कुखुरामा गाउट रोग देखिनुको कारणहरु

by    Dr. Bibek Bandhu Regmi
   Dr. Bibek Bandhu Regmi

मानिस र अन्य जीवजन्तु जस्तै कुखुराको शारीरिक वृद्दि विकासको लागि नभई नहुने पोषक तत्व हो – प्रोटिन । बढ्दो उमेको व्रोइलर कुखुराको दानामा १९ देखि २१  प्रतिशत र अण्डा पार्ने लेयर्स कुखुरामा १७ देखि १९ प्रतिशत सम्म प्रोटिनको आवश्यकता पर्दछ । अन्य गाई वस्तुको आहारको तुलनामा कुखुराको दाना महँगो हुनुको कारण कुखुराको दानामा बढी मात्रामा प्रोटिनजन्य कच्चा पदार्थ मिसाउनुपर्ने हुनाले हो ।

प्रोटिनले शरीरको मेटाबोलिजम प्रक्रियामा रासायनिक परिवर्तन भई अन्त्यमा युरिक एसिडको रुप धारण गर्छ ।  गाईभैसी लगायतका जीवजन्तुमा युरिकेज भन्ने इन्जाइम हुन्छ जसले युरिक एसिडलाई युरियामा परिवर्तन गर्छ । तर कुखुरामा युरिकेज भन्ने इन्जाइम हुदैन । युरिक एसिडको उत्पादन कलेजोमा हुन्छ र मृगौला मार्फत शरीरबाट बाहिरिन्छ ।  युरिक एसिड उत्पादन भई मृगौला हुँदै शरीरबाट बाहिर फाल्ने प्राकृतिक प्रकृयामा गडबडी पैदा हुदा कुखुरामा गाउटको समस्या देखापर्छ । कुखुराको शरिरमा युरिक एसिड अत्याधिक मात्रामा उत्पादन हुँदा वा मृगौलाले युरिक एसिडलाई बाहिर फाल्न नसक्दा, मसिना सेता चकजस्ता गिर्खाका रुपमा युरिक एसिड शरीरका विभिन्न अंगप्रत्यंगमा देखापर्छ । यस्तो अवस्थालाई नै गाउट भन्ने गरिन्छ । यो रोगलाई युरोलिथियसीस भनेर चिन्ने चलन पनि छ । प्रायजसो मृगौलाको कार्यक्षमता कमजोर हुनुको कारणले गाउटको समस्या देखापर्छ । रगतमा युरिक एसिडको मात्रा अधिक हुनाले र युरिक एसिड विभिन्न तन्तुहरुमा जम्मा हुँदा सम्बन्धित तन्तुहरुको भौतिक क्षति हुनाले मृत्युदर बढ्ने र कुखुराले सामान्य अवस्थामा जस्तो शारीरिक वजन प्राप्त गर्न नसक्ने हुन्छ । गाउट रोग लागेको अवस्थामा कुखुराको रगतमा युरिक एसिडको मात्रा ४४ एम जी प्रति १०० एम एल सम्म पुग्न सक्छ जबकि सामान्य अवस्थामा यो मात्रा ४.५ देखि ७ एम जी प्रति १०० एम एल मात्र हुन्छ । १० देखि २० एम जी प्रति १०० एम एल पुग्दा देखि नै कुखुराले गाउटको सामान्य लक्षण देखाउन थाल्छ ।

गाउटका प्रकार

शरीरमा युरिक एसिडका गिर्खाहरु जम्मा पर्ने स्थानका आधारमा गाउट मूलतः दुई प्रकारका हुन्छन ।

क) भिसेरल गाउट : यो अवस्थामा मृगौला, मुटु, कलेजो, अन्न नली जस्ता विभिन्न अंग प्रत्यंगमा सेतो चकजस्तो पदार्थ देखिन्छ । प्रायजसो कुखुरामा भिसेरल गाउट देखापर्छ र यसको कारणले १५ देखि ३५ प्रतिशत सम्म मृत्युदर हुनसक्छ । भिसेरल गाउट प्रायगरी साना कुखुरामा बढी देखिन्छ ।

Goutख) आर्टिकुलर गाउट : युरिक एसिड रोग लागेका मानिसमा युरिक एसिडका गिर्खाहरु जोर्निहरुमा जम्मा भएजस्तै यो अवस्थामा युरिक एसिडका गिर्खाहरु कुखुराका हड्डीका जोर्निहरुमा देखापर्छ जसको कारणले लंगडोपना हुन पनि सक्छ । आर्टिकुलर गाउट कुखुरामा कमै मात्रामा देखिन्छ र देखिईहाले पनि वयस्क र बुढो कुखुरामा बढी देखिन्छ ।

भिसेरल र आर्टिकुलर दुवै अवस्थामा चक जस्तो सेतो र मसिनो सियो आकारको गिर्खा जम्मा हुन्छ जसलाई वैज्ञानिक भाषामा टोफाई भन्ने चलन पनि छ ।

गाउटका लक्षण

गाउट भएका कुखुराले निम्न लक्षणहरु देखाउछन ।

झोक्राउनु, दाना कम खानु, प्वाँख जिङ्गरिङ्ग पर्नु, लंगडोपना हुनु, मलद्वार भिजेको हुनु, दुब्लाउनु इत्यादि । पोस्टमार्टम गर्दा मृगौला, मुटु, कलेजो, अन्न नली जस्ता विभिन्न अंग प्रत्यंगमा सेतो चकजस्तो टोफाई जम्मा भएको देखेमा गाउट भनि यकिन गर्न सकिन्छ । गाउट भएका कुखुराको मृगौलाका डल्लाहरू अनियन्त्रित ढंगले बढेको देखिन्छ ।

गाउट देखिने कारण

कुखुरामा गाउट देखिने कारणहरुलाई पोषण कारण, रोगको कारण, व्यबस्थापकीय कारण र अन्य कारण गरि चार किसिममा वर्गीकृत गर्न सकिन्छ ।

क) पोषण कारण

१. दानामा फस्फोरसको अनुपातमा क्याल्सियम अधिक भएमा ः अधिक मात्रामा भएको क्याल्सियम,  क्याल्सियम सोडियम युरेट रुपी गिर्खाको रुपमा शरीरका विभिन्न अंगमा जम्मा हुन्छ । अण्डा नपार्ने कुखुरालाई अण्डा पार्ने कुखुराको दाना (जसमा क्याल्सियमको मात्रा ३ प्रतिशत भन्दा बढी हुन्छ) खुवाउँदा यो अवस्था आउनसक्छ । ग्रोवर कुखुराले उमेर नपुग्दै प्रिलेयर्स दाना वा लेयर्स दाना नखाओस् भनि हेक्का राख्नुपर्छ । साथै ग्रोवर कुखुराले पाउडरको रुपमा क्याल्सियम प्राप्त गर्दा उचित हुन्छ । ग्रोवर दानामा ग्रिटको रुपमा क्याल्सियम दिँदा क्याल्सियमको खपत अनावश्यक बढी भई गाउट हुने जोखिम उच्च रहन्छ । किनभने यस्तो अवस्थामा छानेर ग्रिट मात्र खाने सुविधा प्राप्त हुन्छ कुखुरालाई । प्रिलेयर्स र लेयर्स दानामा भने ग्रिट र पाउडरको संयुक्त रुपमा क्याल्सियम दिँदा उपयुक्त हुन्छ ।  फस्फोरसले पिसाबलाई अम्लीय बनाई गाउट हुनबाट रोक्ने भूमिका खेल्छ । तसर्थ फस्फोरसको मात्रा कमि हुँदा पनि गाउट हुने सम्भावना बढी हुन्छ ।

२. दानामा अधिक सोडियम भएमा ः सोडियमको मात्रा अधिक भएमा मृगौलामा तनाव उत्पन्न हुन्छ । सोडियमले पिसाबलाई क्षारिय बनाई गाउट हुने सम्भावना वृद्दि गराउँछ । सोडियमको मुख्य स्रोत भनेको नुन र सोडा (सोडियम बाइकार्बाेनेट) हो । यिनको मात्रा अधिक हुन नदिन ख्याल गर्नुपर्छ । गर्मियाममा कुखुरालाई हिट स्ट्रेसबाट जोगाउन दानामा सोडा प्रयोग गर्ने चलन छ । यसरी सोडा प्रयोग गर्दा सोडियमको मात्रा अनावश्यक धेरै नहोस् भनि विचार पु¥याउनु पर्छ ।

३. दानामा सल्फेटको मात्रा अधिक भएमा ः अधिक सल्फेटले मृगौलाबाट रक्त नलीमा  क्याल्सियम पूनः सोस्ने प्रकृया (Reabsorption) अवरुद्द गराई क्याल्सियम फाल्ने प्रकृया सक्रिय बनाउछ । यसो हुँदा गाउट हुने सम्भावना बढेर जान्छ ।

४. कुखुराको खुराकमा भिटामिन डिथ्री (Vitamin D3) को मात्रा अत्याधिक भएमा अन्ननली बाट क्याल्सियम सोस्ने प्रकृया अधिक हुन्छ । यसले कुखुराको रगतमा क्याल्सियमको मात्रा बढी गराउँछ र गाउट हुने सम्भावना बढी रहन्छ ।

५. लामो समयसम्म कुखुराको खुराकमा भिटामिन ए को कमि भएमा मृगौलाको महत्वपूर्ण कोष र तन्तु ध्वस्त भई गाउट हुने सम्भावना प्रवल हुन्छ ।

६. स्वस्थ मृगौलालाई दानामा प्रोटिन धेरै हँुदैमा केहि फरक पर्दैन । तर कुनै कारणबस् मृगौला कमजोर भैसकेको हो भने दानामा प्रोटिन भएको खण्डमा गाउट देखापर्छ ।

७. युरिया मिसावट गरिएको प्रोटिनजन्य खाद्दय पदार्थ प्रयोग गरि दाना बनाइएको खण्डमा पनि गाउट हुने सम्भावना रहन्छ । अझ यस्तो अवस्थामा मृगौलाको खराबी भैसकेको हो भने गाउटको समस्या झनै व्यापक हुन्छ ।

८. कुखुराले खाने पानीमा उच्च मात्रामा सोडियम क्लोराईड र अन्य हेभी मेटल (गरुङ्गो धातु) भएमा मृगौलामा भार पर्न गई गाउट हुने जोखिम बढ्छ ।

ख) रोग संक्रमणको कारण

१. आइ बि भाइरस : विशेषगरी खासै मृत्युदर नगराई अण्डा उत्पादनमा गुणात्मक एवं मात्रात्मक ह्रास गराउनको लागि प्रख्यात छ आइ बि भाइरस । तर कुनै स्ट्रेनका आइ बि भाइरस यस्ता पनि हुन्छन जसले मृगौलामा आक्रमण गर्छन । यस्तो अवस्थामा मृगौलाको कोष र तन्तु ध्वस्त भई गाउट देखापर्छ र मृत्युदर पनि हुने गर्दछ । यस्ता आइ बि भाइरस प्यारेन्टबाट चल्लामा पनि सर्छन । कहिले काही चल्लामा गाउटको कारणले हुने मृत्युदरमा यही भाइरसको भूमिका रहन्छ । यस्तो समस्या व्यापक रहेको अवस्थामा एक दिने चल्ला अवस्थामा नै आइ बि विरुद्द भ्याक्सिन दिनु उपयुक्त हुन्छ ।

२.एस्ट्रो भाइरस : एस्ट्रो भाइरसले पनि मृगौलाको कोष र तन्तु ध्वस्त गराई गाउट गराउँछ । आइ बि भाइरस जस्तै यो भाइरस पनि प्यारेन्टबाट चल्लामा पनि सर्छ । एस्ट्रो भाइरस देखिएको स्थानमा एस्ट्रो भाइरस विरुद्द भ्याक्सिन दिनु राम्रो हुन्छ ।

३. गम्बारो भाइरस : कहिले काही गम्बारो रोगको भाइरस पनि गाउटको कारण बन्न सक्छ । तर यो अवस्था एकदमै न्यून रहन्छ ।

४. एभियन नेफ्राईटिस भाईरस : यो भाइरसले पनि मृगौलाको कोष र तन्तु ध्वस्त गराई गाउट गराउछ ।

५. माइकोटक्सिन (दानामा ढुसिको विषाक्तता) :  दानामा हुने ढुसिको विषाक्तताले मृगौला खराब गराई गाउटको समस्या पैदा गर्छ । कुखुरामा गाउट देखिने प्रमुख कारणहरु मध्ये एक हो – माइकोटक्सिन । कुखुरालाई माइकोटक्सिनबाट जोगाउन दानाको कच्चा पदार्थको गुणस्तर तथा भण्डारण विधिमा विशेष ध्यान दिनुपर्छ ।

६. एसाइटिस (पेटमा पानि जम्ने) : अक्सिजनको कमि भएको अवस्थामा शरीरका तन्तुहरूलाई अक्सिजन प¥ुयाउन रक्तसंचार प्रणाली अत्याधिक सक्रिय हुन्छ । यस्तो अवस्थामा रक्तसंचार नलीबाट तरल पदार्थ चुहिन गई पेटमा जम्मा भएर एसाइटिसको समस्या देखापर्छ । अक्सिजनको कमि भएको अवस्थामा पनि युरिक एसिडको उत्पादन बढी हुन्छ र गाउटको समस्या देखापर्न सक्छ ।

ग) व्यवस्थापकीय कारण

१. पानीको उपलब्धता कम हुनु ः ब्रुडिङ तापक्रम अत्याधिक कम वा बढी भयो भने, ड्रीङ्कर वा निप्पलको संख्या कम भयो भने, ड्रीङ्करको उचाई उपयुक्त भएन भने, भ्याक्सिन दिँदा लामो समयसम्म पानि दिइएन भने वा पानि अत्याधिक अम्लीय (पि एच अत्यधिक कम हुनु)  भयो भने कुखुराको शरीरले कम मात्रामा पानि प्राप्त गर्छ र गाउटको जोखिम उच्च रहन्छ ।

२. ह्याचारिको उचित व्यवस्थापन नहुनु  ः अण्डा भण्डारण राम्रोसँग भएन भने, इन्कुबेसन तापक्रम वा आद्रता ठिक भएन भने, चल्ला होल्डिंग कक्षको वातावरण उचित भएन भने, ह्याच भएपछी धेरै बेरसम्म ह्याचारिमै चल्ला राख्नुले वा खोर सम्म ढुवानी गर्न लामो समय लगाउनुले पनि गाउट हुने सम्भावना धेरै हुन्छ ।

अन्य व्यवस्थापकीय कारणमा भेन्टिलेसन प्रभावकारी नहुनु, उचित तापक्रम, आद्रता र हावाको वहाव नहुनु र लामो समय सम्म भोकै रहनु आदि पर्छन ।

घ) अन्य कारण

१. अत्याधिक मात्रामा एन्टिबायोटिक (विशेषगरी एमिनोग्लाईकोसाईड, सल्फोनामाईड र नाइट्रोफुरान समूहको एन्टिबायोटिक) प्रयोग गर्दा मृगौलामा भार पर्न गई मृगौला खराब हुन्छ र गाउटको समस्या देखापर्छ । नेपालमा पशुपन्छीको स्वास्थ्य एवं उपचारको क्षेत्रमा स्थिति भयावह छ । राज्यले किसानको खोर तथा गोठ सम्म सेवा पु¥याउन सक्ने पर्याप्त भेटेरिनरी डाक्टर खटाउन सकेको छैन । केहि दिन, हप्ता वा महिना तालिम लिएका सामान्य पशु स्वास्थ्य कार्यकर्ता जसले विशेषज्ञता हाँसिल गरेका छैनन र आधुकारिकता पनि प्राप्त गरेका छैनन उनीहरुले नै एन्टीवायोटिक प्रेसक्रिप्सन गर्ने र किसानलाई सिधा एन्टीवायोटिक बेच्ने प्रचलन विधमान छ । यस्तो अवस्थामा स्वाभाविक रुपमा नेपालका पशुपन्छीमा जथाभावी एन्टीवायोटिकको प्रयोग भएको छ । अनावश्यक अवस्थामा पनि एन्टीवायोटिकको दुरुपयोग गरिएको छ । सामान्य पशु स्वास्थ्य कार्यकताहरु जसले औसधि विज्ञानको अध्ययन गरेका छैनन उनीहरुले आफ्नो निर्णयले चलाएको एन्टीवायोटिक कतिपय अवस्थामा गलत भएको मात्र छैन, संयोगले सहि भएको अवस्थामा पनि डोज हिसाब गर्न नजानेर आवश्यक भन्दा कम वा बढी हुने गरेकै छ । नेपालको पशुपन्छी उपचारमा देखिएको यो प्रचलनले विशेषज्ञको भूमिकालाई कमजोर बनाउने काम भएको छ । गलत एन्टीवायोटिक प्रेसक्रिप्सनको समस्या मुलुक भरी व्यापक छ । तैपनि राज्य निरिह छ ।

२. फिनोल र क्रिसोल जस्ता केमिकल र छिट्ने औसधिको अत्याधिक प्रयोग गर्दा पनि मृगौला खराब भई गाउट हुने जोखिम उच्च रहन्छ ।

३. कुखुराले खाने पानीमा अत्याधिक धेरै मात्रामा कप्पर सल्फेट (निलो तुथो) चलाउँदा पनि गाउट हुने सम्भावना धेरै रहन्छ ।

४. कुनै कारणबस कुखुराको मृगौला भन्दा माथि रहने युरेटर भन्ने नली जाम भएको खण्डमा पनि गाउट हुन्छ ।

निष्कर्ष

यसरी कुखुरालाई गाउट हुनबाट जोगाउनको लागि दानामा सन्तुलित पोषण तत्व राख्न, दानालाई विषाक्त मुक्त राख्न, कुखुरालाई रोग (विशेषतः विषाणुजन्य अथवा भाईरल रोग) को संक्रमणबाट जोगाउन, कुखुरालाई पर्याप्त मात्रामा स्वच्छ र सफा पानि उपलब्ध गराउन र खोरको वैज्ञानिक व्यवस्थापन गर्न आवश्यक छ । साथै दर्तावाल भेटेरिनरी डाक्टरको सल्लाह लिएर मात्र एन्टीवायोटिक र अन्य औषधिको प्रयोग गर्नुपर्छ ।

 

लेखक 

डा. विवेक बन्धु रेग्मी

मध्यपश्चिम पोल्ट्री डायग्नोसिस एण्ड भेट फर्मा

 

WordPress Themes