कुखुराको रोग निदान तथा उपचारको लागि माइक्रोवायोलोजिकल कल्चर र ए. स. टि. टेस्टको महत्व

by    Dr. Bibek Bandhu Regmi

क. जीवाणुजन्य संक्रामक रोगको निदान गर्न माइक्रोवायोलोजिकल कल्चरको महत्व

कुखुराको रोग निदान प्रक्रियामा पोस्टमार्टमको ठूलो महत्व छ । तर कतिपय अवस्थामा भने सामान्य हेराई र पोस्टमार्टमले मात्र रोग पहिचान गर्न नसकिने हुनसक्छ ।  कुखुरामा यस्ता अनेकौँ रोगहरु लाग्नसक्छन जसका लक्षण र पोस्टमार्टम दृश्य उस्तै-उस्तै देखिन्छन । यस्तो अवस्थामा भर्खरै  मरेको वा बिरामी भएर झोक्रिएको कुखुराको संक्रमणले क्षतिग्रस्त तन्तुबाट लिइएको नमूनालाई निश्चित वैज्ञानिक विधिबाट कृत्रिम मेडियाको प्रयोग गरि कल्चरमा राखेर कुन जीवाणुको संक्रमणले गर्दा कुखुरा बिरामी भएको हो भनि स्पष्टसँग निर्क्यौल गर्न सकिन्छ ।

माइक्रोवायोलोजी विज्ञानको दख्खल भएको र माइक्रोवायोलोजी प्रयोगशालामा काम गरेको अनुभव भएका दक्ष भेटेरीनरी डाक्टरले मात्र सो कार्य निपुणताका साथ सम्पन्न गर्न सक्छन । स्मरण रहोस् ब्याक्टेरियल कल्चरको नतिजा आउँन करिब २४ घण्टा समय लाग्छ । त्यस्तै फंगल कल्चरको नतिजा आउँन करिब ७२ घण्टा समय लाग्छ । रोगको कारक जीवाणुको किटान र क्षतिग्रस्त तन्तुको सहि पहिचान गर्नसकेको अवस्थामा मात्र उपरोक्त जीवाणु विरुद्द काम गर्ने र उपरोक्त तन्तुमा प्रभावकारी औसधि-उपचारको प्रक्रिया अपनाउन सकिन्छ । नत्र अन्दाजमा दिईने कतिपय औसधिको कारणले बिरामी कुखुराको स्वास्थ्य सुधार पनि नहुने र औसधिमा खर्च मात्र हुने विडम्बनापूर्ण अवथा सृजना हुन्छ । महँगा एन्टीवायोटिक औसधि यसरी व्यर्थमा खेर जाँदा पोल्ट्री व्यवसायले यथोचित नाफा कमाउन मुश्किल पर्छ ।

ख. ब्याक्टेरियल रोगको उपचारको लागि एन्टीवायोटिक सेन्सिटिभिटी टेस्टको महत्व

कतिपय अवस्थामा रोग लगाउने जीवाणुले विभिन्न एन्टीवायोटिक चलाउँदा पनि नमर्ने र वृद्दि भइराख्ने क्षमता विकास गरेका हुन्छन । यस्तो अवस्थामा रोगको ठिक पहिचान भएपनि उपचार स्वरुप दिइएको एन्टीवायोटिक निष्प्रभावी हुन्छ । जीवाणुले एन्टीवायोटिक विरुद्द प्रतिरोध क्षमता विकास गरेको यस्तो अवस्थालाई वैज्ञानिक भाषामा एन्टीवायोटिक रेजिसटेन्स भनिन्छ । यो अवस्थाको सबैभन्दा उपयुक्त वैज्ञानिक हल हो – एन्टीवायोटिक सेन्सिटिभिटी टेस्ट । एन्टीवायोटिक सेन्सिटिभिटी टेस्टबाट कुन एन्टीवायोटिकले रोगको जीवाणु विरुद्द काम गर्छ भन्ने कुरा ठ्याक्कै पत्ता लाग्ने

हुँदा आर्थिक रुपमा किसानको लागि निकै लाभदायक सिद्द हुनसक्छ । विशेषत: हजारौँको संख्यामा लेयर्स तथा प्यारेन्ट कुखुरा पाल्ने किसानले हचुवाको भरमा अनेकथरी एन्टीवायोटिक चलाउदा एन्टीवायोटिकले काम नगर्ने र एकपछि अर्को एन्टीवायोटिक फेर्दै जाँदा वर्षभरीमा लाखौँ रुपैयाँ खेर जानसक्छ । यसरी एन्टीवायोटिक खरिदमा खेर जानसक्ने लाखौँ रुपैयाँ जोगाई किसानलाई आर्थिक रुपमा हित गर्ने एउटा सशक्त माध्यम पनि हो – एन्टीवायोटिक सेन्सिटिभिटी टेस्ट । अवस्था हेरिकन एन्टीवायोटिक सेन्सिटिभिटी टेस्टको नतिजा आउँन २४ देखि ३६ घण्टासम्म लाग्नसक्छ ।

 

डा. विवेक बन्धु रेग्मी

कंशलटेन्ट भेटः मध्यपश्चिम पोल्ट्री डायग्नोसिस एण्ड भेट फर्मा, तुलसीपुर, दाङ

प्राविधिक निर्देशकः हाइजिन एग्रो प्रा लि, घोराही, दाङ

WordPress Themes