कुखुरापालन व्यवसाय किन असफल ?

by Dr. Kedar Karki

काठमाडौँ — जुन गतिमा कुखुरापालन फर्महरू स्थापना हुने गर्छन्, त्यही गतिमा बन्द पनि हुने गरेका छन् । यसकारण कुखुरापालनमा सरकारी नीति तथा देशको आवश्यकता अनुसार अपेक्षाकृत विकास हुनसकेको छैन । सामान्यतया कुखुरापालन व्यवसायबारे सामान्य किसानसँग सल्लाह गर्दा प्राय:जसो कुखुरापालन धनीमानीले गर्ने व्यवसाय हो, हामी सामान्य गाउँले कृषकलाई यसको के काम ?

हामी यसमा सफल हुन सक्तैनौं भन्ने धारण पाइन्छ । तथापि वास्तविकता योभन्दा अर्कै छ । यो व्यवसाय असफल हुनुका अरू पनि कारण छन् । यी कारणलाई समाधान गर्न सकिन्छ । ग्रामीण कृषकले यो पेसा अंँगालेर आफ्नो तथा देशको अर्थ व्यवस्थालाई सुदढ आधार दिन सक्छन् । कुखुरापालन व्यवसाय असफताका केही कारण यस प्रकार छन् :

ज्ञान नहुनु 
प्राय: कुखुरा पालकको असफलताको मुख्य कारण यो व्यवसायको आधुनिक ज्ञानको कमी हुँदाहुँदै पनि देखासिकीमा अव्यवस्थित ढंगले व्यवसाय सुरु गर्छन् । अनि निरन्तर घाटा हुनथालेपछि व्यवसाय बन्द गर्नुको विकल्प हुँदैन । प्राय: पढेलेखेका तथा उच्च सरकारी अधिकारी भन्ने गर्छन्, केही दिनको सानातिनो तालिम लिएपछि यो व्यवसाय सजिलै गर्न सकिन्छ । जबकि वास्तविकता यस विपरीत हुन्छ ।

सस्तो र सन्तुलित आहाराको कमी 
प्राय: वर्षैभरि कुखुरापालक किसानहरू सस्तो र सन्तुलित दाना उपलब्ध नहुँदा समस्यामा पर्छन् । दाना अभावमा कतिपय कुखुरा फार्म बन्द हुने गरेको पाइन्छ । वर्षाको बेला ढुसी अनि गर्मीका बेला नुनको विषादीको प्रकरण हुने गर्छ । कारण कुखुराको मृत्युदर अचानक बढ्छ । कुखुरापालक किसानसँग पुँजी अभावका कारण दानाको समयमा व्यवस्था गर्न सक्दैनन् । घाटा बढी हुने हुँदा उनीहरू व्यवसाय बन्द गर्न बाध्य हुन्छन् । यस प्रकारको हानि/नोक्सानीबाट बच्न कुखुरापालक किसानले आफ्नो फर्मका लागि विश्वसनीय दाना उद्योगबाट उत्पादित दाना प्रयोग गर्नसक्ने सुविधा उपलब्ध हुनुपर्छ । दानाको गुणस्तर परीक्षण कुनै विश्वसनीय प्रयोगशालाबाट नियमित हुनुपर्छ । यसको सरकारी निकायबाट निरीक्षण हुनुपर्छ ।

बजारको अभाव
हामीकहाँ कुखुराजन्य उत्पादनको क्रय–विक्रयका लागि व्यवस्थित बजारको प्रावधान छैन । सबै काम बिचौलियाको भरान छ । यसकारण कुखुरापालक किसानले न भनेका बेला चल्ला पाउँछन्, नत तयार भएको कुखुरा, अन्डा बेच्न पाउँछन् । यस्तै अन्योलका कारण नयाँ किसान सुरुमै घाटा खाएर पेसाबाटै पलायन हुने गर्छन् । यसका लागि संगठित व्यवस्थित बजार स्थलको व्यवस्था हुनुपर्छ । के गर्ने पशुपन्क्षी बजार प्रबद्र्धन निर्देशनालय त छ, तर सधैं विवादमा अख्तियार धाउँदै फुर्सत छैन ।

गुणस्तरीय चल्लाको अभाव
सरकारी स्तरमा कुखुरा ह्याचरीहरू नहुनाका कारण निजी क्षेत्रका ह्याचरीहरूले बजारमा माग बढ्नासाथ भाउ बढाउने, चल्ला कम आपूर्ति गर्ने अनि मिसमास गर्ने नौलो कुरा भएन । यसैमा निर्भर हुन्छ, कुखुरापालकको नाफा–घाटाको जोड–घटाउ । यसबाट कुखुरापालक कृषकलाई बचाउने हो भने सरकारले एकदिने चल्लाको गुणस्तर मापदण्ड तोकेर लागु गराउने दृढता दखाउनुपर्ने हुन्छ । किसानले पनि आफ्नो फर्मको उत्पादन तालिका बनाई भरपर्दो १/२ ह्याचरीसँग निश्चित मूल्य र समयमा चल्ला लिने सम्झौत गर्नु वेश हुन्छ । यसो गरेमा वर्षभरि निश्चित मूल्य र समयमा चल्ला पाउने सुनिश्चितता हुनेछ ।

प्रयोगशालाको कमी 
कुखुरा रोग निदान प्रयोगशालाहरू यसै पनि कम छन् । भएका प्रयोगशालाहरूमा पनि दक्ष तथा अनुभवी विज्ञको संख्या निकै कम छ । उपयुक्त उपकरण छैनन् । तुरुन्तै कुखुरालाई लागेको रोगको निदान तथा उपचारबारे थाहा नहुने स्थिति । यसो हुँदा रोगले अप्रत्यासित कुखुराहरू मर्न थाल्छन् र पुरै फर्म सखाप हुनपुगेका थुप्रै उदाहरण छन् । धेरै नोक्सानी व्यहोर्नुपर्दा व्यवसाय बन्द गर्नुपर्ने स्थिति आउँछ । यस प्रकार हुने क्षतिबाट बच्न कुखुरापालक कृषकहरूले कुनै विषय विशेषज्ञसँग कुनै राम्रो प्रयोगशालको सेवा लिन पाउने व्यवस्था हुनुपर्छ ।

औषधि नपाउनु 
कुखुरापालक कृषकहरूले आफूलाई आवश्यक पर्नर्े औषधि आफ्नो फर्ममा जगेडा राख्दैनन् । जब आवश्यक पर्छ, रोग फैलिन्छ, अनि औषधिका लागि यताउता भौंतारिन्छन् । हडबडीमा बजारमा औषधिको अभावका कारण किसानलाई कित औषधि समयमा उपलब्ध हुँदैन, भइहाले पनि कहिलेकाहीं कमसल औषधि त्यो पनि चर्को मूल्यमा किन बाध्य हुन्छन् । जसको कारण कुखुराको मृत्युदर बढ्ने गर्छ । यसले उत्पादन लागत पनि बढाउँछ । त्यसैले यसबाट हुने हानि–नोक्सानीबाट बच्न कुखुरापालक कृषकले आफ्नो फर्ममा केही विशेष खाले औषधि कुनै अधिकृत बिक्रेता कम्पनीसँग किनेर आपत्कालीन प्रयोगका लागि राख्नुपर्छ ।

फर्मको अव्यवस्थापन
कहिलेकाहीं कुखुरा फर्ममा चोरी हुने, आगजनी हुने गर्नाले पनि कुखुरापालन व्यवसाय असफल हुने गर्छ । फर्मलाई आगजनीबाट बचाउन निकै सावधानी अपनाउनुपर्छ । फर्ममा हुनसक्ने चोरी नियन्त्रण गर्न कामदारको सम्पूर्ण गतिविधिको अभिलेख राख्ने गर्नुपर्छ । आगजनी तथा चोरी अनि लुटपाटबाट हुने नोक्सानीबाट बचाउन आफ्नो फर्मको बिमा गर्न भुल्नु हुँदैन । सुरु–सुरुमा कुखुरा पालन राम्रैसँग चल्न थालेपछि किसानले हेलचेक्र्याइँ गर्न थाल्छन् । त्यही नोक्सानीको एउटा ठूलो कारण बन्छ पुग्छ । कुखुरापालक कृषकसँग कुखुरा पालन सम्बन्धी उपयुक्त कार्ययोजना नहुँदा र कमजोर व्यवस्थापन क्षमताका कारण व्यवसाय बन्द गर्नुपर्ने अवस्था हुन्छ ।

सहायक पेसा : कुखुरापालन
यो व्यवसायलाई धेरैले अतिरिक्त आयआर्जन गर्ने पेसाको रूपमा अँगालेका हुन्छन् । सरकारी स्तरबाट समाजको कमजोर वर्गका समुदायको आर्थिक अवस्था सुधार्न यो व्यवसाय सुरु गर्न विभिन्न खाले छुट, अनुदान दिएर प्रोत्साहन गर्ने नीति नभएको पनि होइन । यस्ता व्यवसाय नाफामा चलाउन विधिन्न खाले छुट, अनुदान सेवाको व्यवस्था हुनुपर्छ । जसै उत्पादन प्रोत्साहन उपलब्ध हुन छाड्छ, यस्ता व्यवसाय पनि बन्द हुन थाल्छन् । यो व्यवसायलाई कहिल्यै पनि सहायक पेसाको रूपमा गर्न सकिन्न । किनभने यो व्यवसायलाई पूर्णरूपमा सफलतापूर्वक चलाउन हरसमय रेखदेख आवश्यक पर्छ । कुखुरा पालन व्यवसाय नाफामूलक बनाउन कुनै एक पक्षले ध्यान दिएर मात्र सम्भव हुँदैन । उत्पादन शृङखलाका सबै सरोकारवालाबीच उचित समन्वय र सहभागिता आवश्यक हुन्छ ।

कार्की वरिष्ठ पशुचिकित्सक हुन् ।

WordPress Themes