कुखुरामा हिट स्ट्रेस र यसको व्यवस्थापन

by डा. युवराज पन्थ

कुखुराको शारिरिक तापक्रम अत्यन्तै बढी भई शरीरका कृयाकलापमा असर पार्ने अवस्थालाई हिट स्ट्रेस (गर्मी धपडी) भनिन्छ । यो प्रकृया लम्बिएमा कुखुराहरु थाक्छन् र मृत्यु हुने गर्दछ । बढ्दो तापक्रम र आद्रताको कारणले विशेष गरी गर्मी मौसममा कुखुराहरुले तनाब महसुस गर्छन् । शरीरको तापक्रम नियन्त्रण गर्न नसकेर कुखुराहरुको मृत्यु हुने गर्दछ । आधुनिक ब्रोइलर जातहरुमा उचित दाना रुपान्तरण संगै उच्च व्रिद्धीदर आवश्यक हुने भएकोले गर्मी तनाव प्रती सहन्शीलता कम हुन्छ ।

कुखुराको शारिरिक तापक्रम ४६ डिग्री सेन्टिग्रेड नजिक हुनपर्छ । यस भन्दा ४ डिग्री सेन्टिग्रेड बढी भएमा कुखुराको मृत्यु हुन्छ ।

कारक तत्वहरु:-

  • उच्च तापक्रम
  • अपर्याप्त पिउने पानी
  • अप्रयाप्त भेन्टिलेसन
  • आवश्यक भन्दा कमी क्षेत्रफल
  • खोरको छानोको उचाइ
  • गर्मिको समयमा अत्यधिक इनर्जि र प्रोटिन युक्त दाना

यस बाहेक निम्न तत्वहरु पनि यसका कारक बन्न सक्छन्

  • आनुवंशिक (लेयर्स भन्दा बढी ब्रोइलर कुखुराहरु सम्मोहक हुन्छन् )
  • चयापचय दर (अन्डा दिने कुखुरा र छिटो व्रिद्धी हुने भालेहरु)
  •  घनत्व (निश्चित क्षेत्रफलमा आवश्यक भन्दा बढी कुखुराहरु राख्नु) ३ हप्ता भन्दा बढी उमेरका कुखुराहरु

लक्षणहरु:-

  • अत्यन्तै छिटो छिटो श्वास फेर्ने
  •  टाउको सोत्तरमा अगाडितिर सुताएर बस्ने
  •  बढी तिर्खाउने
  •  दाना प्रती अरुची (२० डिग्री सेन्टिग्रेड भन्दा माथि प्रती इकाइ तापक्रम व्रिद्धी वापत दाना खपत १.५ प्रतिशतले घट्छ)
  •  अन्डा उत्पादनमा कमी
  •  सानो आकारको अन्डा
  •  अन्डाको बोक्रा पातलो हुने
  •  ब्रोइलर कुखुरामा व्रिद्धीमा ह्रास आउने
  •  छाला निलो देखिने पंखेटाहरु फिजाएर उभिने
  •  लक्षण विना उत्तानो परेर मरेको देखिने
  •  थाकेर पल्टिने अनी मृत्यु हुने
  •  छातीको मासुको रंग पकाएको जस्तो देखिन्छ र नाक तथा मुखमा ¥याल जम्मा भएको देखिन्छ ।
  •  मुख खोलेर श्वास प्रश्वास गर्ने भएकोले तनाव ग्रसित कुखुराहरुमा अन्य श्वासप्रश्वास सम्बन्धी रोगका किटाणुले आक्रमण गर्न सक्छन् ।

उपचार:-
क) पर्याप्त चिसो पानीको व्यवस्थापन
ख) खोरमा भेन्टिलेसनको व्यवस्था गरी हावा खेल्न दिनुपर्दछ
ग) भिटामिन सि, भिटामिन ई, भिटामिन ए र अन्य इलेक्त्रोलाइट पानी मार्फत दिनुपर्दछ

रोकथामः-
गर्मी मौषममा कुखुराहरुको उचित व्यवस्थापनको लागि निम्न कुराहरुमा ध्यान दिनु पर्दछ ।

खोर व्यवस्थापन:-
क) खोरको उचाइ तथा चौडाइ उचित हुनुपर्दछ । गर्मी ठाउंको हकमा १४ फिट खोरको विचको भागको उचाइ, किनाराको उचाइ ८ फिट तथा २०-२४ फिट चौडाइको खोर आवश्यक पर्दछ ।

ख) खोरको छानो टिनको भए सेतो पेन्ट गर्ने अथवा छानो माथि खर र जुटको बोरा राखी भिजाउने गरेमा केही हद सम्म तापक्रम नियन्त्रण गर्न सकिन्छ । खोरको छानो चुनाले पोतेमा २ डिग्री सेन्टिग्रेडले तापक्रम नियन्त्रण गर्न सकिन्छ ।
ग) खोरको लामो भाग पुर्व पश्चिम दिशामा निर्माण गरिनुपर्दछ र बलेनीको भाग ३ फिट हुनुपर्दछ ।
घ) ठुला खोरहरुमा जाली बाहिर चिसो बनाएर जुटका बोरा झुन्डाउन सकिन्छ जस्ले तातो हुरिलाई रोक्न मद्धत गर्छ । खोर भित्र स्प्रिन्कलहरु प्रयोग गर्न सकिन्छ ।
ङ) प्राकृतिक भेन्टिलेशन जांच गर्ने, जालीहरुमा धुलो भरिएको जांच गर्ने
च) कुखुराहरुलाई आवश्यक क्षेत्रफल प्रदान गर्ने । गर्मी ठाउँंमा प्रत्येक ब्रोइलर कुखुरा बराबर १.५ वर्गफुट तथा लेयर्सलाई २ वर्गफुट क्षेत्रफल आवश्यक पर्दछ ।

दाना व्यवस्थापन:-
क) कम दाना खपत हुंदा उत्पादनमा असर पुग्ने भएकोले दाना खपत बढाउने उपाएहरु अपनाउनुपर्दछ । पेलेट अथवा क्रम्बल फिड, फिडरमा भएको दाना चलाइदिने, दानामा चिल्लो पदार्थ अथवा गुंड भेली मिसाइदिने, सितल फर्केको समयमा मात्रा दाना दिने (दिउसोको समयमा दाना खान रोक लगाउने र बिहान तथा सांझमा मात्रा दाना राख्दिने) जस्ता कृयाकलाप गरेर दाना खपत बढाउन सकिन्छ ।
ख) असाध्यै गर्मी हुने समय भन्दा ६, ७ घण्टा अगाडी दानाको भांडो हटाइदिने
ग) अत्यधिक गर्मी भएमा मिड्नाइट फिडिङ्ग प्रयोगमा ल्याउनुपर्दछ ।
घ) भर्जिनिआमाइसिनको प्रयोगले हिट स्ट्रेसलाई कम गर्ने तथा रोग संग लड्ने क्षमता बढाउंछ ।
ङ) निकार्बाजिनले हिट स्ट्रेस बढाउने तथा मोनेन्सिनले पानी रुची घटाऊने भएकोले गर्मी समयमा प्रयोग गर्नु हुंदैन ।
च) दानामा बिटेन, बायोटिन, भिटामिन सि, सोडा बाइकर्ब, एसिडिफायर, डेक्स्ट्रोज, जस्ता फिड एडिटिब्सहरु मिसाउनुपर्दछ । दानामा प्रोटिनको मात्रा कम गराइ शक्तीको श्रोत बढाउनुपर्दछ, जसको लागि चिल्लो पदार्थ प्रयोग गर्न सकिन्छ । कक्सिडिओस्टाट, एन्टिअक्सिडेन्ट लाई प्राथमिकतामा राख्न पर्दछ । यसको अलवा टक्सिन बाइन्डर पनि सम्मिलित गराउनु पर्दछ ।
छ) दानामा क्याल्सियमको मात्रा ४ प्रतिशत बाट ५ प्रतिशत बनाउनुपर्छ । भिटामिन र मिनरलको श्रोत २५ प्रतिशतले बढाउनुपर्छ ।

पानी व्यवस्थापन:-
क) गर्मीको समयमा भिटामिन सि तथा इलेक्ट्रोलाइट युक्त चिसो पानी पर्याप्त रुपमा प्रदान गर्ने । आवश्यक भएमा पानी फेरिरहने । सकिन्छ भने पानी टंकिलाई खोर भित्र नै राख्दा तातो हुन बाट नियन्त्रण गर्न सकिन्छ । खोर बाहिर भएको टंकिलाई जुटको बोराले ढाकेर पानीले भिजाउने गरेमा पानी तात्न नियन्त्रण हुन्छ । कुखुरालाई सामान्य अवस्थामा भन्दा ३/४ गुणा पानी उपलब्ध गराउनुपर्दछ । ०.२ प्रतिशत नुन मिसाएर दिएमा पानीको उपभोग अझै बढ्छ ।
ख) पानीमा कागती, निबुवा आदिको रस वा भिनेगर मिसाउने

अन्य व्यवस्थापन:-
क) खोपको प्रयोग, चुच्चो काट्ने आदी कृयाकलापहरु शितल समयमा गर्नुपर्दछ ।
ख) खोरमा थर्मो्मिटर राखेर तापक्रम भिन्नता रुजु गर्र्नेे र त्यही अनुसार व्यवस्थापन गर्ने

प्रत्यक्ष मात्र नभई गर्मी तनाव भएका कुखुराहरुमा इ.कोली, माइकोप्लाज्मा, कोराइजा लगायतका रोगहरु लाग्ने सम्भावना बढ्ने भएकाले यसको उचित रोकथाम गर्नको लागि व्यवस्थापनमा ध्यान दिनु जरुरी छ ।

डा. युवराज पन्थ
प्राविधिक अधिक्रित
लुम्बिनि एग्रो ईन्डस्ट्रिज, बुटवल

WordPress Themes