीच लसपस भई संक्रमण फैलने सम्भावना न्यूनीकरण हुन्छ ।

– ह्याचरी देखि पोल्ट्री फार्ममा रोगका किटाणु फैलने सम्भावना कम हुन्छ ।

– ह्याचरी भवन रोगको किटाणुको घर (reservoir) को रुपमा रुपान्तरित हुने खतराबाट जोगाउन सकिन्छ ।

– धुलो, मैलो, फोहोर तथा दुर्गन्ध न्यूनीकरण हुन्छ ।

ह्याचारिमा उपयुक्त जैविक सुरक्षाका उपायहरु अवलम्बन गर्नाले ह्याचरी व्यवसायलाई निम्न अनुसारका फाइदा हुन्छ:

– ह्याचविलिटी प्रतिशत उच्च रहन्छ, अण्डा भित्रै भ्रुण मर्ने समस्या न्यूनीकरण हुन्छ ।

– “अर्ली चिक मोर्टालिटी” को समस्या कम हुन्छ र कमर्सियल फार्ममा एक हप्ता भन्दा बढी बाँच्ने चल्लाको संख्या अधिक हुनजान्छ ।

– ह्याच भएका चल्ला अधिक स्वस्थ र गुणस्तरीय हुन्छन ।

– ह्याचरी कामदारको लागि काम गर्ने वातावरण पनि राम्रो हुन्छ र उनीहरु बिरामी हुनसक्ने सम्भावना कम हुन्छ ।

जैविक सुरक्षाका ३ मुख्य सिद्दान्त छन् । ती हुन :

१. पृथकीकरण (मानिस तथा सर-सामान-साधनको चालचलनमा नियन्त्रण/अंकुस)

२. सर-सफाई

३. निसंक्रमण

मानिस तथा सर-सामान-साधनको चालचलनमा किन नियन्त्रण/अंकुस लगाउने?

पृथकीकरणले रोगका किटाणु ह्याचरी भित्र पस्न पाउदैनन । यस सिद्दान्तको सशक्त अवलम्बन गर्नाले रोग फैलने सम्भावना न्यूनीकरण भएर जान्छ । पृथकीकरणको लागि ह्याचारिमा निम्न अनुसारका उपायहरु अवलम्बन गर्न सकिन्छ :

– ह्याचरी भवनलाई तारबेर गरेर बाउन्ड्री निर्माण गर्ने ।

– ह्याचरी प्रवेशको लागि एउटा मूल गेट र ह्याचरी बाट निकासको लागि अर्को गेट बनाउने ।

– ह्याचरी परिसरभित्र कामदार मानिसको चालचलनको लागि निश्चित निती-नियम बनाउने र त्यसलाई कडाइका साथ पालना गर्ने ।

– ह्याचरी परिसरभित्र अण्डा, चल्ला, सर-सामाग्री, सवारी-ढुवानी साधन आदिको चालचलनको लागि पनि निश्चित निति-नियम बनाएर कडाईका साथ पालना गराउने ।

   – ह्याचरीसँग बाहिरका आगन्तुक, पाहुना, परिवार सदस्य आदिको सम्पर्कलाई सकभर शुन्य नै बनाउने ।

– ह्याचारिमा कुकुर, बिरालो, पन्छी लगायत अन्य जीवजन्तुको प्रवेशलाई पूर्णतया निषेध गर्ने ।

– ह्याचारिमा किरा तथा मुसा नियन्त्रण कार्यक्रम कडाइका साथ लागु गर्ने ।

ह्याचारिमा सर-सफाईको सिद्दान्तलाई किन पालना गर्ने?

ब्रस, कुचो/झाडु, खरेटो, पोछा, पानि, साबुन, सर्फ आदि प्रयोग गरेर सफाई गर्नाले सर-सामाग्री, इक्युपमेन्ट, इन्कुबेटर, ह्याचर, भुइ, भित्ता, सिलिङ्ग आदिबाट धुलो तथा जैविक फोहोर हटाउन सहयोग गर्दछ । जैविक फोहोर नभएको अवस्थामा मात्र बिभिन्न निसंक्रमण औसधिले राम्रोसँग काम गर्दछ ।  बाहिरी फार्म, बजार तथा अरु ह्याचरीबाट आउँ सक्ने सवारी-ढुवानी साधन, सर-सामग्री, फ्युमिगेशन सामाग्री आदिको सर-सफाईमा विशेष ध्यान दिनुपर्ने हुन्छ । ८०% रोगका किटाणुलाई केवल उचित सर-सफाईले नै निषेध गर्नसकिन्छ । कुनैपनि वस्तु, मेसिन वा ठाउँ फोहोर भएपछी तुरुन्त सर-सफाई गर्नाले संक्रमणजन्य किटाणु अन्यत्र फैलनबाट रोक्दछ ।

ह्याचारिमा निसंक्रमणको सिद्दान्तलाई किन पालना गर्ने?

सर-सफाई गरिसकेपछि पनि बाँकी रहन सक्ने किटाणुलाई निसंक्रमण प्रकृयाले हटाउँछ । सर-सफाई राम्रो भएको अवस्थामा मात्र निसंक्रमण प्रकृया प्रभावकारी हुनसक्दछ । बजारमा बिभिन्न किसिमका निसंक्रमण औसधि पाइन्छ । उच्चतम जैविक सुरक्षाको लागि उचित निसंक्रमण औसधिको छनौट, उचित समिश्रण मात्रा र उचित प्रकारको प्रयोग विधि अवलम्बन गर्नुपर्ने हुन्छ । यो कुरामा असाध्यै ध्यान दिनुपर्छ कि निसंक्रमण औसधिको कन्ट्याक्ट समयावधि (Contact time) कम्तिमा पनि १० मिनेट हुनुपर्दछ । प्रत्येक ४-५ महिनाको अन्तरालमा विभिन्न किसिमका निसंक्रमण औसधि एक-पछि अर्को गर्दै चक्रिय प्रणालीमा चलाउनु उपयुक्त हुन्छ ताकि किटाणुले निसंक्रमण औसधि विरुद्ध प्रतिरोध क्षमता (resistance) विकास नगरुन ।

इन्कुवेशन तथा ह्याचिंग क्षेत्रलाई मानवबस्तिभन्दा टाढा किन राख्ने?

इन्कुवेशन तथा ह्याचिंग क्षेत्र मानवबस्तिभन्दा टाढा हुन आवश्यक छ ताकि मानिसलाई रोगका किटाणुले संक्रमण नगरुन, विशेषत: स्वासप्रस्वासजन्य रोगका किटाणु । ह्याचरीको धुलो, चल्लाको दिसा, प्वाँख आदिमा साल्मोनेला, इ कोलाई, बर्ड फ्लु जस्ता रोगका किटाणु हुनसक्छन जसले मानिसलाई बिरामी बनाउनसक्छ । ह्याचरीभित्र ह्याचरी कामदार बाहेकका अरु मानिसको प्रवेशले पृथकीकरणको सिद्दान्तलाई उल्लङ्घन गर्दछ । ह्याचरी भित्र गरिने फ्युमिगेशन र अन्य निसंक्रमण प्रकृया मानव स्वास्थ्यको लागि प्रतिकुल हुनसक्छन ।

फरक-फरक इन्कुवेशन तथा ह्याचिङ्ग क्षेत्र किन आवश्यक पर्दछ?

ह्याचारिमा इन्कुवेशन क्षेत्रलाई “सफा क्षेत्र” र ह्याचर क्षेत्रलाई “फोहोर क्षेत्र” को रुपमा चिनिन्छ । ह्याचिङ्ग क्षेत्रमा प्रशस्त मात्रामा फोहोर हुन्छन, जस्तै – मरेका चल्ला, धुलो, चल्लाको प्वाँख, दिसा, अण्डा तथा चल्लाका झोल पदार्थ आदि । यसले किटाणुहरु वृद्दि-विकासको लागि उपयुक्त वातावरण निर्माण गर्दछ । यदी इन्कुवेशन र ह्याचिङ्ग क्षेत्र नछुट्याइएको खण्डमा ह्याचिङ्ग क्षेत्रमा हुने फोहोरको लसपसले इन्कुवेशन क्षेत्र पनि फोहोर हुन्छ । फलस्वरूप: अण्डा भित्रको भ्रुणको विकास प्रक्रियामा संक्रमणको कारणले नकारात्मक असर पर्नसक्छ । त्यस्तै, ह्याचर क्षेत्रको हावामा पनि किटाणुहरु हुन्छन । तसर्थ यो कुरामा बहुतै होसियार हुनुपर्दछ कि ह्याचरीको भेन्टीलेशन प्रणालीले ह्याचर क्षेत्रको हावालाई इन्कुबेटर क्षेत्रमा नलगोस ।

फरक-फरक इन्कुवेटर र ह्याचर मेसिन किन आवश्यक पर्दछ?

यदी इन्कुवेशन तथा ह्याचिङ्ग प्रकृया एकै मेसिनमा भएको खण्डमा सफलताम ह्याचिङ्ग प्रतिशत निकै न्यून हुन्छ किनभने:

– मेसिन भित्र कुहिएको अण्डा, फुटेको अण्डा, अण्डाको बोक्राले विषाक्त ग्याँस उत्पादन गर्दछन (जस्तै: H2S) जसले भ्रुणको विकास प्रक्रियालाई वाधा उत्पन्न गराउँछ ।

– इन्कुवेशन र ह्याचिङ्गको लागि आवश्यक फरक-फरक तापक्रम तथा आद्रताले एकले अर्कालाई नकारात्मक असर गर्दछ ।

– ह्याचिङ्ग क्षेत्रमा हुने झोल, झिल्ली, कुहिएको अण्डा आदिले किटाणु विकासको लागि उपयुक्त वातावरण तयार गर्दछ जसले इन्कुवेटर क्षेत्रमा विकास भैरहेको भ्रुणलाई नकारात्मक असर गर्दछ ।

के मानिसले ह्याचरी भित्र किटाणु ल्याउन सक्छन?

रोगि पन्छीसँग सम्पर्कमा आएका मानिस अथवा जिउँदो कुखुरा बजारमा भ्रमण गरेका मानिसले सवारी साधन, ढुवानी साधन, कपडा, जुत्ता-चप्पल, हात वा अन्य त्यस्तै माध्यमबाट ह्याचारिमा किटाणु प्रवेश गराउँन सक्छन । तसर्थ ह्याचरी भित्र प्रवेश गर्न अगाडि सवारी-ढुवानी साधनलाई निसंक्रमण  झोलले छर्कन पर्दछ, मानिसलाई कपडा र जुत्ता परिवर्तन गर्न लगाउन पर्दछ साथै हात धुन र नुहाउन लगाउन पर्दछ ।

किरा तथा मुसालाई ह्याचरी भित्र निषेध गर्न किन आवश्यक छ?

 किरा तथा मुसालाई ह्याचरी भित्र निषेध गर्न नितान्त आवश्यक छ किनभने तिनले:

– रोगका किटाणु बोकेका हुनसक्छन (जस्तै: प्लेग, साल्मोनेला, कोलिवेसिलोसिस आदि) ।

– बिजुलीका तार काट्न सक्छन, सेटर-ह्याचर मेसिनमा बिगार गर्नसक्छन ।

– अण्डा तथा चल्ला खानसक्छन ।

इन्कुवेशन तथा ह्याचिङ्ग क्षेत्रलाइ कसरि मिलाउने?

अण्डा आगमन क्षेत्र, इन्कुवेशन क्षेत्र, ह्याचिङ्ग क्षेत्र र चल्ला बाहिरिने क्षेत्र अनिवार्य रुपमा फरक-फरक हुनुपर्दछ, र त्यस क्षेत्र मार्फत निम्न अनुसारको एकद्वार चालचलन हुनुपर्दछ ताकि एक-आपसमा ती क्षेत्रहरुको लसपस नहोस ।

अण्डा आगमन क्षेत्र => इन्कुवेशन क्षेत्र => ह्याचिङ्ग क्षेत्र => चल्ला बाहिरिने क्षेत्र

अण्डा मात्र होइन, सर-सामग्री, मानिस तथा हावाको चालचलन पनि उपरोक्त किसिमबाट हुन अत्यन्तै आवस्यक छ ।

ह्याचरीभित्र विभिन्न क्षेत्रको सर-सफाई एवं निसंक्रमण गर्नको लागि अवलम्बन गर्नुपर्ने उपायहरु निम्न अनुसार चर्चा गरिएको छ । 

क. अण्डा सफाई

– अण्डा संकलन गरेपछि B-904 ले सफाई गर्ने ।

   डोज: *सफा अण्डा @ २ एम एल प्रति लिटर पानि

               *फोहर अण्डा @ ४ एम एल प्रति लिटर पानि

नोट: निसंक्रमण औसधि भएको पानिको तापक्रम ४२ देखि ४५ डिग्री सेन्टिग्रेड हुन आवश्यक छ ।

ख. अण्डा संकलन गर्ने, ग्रेडिंग गर्ने तथा सेटिङ्ग-लोडिङ्ग गर्ने मान्छेको हात

– प्रत्येक घण्टाको फरकमा Resilium ले हात सफाई गरेको हुनुपर्ने ।

ग. अण्डा फ्युमिगेशन कोठा

– दैनिक सफाई गर्ने ।

– दिनको अन्तिम अण्डा फ्युमिगेशन कार्य गरिसकेपछि सफाई गर्ने ।

– सफाई गर्दा फ्युमिगेशन कोठामा अण्डा भएको हुनुहुँदैन ।

* सफाई तरिका:

-> पहिला: कुचो/झाडुले बडार्ने ।

-> दोश्रो: UBC (Universal Barn Cleaner) पानीले सफाई गर्ने (डोज: एक एम एल प्रति ३०० लिटर पानि) ।

* अण्डा फ्युमिगेशन प्रकृया:

-> प्रति १०० क्युबिक फिट आयतनको लागि १०० ग्राम पोटासियम परम्याग्नेट (९८%) र २०० एम एल फर्मालिन (४०%) प्रयोग गरेर अण्डा फ्युमिगेशन गर्ने ।

-> फ्युमिगेशन गर्दा उपरोक्त कोठा हावा नपस्ने गरेर एयर-टाईट (Air-tight) हुन आवश्यक छ ।

-> कम्तिमा २० मिनेट फ्युमिगेशन गर्ने, त्यसबखत फ्युमिगेशन कोठा भित्र पंखा चलाउने ।

-> अण्डा फ्युमिगेशन कार्य सकिएपछि फ्युमिगेशन कोठा भित्रको पंखा बन्द गर्ने र एक्जस्ट पंखा (Exhaust fan) चलाएर धुवालाई निकाश दिने ।

घ. अण्डा भण्डारण कोठा

– दैनिक दुई पटक Safeguard छिट्ने – भुइमा, भित्तामा र सिलिङ्गमा (डोज: ८ एम एल प्रति लिटर पानीमा) । पोछा लगाएपछि मात्र छिट्ने (भुइमा र भित्तामा पोछा लगाउने) ।

– हप्ताको एकपटक कुचो/झाडुले भुइ बडार्ने र UBC पानीले सफाई गर्ने (डोज: एक एम एल प्रति ३०० लिटर पानि) । अण्डा लोडिङ्ग भएर कोठा खालि भएको अवस्थामा मात्र सो कार्य गर्ने ।

– हप्ताको दुई पटक Biophene छिट्ने – भुइमा, भित्तामा र सिलिङ्गमा (डोज: ४ एम एल प्रति लिटर पानीमा) । पोछा लगाएपछि मात्र छिट्ने (भुइमा र भित्तामा पोछा लगाउने)

ङ. अण्डा सेटिङ्ग गर्ने खालि ठाउँ

– अण्डा सेटिङ्ग गर्ने कार्य सकिनासाथ वा सकभर दैनिक कुचो/झाडुले भुइ बडार्ने ।

– भुइ बडार्ने कार्य सकिएपछि पोछा लगाउने ।

– पोछा लगाएपछि Attak छिट्ने (डोज: ४० एम एल प्रति लिटर पानीमा) ।

– हप्ताको दुई पटक Biophene छिट्ने (डोज: ४ एम एल प्रति लिटर पानीमा) ।

च. सेटर मेसिन र सेटर कोठा

– सेटर मेसिन भित्र Biophene ले भिजाएको पोछाले दैनिक एकपटक पोछा लगाउने – भुइमा, भित्तामा र सिलिङ्गमा (डोज: ४ एम एल प्रति लिटर पानीमा) ।

– सेटर मेसिनको बाहिर पट्टिको भित्ता र छतलाई कम्तिमा दुई हप्ताको एकपटक पोछा लगाएर सफाई गर्ने ।

– सेटर कोठाको भुइ दैनिक एकपटक बडार्ने ।

–  सेटर कोठाको भुइमा प्रत्येक पटक सेटिङ्ग तथा ट्रान्सफर कार्य सकिएपछि सफा पानिले पोछा लगाउने र पोछा लगाएपछि Attak छिट्ने (डोज: ४० एम एल प्रति लिटर पानीमा) ।

छ. ह्याचर मेसिन र ह्याचर कोठा

– चल्ला निकालेपछि ह्याचर मेसिनको भुइमा, भित्तामा र सिलिङ्गमा कुचो/झाडु लगाएर धुलो हटाउने ।

– धुलो हटाएपछि UBC पानिले भुइमा, भित्तामा र सिलिङ्गमा करिब १० मिनेटसम्म भिजाउने (डोज: १ एम एल प्रति ३०० लिटर पानि) ।

– UBC पानिले भिजाएपछी पावर स्प्रेको प्रयोग गरेर सफा पानीले सफाई गर्ने ।

– पावर स्प्रे गरेपछि ह्याचर मेसिनको भुइमा, भित्तामा र सिलिङ्गमा Attak छिट्ने (डोज: ४० एम एल प्रति लिटर पानीमा) ।

– ह्याचर मेसिनको बाहिर पट्टिको भित्ता र छतलाई प्रत्येक ह्याचपछि एकपटक बडार्ने र त्यसपछि पोछा लगाएर सफाई गर्ने ।

– ह्याचर कोठाको भुइमा कुचो/झाडु लगाएर धुलो हटाउने ।

– धुलो हटाएपछि UBC पानिले भुइमा करिब १० मिनेटसम्म भिजाउने (डोज: १ एम एल प्रति ३०० लिटर पानि) ।

– UBC पानिले भिजाएपछी पावर स्प्रेको प्रयोग गरेर सफा पानीले सफाई गर्ने ।

– पावर स्प्रे गरेपछि ह्याचर कोठाको भुइमा Attak छिट्ने (डोज: ४० एम एल प्रति लिटर पानीमा) ।

* ह्याचर मेसिन फ्युमिगेशन प्रकृया:

-> प्रत्येक पटक सेटरबाट ह्याचर मेसिनमा अण्डा ट्रान्सफर गर्न अगाडी ह्याचर मेसिनलाई प्रति १०० क्युबिक फिट आयतनको लागि १०० ग्राम पोटासियम परम्याग्नेट (९८%) र २०० एम एल फर्मालिन (४०%) प्रयोग गरेर फ्युमिगेशन गर्ने

-> फ्युमिगेशन गर्दा उपरोक्त ह्याचर मेसिन हावा नपस्ने गरेर एयर-टाईट हुन आवश्यक छ ।

-> कम्तिमा ३ घण्टा फ्युमिगेशन गर्ने, १२ घण्टा गर्नसके झनै राम्रो ।

-> फ्युमिगेशन कार्य सकिएपछि ह्याचरको ढोका खोलेर धुवालाई निकाश दिने ।

-> फ्युमिगेशन गर्न अगाडि नै ह्याचर ट्रेको सरसफाई तथा निसंक्रमण गरेर मेसिन भित्र राखेको अवस्थामा हुनुपर्दछ, यसो गर्दा ह्याचर ट्रेको पनि राम्रो निसंक्रमण हुन्छ ।

नोट:

-> ह्याचारिमा करिब २० प्रतिशत जति चल्ला ह्याच भएदेखि ह्याचिङ्ग अवधिभर फर्मालिनको ग्याँस पुत्याउने चलन छ ताकि चल्लामा गाढा पहेलो रङ्ग आओस र ह्याचरको वातावरण पनि निसंक्रमण होस् । यसको लागि ४० एम एल फर्मालिन प्रति १०० क्युबिक फिट आयतन राख्न सकिन्छ ।

ज. चल्ला पुल-आउट (Pull out) कोठा

– चल्ला पुल-आउट गरेपछि भुइमा कुचो/झाडु लगाएर धुलो हटाउने ।

– धुलो हटाएपछि UBC पानिले भुइमा करिब १० मिनेटसम्म भिजाउने (डोज: एक एम एल प्रति ३०० लिटर पानि) ।

– UBC पानिले भिजाएपछी पावर स्प्रेको प्रयोग गरेर सफा पानीले सफाई गर्ने ।

– पावर स्प्रे गरेपछि पुल-आउट कोठाको भुइमा Attak छिट्ने (डोज: ४० एम एल प्रति लिटर पानीमा) ।

झ. चल्ला राख्ने कोठा

– प्रत्येक पटक ह्याच भएको चल्ला बजारमा पठाएपछि भुइमा कुचो/झाडु लगाएर धुलो हटाउने ।

– धुलो हटाएपछि UBC पानिले भुइमा करिब १० मिनेटसम्म भिजाउने (डोज: १ एम एल प्रति ३०० लिटर पानि) ।

– UBC पानिले भिजाएपछी पावर स्प्रेको प्रयोग गरेर सफा पानीले सफाई गर्ने ।

– पावर स्प्रे गरेपछि चल्ला कोठाको भुइमा Attak छिट्ने (डोज: ४० एम एल प्रति लिटर पानीमा) ।

ञा. चल्लाको बाक्सा-गत्ता आदि स्टोर गर्ने कोठा

– दैनिक प्रति १०० क्युबिक फिटलाई २० ग्राम ब्लिचिंग पाउडर र ४० एम एल फर्मालिन प्रयोग गरेर फ्युमिगेशन गर्ने ।

– फ्युमिगेशन गर्दा उपरोक्त कोठा हावा नपस्ने गरेर एयर-टाईट हुन आवश्यक छ ।

– फ्युमिगेशन कार्य सकिएपछि ढोका खोलेर धुवालाई निकाश दिने ।

ट. ह्याचर ट्रे सफाई

– महिनाको पहिलो हप्ता Acid-a-foam भएको पानिमा डुबाउने (डोज: ८ एम एल प्रति लिटर पानीमा) ।

– बाँकी ३ हप्ता Ez-kleen भएको पानीमा डुबाउने (डोज: ८ एम एल प्रति लिटर पानीमा) ।

ठ. फोहर ट्रे, ट्रली लगायतका इक्युपमेन्ट सफाई गर्ने कोठा

– प्रत्येक सर-सफाई कार्य समाप्त भएपछी कास्टिक सोडाले भुइ सफाई गर्ने र कम्तिमा प्रति दिन १-२ घण्टा सुख्खा राख्ने ।

ड. ह्याचरी भवनको सम्पूर्ण भुइ

– हप्ताको एकपटक UBC पानिले सफाई गर्ने (डोज: १ एम एल प्रति ३०० लिटर पानि) ।

ढ. ह्याचरी भवनको वरपर

– दैनिक निम्न अनुसारको निसंक्रमण औसधि चक्रिय प्रणालीमा छिट्ने:

१. Attak @ ४० एम एल प्रति लिटर पानीमा

२. Biophene @ ४ एम एल प्रति लिटर पानीमा

३. Safeguard @ ८ एम एल प्रति लिटर पानीमा

४. निलो तुथो (कप्पर सल्फेट) @ १ ग्राम प्रति लिटर पानीमा

५. फर्मालिन @ ५ % झोल

ण. फुट डिप

– प्रत्येक पटक ह्याचरी कामदारले निश्चित काम गरेपछि खुट्टामा लगाइने बुट वा चप्पल UBC पानिमा डुबाउने (डोज: १ एम एल प्रति ३०० लिटर पानिमा) ।

– UBC पानिमा डुबाएपछि Safeguard छिट्ने (डोज: ८ एम एल प्रति लिटर पानीमा) ।

त. हात सफाई

– ह्याचरी कामदारले वा आगन्तुकले Safeguard झोलले हात सफाई गर्ने (डोज: ८ एम एल प्रति लिटर पानीमा) ।

डा. विवेक बन्धु रेग्मी

कंशलटेन्ट भेटेरिनरीयन

पोल्ट्री कंशलटेन्सी डायग्नोस्टिक ल्याब, दाङ

प्राविधिक निर्देशक

हाईजिन एग्रो प्रा. लि., दाङ

WordPress Themes