कुखुरामा क्रोनिक रेस्पाइरेटरी रोग (घ्यार-घ्यार) को समस्या, रोकथाम अनि उपचार

by Pawan Shrestha

परिचय

क्रोनिक रेस्पाईरेटरी रोग अर्थात C.R.D मुख्य गरि कुखुरा र टर्की मा लाग्ने रोग हो । यो रोग माइकोप्लास्मा ग्यालिसेप्टिकम नामक सुक्ष्म जिबाणु बाट बाट लाग्ने गर्छ। यो रोग लागेको कुखुराले लामो समय पछि मात्र लक्षण देखाउने हुनाले यो क्रोनिक किसिमको रोग अन्तरगत पर्छ। सानो ठाउमा अत्याधिक कुखुरा पाल्नाले ,खोरको सरसफाई तथा कुखुराको पोषणमा ध्यान नपुर्याउनाले कुखुरामा यो रोग प्रतिको समबेदनशीलता बढ्न जान्छ।यो रोग बिशेष गरि ४ देखि १० हप्ताको ब्रोइलरमा र टर्किमा लाग्ने गर्छ। सो उमेर भन्दा माथिको कुखुरामा कहिलेकाही यो रोग लाग्ने गर्छ सो क्रममा अन्य जिबाणुहरुले यो रोगलाई अझ जटिलता थपदछ। मुख्यरुपमा यो रोगले कुखुराको स्वाशप्रश्वासमा समस्या निम्त्याउछ।

रोग सर्ने ढाचा / तरिका

जिबाणुहरु एक कुखुरा बाट अर्कोमा अथवा एउटा फार्मबाट नजिकै रहेको अर्को फार्ममा हावाको माध्यम बाट सर्ने गर्छ। निरोगी कुखुराहरु रोगी कुखुराको सम्पर्कमा आउनाले पनि यो रोग सर्दछ।कुखुराको नाकबाट निस्किने सिगान र कुखुराले खोक्दा निस्कने छिटा बाट यो रोग एकबाट अर्को कुखुरामा सर्छ। जिबाणुबाट सङ्क्रमित भएको दाना-पानी बाट पनि रोग सर्ने प्रबल सम्भावना रहन्छ।त्यसै गरि रोगी लेयर्स कुखुराबाट निस्किएका चल्लामा यो रोग अनिवार्य रुपमा लागेको हुन्छ।

रोगका लक्षणहरु:

कतिपय मामलामा सङ्क्रमण भएको नभएको कुरा पत्ता लगाउन गाह्रो हुन्छ भने धेरै जसो मामलामा कुखुराहरुमा भिन्न स्तरको स्वासप्रश्वास सम्बन्धी समस्या देखा पर्छन।

  • mycoplasmosisख्यार-ख्यार गर्नु
  • श्वासप्रश्वास गर्न गाह्रो हुनु
  • खोक्नु, मुख् खोलेर श्वास फेर्नु
  • आच्छ्यू गर्नु
  • नाकबाट सिगान बगिरहनु,
  • आखामा कचेरा देखिनु
  • आखा वरिपरिको भाग सुन्निनु
  • उत्पादन घट्नु,
  • दाना-पानीमा रुची नराख्नु,
  • चल्ला काढ्न भनि राखिएको अण्डा बाट कम चल्ला निस्कनु,
  • अण्डा बाट निस्कने जिबित चल्ला को सङ्ख्या कम हुनु

 

Cloudy airsac, Mycoplasmosis

पोस्ट्मार्टम

  • ऐयर स्याक ( हावा थैली) धमिलो तथा बाक्लो हुने,
  • मुटुमा जालो पर्ने,
  • जालो जस्तो सेतो तहले कलेजो ढाकिने,
  • नाकको भित्री भाग, साइनस र स्वासनलीमा चिप्लो सिगान जस्तो पदार्थ भेटिनु,
  • पाठेघर सुन्निनु (अण्डा पर्ने कुखुरा मा )

रोकथाम

टियामुलिन् को प्रयोग बाट यो रोगलाई रोकथाम गर्न सकिन्छ।

 

उपचार

यो रोगको उपचारको लागी एन्टिबायोटिक को प्रयोग हुन्छ। टाइलोसिन, टेट्रासाइक्लिन जस्ता औसधी हरु धेरै प्रयोगमा आउने गर्छन्। कति मात्रामा कुन औसधी चलाउने भन्ने कुरा लाई ध्यान दिई किसानले भेटेरिनरी डाकटरको सल्लाह बमोजिम मात्र औसधी प्रयोग गर्नु उचित हुन्छ। त्यसो नगरिएको खण्डमा फार्ममा अझ जटिलता आउन सक्छ।



लेखक: 

पवन श्रेष्ठ
(B.V.Sc. & A.H. 9th semester),
कृषि तथा वन बिज्ञान विश्व बिद्यालय ,रामपुर
WordPress Themes