कुखुरापालनको लागि उपयुक्त जग्गाको छनौट गर्ने तथा खोर बनाउने तरिका

by    Dr. Bibek Bandhu Regmi

जग्गा छनौट 

कुखुरापलान व्यवसाय यस्तो व्यवसाय हो जसमा जग्गाको छनौट र खोर निर्माण देखि उत्पादन बजारीकरणको चरणसम्म वैज्ञानिक नियम र सुत्रहरु अवलम्बन गर्नुपर्छ  । जग्गाको छनौट व्यवसायको निम्ती सुरुको सबैभन्दा महत्वपूर्ण चरण हो । उपयुक्त जग्गाको छनौट गर्न सकिएन भने व्यवसाय संचालनको क्रममा अनेक बाधा—व्यवधान आउन सक्छन् र लगानी नउठ्दै व्यवसाय धरासायी बन्न सक्छ ।

निम्न गुणहरु भएको जग्गालाई कुखुरापालनको लागि उपयुक्त मान्न सकिन्छ । 

१) घना बस्ति तथा आवास क्षेत्रबाट टाढा अवस्थित हुनुपर्ने ।

व्यवसायिक पंक्षी फार्म तथा ह्याचरी संचालन निर्देशिका, २०७१ बमोजिम पंक्षी फार्म मानिस बस्ने घना बस्ति (१५ घरधुरी) बाट कम्तिमा १०० मिटरको दुरीमा हुनु पर्नेछ । यद्दपी सो निर्देशिकामा अन्य जनघनत्व बढी हुनसक्ने ठाउँहरु (जस्तैः स्कुल, कलेज, मन्दिर, मैदान, जात्रा लाग्ने स्थल आदि) बाट कति तथा हुनुपर्ने भन्ने स्पष्ट उल्लेख गरिएको छैन । त्यस्ता जनघनत्व बढी हुनसक्ने स्थलहरुबाट पनि फार्म जतिसक्दो टाढा अवस्थित भएको उपयुक्त हुन्छ ।

२) व्यस्त सडक (ठुलो हाईवे) र बजार क्षेत्रबाट टाढा हुनुपर्ने । व्यवसायिक पंक्षी फार्म तथा ह्याचरी संचालन निर्देशिका, २०७१ बमोजिम पंक्षी फार्म राष्ट्रिय राजमार्गबाट कम्तिमा पनि २०० मिटर टाढा हुनु पर्नेछ । राष्ट्रिय राजमार्ग बाहेकको जिल्ला सदरमुकाम जोड्ने सडकको हकमा १०० मिटर टाढा हुनु पर्नेछ । सो बाहेकको अन्य सडकको हकमा ५० मिटर टाढा हुनु पर्नेछ ।

३) बाटो पुगेको ठाउँ हुनुपर्ने ।

४) विजुली पुगेको ठाउँ हुनुपर्ने ।

५) प्रशस्त सफा, स्वस्छ पिउने पानि प्राप्त गर्न सकिने ठाउँ हुनुपर्ने । बोरिङ्ग उपयुक्त उपाय हो । 

६) कामदारको उपलब्धता भएको ठाउँ हुनुपर्ने ।

७) जमिन सधै चिसो भइराख्ने हुनु हुदैन र सुर्यको प्रकाश पर्ने खालको हुनुपर्छ ।

८) गर्मीेयाममा तापक्रम अत्याधिक नहुने र सापेक्षिक आद्रता पनि अत्याधिक नहुने ठाउँ रोज्न सके उत्पादनमा तुलनात्मक लाभ रहन्छ ।

९) खोर बनाउँदा पुर्व—पश्चिम लम्बाई हुनेगरी बनाउन मिल्ने जग्गा हुनुपर्ने ।

१०) प्राविधिकको उपलब्धता भएको ठाउँ हुनुपर्ने ।

११) दाना, औषधि, भ्याक्सिन, इक्युपमेन्ट तथा उत्पादन बजारबाट फार्म र फार्मबाट बजार ओसार—पोसार गर्न मिल्ने खालको हुनुपर्ने ।

१२) खोर बनाउने जग्गा खाला परेको एवं पानी जम्ने किसिमको हुनु हुदैन । केहि उच्च परेको भूभाग र वरीपरि पानी नजम्ने र ढल निकाश बनाउन सकिने खालको भएको राम्रो हुन्छ ।

१३) अन्य स्थापित पोल्ट्री फार्म देखि टाढा हुनुपर्ने । व्यवसायिक पंक्षी फार्म तथा ह्याचरी संचालन निर्देशिका, २०७१ बमोजिम एक ह्याचरी देखि अर्काे ह्याचारिको दुरी कम्तिमा २०० मिटरको फरकमा हुनुपर्नेछ । २० हजार भन्दा बढी संख्यामा पंक्षी पालन गरिने स्थानको हकमा फार्महरु बीच १०० मिटर दुरी हुनु पर्नेछ । अन्य फार्मको हकमा १० मिटर फरक हुनुपर्नेछ । त्यस्तै ग्राण्ड प्यारेन्ट फार्मबाट अन्य फार्मको दुरी कम्तिमा १ किलोमिटर हुनु पर्नेछ भनि उल्लेख भएको छ ।जैविक सुरक्षाको दृष्टिकोणबाट हेर्दा उपरोक्त दुरीहरु असाध्यै कम उल्लेख भएको छ । उपरोक्त दुरिहरु जतिसक्दो धेरै कायम गर्न सक्यो पंक्षी पालन व्यवसाय उति नै सुरक्षित हुनेछ ।

खोर निर्माण 

कुखुराको खोर यसरी निर्माण गर्नुपर्छ ताकि कुखुरा सुरक्षित त रहोस् नै साथ—साथै अधिकतम उत्पादनको लागि उपयुक्त वातावरण पनि मिलोस् । खोरको बनौट उपयुक्त भएन भने विभिन्न स्वास्थ्यजन्य समस्या आइपर्छ र सोचे अनुरुप उत्पादन लिन सकिदैन ।

कुखुराको खोर निर्माण गर्ने क्रममा निम्न लिखित कुराहरुमा ध्यान दिनुपर्छ ।

१) खोरको लम्बाई पुर्व—पश्चिम र चौडाई उत्तर—दक्षिण हुनेगरी निर्माण गर्नुपर्छ । लम्बाई पुर्व—पश्चिम बनाई सुर्यको ताप सिधै खोरमा पर्नबाट जोगाउन सकिन्छ अर्थात् सुर्यको तापलाई अधिकतम रुपमा छल्न सकिन्छ ।

२) पुर्व—पश्चिमको मुखमा दिवाल लगाउने (घाम छेक्न) र उत्तर—दक्षिणको मुखमा तार जाली लगाउने (स्वच्छ हावा संचारको लागि) । उत्तर र दक्षिण साईडको छोटो दिवाल जम्मा एक देखि डेढ फुट उठाई त्यसमाथि तार जाली लगाउने ।

३) पुर्व—पश्चिम लम्बाई चाहे जति लामो बनाउन सकिन्छ । जग्गाको उपलब्धता र कृषकले गर्नसक्ने लगानीको आधारमा ५०० फिटसम्म लामो बनाउन सकिन्छ । तर लामो खोरमा पर्याप्त ढोका राख्न र जालीले पार्टिसन वा खण्डिकरण गर्न आवश्यक हुन्छ ।

४) ओपेन हाउस प्रणालीमा उत्तर—दक्षिण चौडाई २८ देखि ३० फिट भन्दा लामो बनाउन हुदैन । व्रोइलर कुखुराको हकमा चौडाई २० देखि २२ फिट मात्र राख्न सके अझै राम्रो हुन्छ । अनावश्यक धेरै चौडाई भएको खोरमा हावाको संचार राम्रोसँग हुन पाउँदैन । फलस्वरूप दुर्गन्ध हुने र सोत्तर चिसो हुने समस्या रहन्छ । चिस्यानको कारणले विविध ब्याक्टेरिया जन्य संक्रमणको समस्या पैदा हुन्छ ।

५) खोरको कुखुरा बस्ने सतह जमिन भन्दा केहि माथि (अवस्था हेरी २—४ फिटसम्म) उठेको हुनुपर्छ ताकि वर्षाको समयमा जमेको पानि खोरभित्र छिर्न नपाओस् ।

६) सकभर कुखुरा बस्ने सतह पक्का ढलान गरेको हुनुपर्छ । माटोको सतह भएमा रोग संक्रमणको समस्या व्यापक हुन्छ । अघिल्लो लटको वयस्क कुखुराले खोरमा अनेक संक्रमणका किटाणुहरु छोडेर गएका हुन्छन । तसर्थ खोरमा एक लट कुखुरा पलिसकेर नयाँ लट पाल्ने तयारि गर्दै गर्दा खोरको सरसफाईमा विशेष ध्यान दिनुपर्छ । यसरी एकै खोरमा एक लट कुखुरा पलिसकेर नयाँ लट पाल्ने तयारि गर्दै गर्दा गरिने खोरको विशेष प्रकारको सरसफाईलाई कम्प्लिट हाउस क्लिन आउट (Complete house clean out) भनिन्छ । माटोको सतह भएको खोरमा कम्प्लिट हाउस क्लिन आउटको प्रक्रिया अवलम्बन गर्न सम्भव हुँदैन ।

७) जग र सतहको ढलान पक्का किसिमको निर्माण गर्नुपर्छ ताकि मुसा, सर्प, स्याल, विरालो आदि प्वाल बनाएर खोरभित्र छिर्न नसकुन् । कतिपय राम्रो आधुनिक खोरमा मुसाबाट जोगिन मुसा निषेधक (Rat Proof) प्रविधि अपनाइएको हुन्छ ।

८) खोरको साईडको उचाई कम्तिमा ९ देखि १० फिट हुनुपर्छ । उचाई कम भएमा हावाको संचार कम हुन्छ साथ—साथै गर्मिमा हिट स्ट्रेसको समस्या व्यापक हुन्छ ।

 

९) खोरको बीचको उचाई कम्तिमा १३ देखि १४ फिट हुनुपर्छ ।

१०) टिनको छानो प्रयोग गर्न सकिन्छ । गर्मि मौसममा कुखुरालाई हिट स्ट्रेसको प्रभावबाट जोगाउन छाउने बेलामा नै टिनको बाहिरी भागलाई सेतो रंगले पोत्दा उपयुक्त हुन्छ । टिनलाई खरले ढाकेर गर्र्मीको तनावलाई न्यूनीकरण गर्न सकिन्छ ।

११) साईडमा टिनको पाता तार—जाली भन्दा २—३ फिट परसम्म फैलिएको हुनुपर्छ ताकि वर्षामा छड्के बाछिटो पर्दा खोर भित्र नपरोस् ।

१२) तार—जालीको बाहिरतिर प्लास्टिक पर्दा झुन्ड्याउने र आवश्यकता अनुरुप खोल्ने लगाउने गर्नुपर्छ । तलबाट माथि खोल्ने खालको भन्दापनि आधुनिक पुल्ली सिस्टममा जडित माथिबाट तल खोल्न मिल्ने खालको पर्दा उपयुक्त हुन्छ । पुल्ली सिस्टमले गर्दा एकै ठाउँमा उभिएर पुल्ली घुमाई पुरै खोरको पर्दा सजिलै लगाउन वा खोल्न सकिन्छ । यसबाट कामदारको पनि बचत हुन्छ ।

१३) खोरको वरी—परि पक्का पेटी भए राम्रो हुन्छ । यसले कामदारलाई हिडडुल गर्न सजिलो हुनुको साथ—साथै बाहिरी वातावरणबाट कुखुराको सम्पर्कलाई टाढा बनाउछ (जैविक सुरक्षाको नजरले पनि राम्रो हुन्छ ।) । यसले गर्दा सर—सफाई गर्न पनि सजिलो हुन्छ ।

१४) खोर सर—सफाई गर्दा निस्किने फोहोर पानिलाई निकास दिने नालाको व्यवस्था हुनुपर्छ ।

१५) एकै फार्मभित्र एक भन्दा बढी खोर भएको अवस्थामा, एक खोर देखि अर्काे खोर बीचको दुरी कम्तिमा पनि ४० फिट हुनुपर्छ । सो भन्दा नजिक भए हावाको संचार पर्याप्त नभई अनेक किसिमका स्वस्थजन्य समस्या आइपर्छ ।

१६) लम्बाई अनुसार खोरमा पर्याप्त संख्यामा ढोका राख्नुपर्छ ताकि काम गर्न सहज होस् ।

१७) ढोका अगाडी फुट—बाथ बनाउनुपर्छ । फुट—बाथमा नियमित रुपमा ताजा निसंक्रमण झोल राख्नुपर्छ । खोरभित्र पस्दा अनिवार्य रुपमा फुट बाथमा खुट्टा चोपेर मात्र पस्नुपर्छ । फुट बाथ कम्तिमा २ इन्च गहिरो होस् ताकि खोरभित्र पस्ने क्रममा जुत्ता—चप्पल राम्रो संग भिजोस् ।

१८) पानीको ड्रम उचाइमा तर छायाँ पर्ने गरी राख्नुपर्छ ताकि गर्र्मीमा घामको किरणले तातिन नपाओस् । सकभर खोरभित्रै राख्ने व्यवस्था मिलाउन सके उचित हुन्छ । तातिएको पानि कुखुराले कम खान्छ । पानि कम हुनाले गर्र्मीको तनाव बढी हुन्छ । पानिको खपत कम भएपछी दानाको खपत पनि कम हुन्छ र उत्पादनमा ह्रास आउँछ । साथै घामले तातिएको पानीमा ब्याक्टेरियाको वृद्दि पनि व्यापक हुन्छ ।

१९) फार्ममा कुकुर, विरालो, स्याल लगायत अन्य वन्यजन्तु साथै अनावश्यक व्यक्ति प्रवेश नगरुन् भन्नको लागि फार्म परिसर वरिपरि तार—जालीको बाउन्ड्री बनाउने ।

२०) झिंगा—किराको प्रकोप नहोस् भन्नको लागि फार्मको वरिपरि झाडी रहन नदिने, खाल्डा—खुल्डी पुर्ने र पानि जम्मा हुन नदिने साथै सर—सफाईमा विशेष ध्यान दिने ।

२१) कहिँ—कतैबाट चरा प्रवेश गर्न नमिल्ने गरि प्वाल रहित खोर निर्माण गर्ने ।

२२) दाना भण्डारण गर्नको लागि खोर बाहिर नै छुट्टै दाना भण्डारण कक्षको निर्माण गर्ने । खोरभित्र दाना भण्डारण गर्नु उपयुक्त हुदैन ।

२३) बिरामी कुखुरा स्वस्थ कुखुरादेखि अलग्गै राख्नको निम्ति छुट्टै कक्षको निर्माण गर्नु उपयुक्त हुन्छ ।

२४) प्रत्येक फार्मको मरेको कुखुरा गाड्नको निम्ति खोरभन्दा पर डिस्पोजल पिट बनाउनु पर्छ । पिटको मुखमा ढकनको व्यवस्था हुनुपर्छ ताकि मरेको कुखुरा पिटभित्र खसालेपछि दुर्गन्धन नफैलियोस् । १००० कुखुरा क्षमताको खोरलाई ६—८ फिट गहिरो र २ फिट व्यास भएको मोर्टालिटी पिट वा डिस्पोजल खाल्डो आवश्यक पर्दछ । राम्रो फार्ममा पोस्टमार्टम गर्न छुट्टै ठाउँको व्यवस्था गरिएको हुन्छ ।

अन्त्यमा जैविक सुरक्षाको दृष्टिकोणले उपयुक्तजग्गाको छनौट र वैज्ञानिक मापदण्ड अनुरुपको खोर निर्माण सफल पोल्ट्री व्यवसायको निम्ति महत्वपूर्ण आधारशिला हुन् । नयाँ पोल्ट्री फार्म निर्माण गर्ने सोच बनाउनु भएका लगानिकर्ताले आफ्नो लगानी सुरक्षित गर्न उपयुक्त जग्गाको छनौट र वैज्ञानिक खोर निर्माण गर्न आवश्यक छ । साथै हतारमा जस्तोसुकै ठाउँमा र जस्तोसुकै खोरमा कुखुरापालन गरेर विभिन्न समस्या झेलिराख्नुभएका कृषक वर्गले पनि यो कुरा गम्भिरताको साथ मनन् गर्दै आगामी व्यवसायिक कार्ययोजना बनाउनु आवश्यक छ ।

 

डा. विवेक बन्धु रेग्मी

कन्शलटेन्ट भेट मध्यपश्चिम पोल्ट्री डायग्नोसिस एण्ड भेट फर्मा, दाङ

WordPress Themes