कुखुराको अण्डाको बोक्रा पातलो हुने समस्या र यसको समाधानका उपायहरु

by Assoc. Prof. Dr. Bhuminand Devkota

कुखुराको अण्डाको बोक्रा पातलो हुने समस्या र यसको समाधानका उपायहरु

कुखुराको अण्डाको बोक्रा (Egg shell) पातलो भएमा अण्डा सजिलै फुट्ने, बजारमा बिक्री गर्न योग्य नहुने र धेरै नै पातलो बोक्रा भएको अण्डा या त जलजले रुपमा देखिने र तुरुन्तै फुट्ने वा टिप्दा नै बोक्रा फुटि सकेको अवस्थामा भेटिने हुन्छ । यो समस्या बढ्दै गएमा कुखुराले अण्डा पारेर पनि आर्थिक क्षती बेहोर्नु पर्ने हुन्छ । यहाँ छोटकरीमा यो समस्या बारे जानकारी दिने र समाधान खोज्न सजिलो बनाउने प्रयास गरिएको छ ।

अण्डाको बोक्रा पातलो हुने कारणहरु

अण्डाको बोक्रा मुख्यतया क्याल्सीयम नामक खनिज ले बनेको हुन्छ । यो क्याल्सीयमको श्रोत भनेको कुखुराले खाने दाना र उसको आफ्नै शरिरका हड्डीहरु हुन् । कुखुराको दानामा भएको क्याल्सीयम यसको आन्द्रामा सोसिन्छ र शरिरले उपयोग गर्न सक्ने रुपमा रगतमा एउटा निश्चित मात्रामा न घटि न बढी हुने गरी प्रवाह भै रहन्छ । यहि क्याल्सीयम अण्डा बाहिनी नलीले लगातार उपयोग गरी अण्डाको बोक्रा बनाउँछ । यसरी लगातार खपत हुने क्याल्सीयमको लगातार रुपमा रक्त प्रवाहमा निश्चित मात्रा कायम भै रहेको हुनुपर्छ । यसरी हेर्दा दानामा क्याल्सियमको मात्रा पुग्यो भने यो समस्या हुनु हुँदैन । तै पनि कहिलेकाँही निम्न लिखित कारणहरुले यो समस्या देखिने र क्याल्सीयम खुवाउँदा पनि हल नहुने हुन्छ ।
१. क्याल्सियम सँगैै फस्फोरस भन्ने अर्को खनिजसँगै गाँसिएर शरिरमा बस्ने वा रक्त प्रवाहमा रहने हुँदा क्याल्सीयम सँगै फस्फोरसको मात्रा पनि उचित रुपमा मिल्नुपर्छ । सामान्यतया क्याल्सीयम र फस्फोरसको अनुपात २.५ देखि १.५ क्याल्सीयम बराबर १ मात्रा हुनुपर्दछ । यसरी फस्फोरसको मात्रा कमी भएमा पनि क्याल्सीयमको उचित उपयोग हुन सक्दैन । त्यसैले दानामा यो अनुपात ख्याल गर्नुपर्छ ।

२. क्याल्सीयम आन्द्राबाट सोसिने हुन्छ तर आन्द्राबाट क्याल्सीयम सोसिनको लागि भिटामिन D3 को महत्वपूर्ण भूमिका रहन्छ । यदि यो vitamin को कमि भएमा क्याल्सीयम धेरै खुवाए पनि खेर मात्र जान्छ । दानामा vitamin D3 को मात्रा सन्तुलित हुनु त्यसैले आवश्यक हुन्छ ।

३. वास्तवमा भिटामिन D3 को विभिन्न तरीकाले शरीरमा क्याल्सीयमको मात्रा स्थिर राख्न महत्वपूर्ण हुन्छ । पहिलो यसले अर्को एउटा हर्मोनसँग मिलेर आन्द्राबाट क्याल्सीयम सोसिने क्षमता बढाउँछ । दोस्रो यसले मृगौलामा पनि काम गर्छ र त्यहाँबाट छानिएर पिसाबसँगै फालिने क्याल्सियमलाई खेर जान नदिन पुनः रक्त प्रवाहमै फर्काउने काम गर्छ । तेस्रो यसले अर्को हर्मोनसँग मिलेर हड्डीको क्याल्सीयमलाई रक्त प्रवाहमा ल्याउने काम समेत गर्छ । त्यसैले यो भिटामिनको कमि भएमा जति नै क्याल्सीयम खुवाएपनि यो वा त्यो रुपमा क्याल्सीयमको उपयोग हुन नसकि समस्या हुन आउँछ ।

४. यसरी आन्द्राको स्वास्थ्य र मृगौलाको स्वास्थ्य पनि प्रत्यक्ष रुपमा क्याल्सीयमको उचित उपयोग र सन्तुलनसँगै सम्बन्धित भएकोले कुखुरामा जुका परेमा, छेर्ने रोग लागेमा वा मृगौलामा खराबी भएमा क्याल्सीयम कमी हुने समस्या हुने भएकोले जुकाको औषधी नियमित खुवाउने, छेर्ने रोगको तुरुन्तै उपचार गर्ने र मृगौला खराब हुन नदिन औषधीको जथाभावी प्रयोग नगर्ने, गाउट भन्ने रोग लाग्न नदिने आदि कुरामा ध्यान दिनुपर्दछ । स्वच्छ पिउने पानीको कमीले पनि मृगौला बिगार्ने हुँदा यसमा ध्यान दिनुपर्दछ ।

५. उमेर बढ्दै जाँदा स्वतः आन्द्राबाट क्याल्सीयमको शोषण क्षमतामा कमि आउने हुनाले यो समयमा अतिरिक्त क्याल्सीयम दिनुपर्दछ या जहिले पनि क्याल्सीयमको साथमा फस्फोरस र भिटामिन D3 को मात्रा पनि उचित रुपमा दिइरहनुपर्ने हुन्छ ।

WordPress Themes