शिक्षक ‘इन्द्र सर’ अब कुखुरापालक

मिना बुढाथोकी। सल्यान : शारदा नगरपालिका–४ निवासी इन्द्र शर्मालाई गाउँमा सबैले ‘इन्द्र सर’ भनेर बोलाउँछन्। गाउँकै स्कुलमा २६ वर्षसम्म शिक्षण गरेका उनको परिचय अहिले अवकासपछिको जीवन कुखुरापालक किसानका रूपमा छ।

इन्द्र सरले अहिले गाउँमै कुखुरा फार्म सञ्चालन गरिरहेका छन्। कुखुरा फार्म सञ्चालन गरेपछि उनको आम्दानी दोब्बर भएको हो। शिक्षण पेसामा रहँदा हुने आम्दानीभन्दा अहिले कुखुरापालनबाट दोब्बर आम्दानी भइरहेको छ। कुखुरा फार्मबाट घरखर्च कटाएर मासिक ५० हजार रुपैयाँ बचत गर्ने गरेको उनले बताए। कुखुरापालनबाट लाखौं आम्दानी गर्न सफल उनी गाउँका सबै बेरोजगार युवाका लागि प्रेरणाको स्रोत पनि बनेका छन्।

इन्द्रले गाउँमै सञ्चालन गरेको प्रकृति पंक्षी तथा प्रजनन् फार्मले उत्पादन गर्ने कुखुराको मासुले स्थानीय बजारको मागसमेत पूर्ति गरेको छ। ‘फार्ममा चार सय बढी लेयर्स जातका कुखुरा छन्, टर्की र लोकल कुखुरा पनि पालेको छु’, उनले भने, ‘कुखुराको अण्डा, चल्ला र मासु बेचेर राम्रै आम्दानी भएको छ।’ उनले पालेका कुखुराको अण्डा, चल्ला र मासु स्थानीय बजार खलंगादेखि पिपलनेटासम्मको बजारमा सहजै बिक्री हुने गरेको हो। अधिकांशले घरमै आएर खरिद गर्ने गर्दछन्।

बजारको मागअनुसार थप एक हजार कुखुरा थपेर अरूलाई रोजगारी दिने गरी व्यवसाय सञ्चालन गर्ने उनले बताए। उनीसँग ५ सय अण्डालाई ह्याचरी गर्न सक्ने मेसिनसमेत छ। करिब २० लाख लगानीमा एक वर्ष अघिमात्र उनले यो व्यवसाय सुरु गरेका हुन्। ‘२६ वर्ष शिक्षण पेशामा बिताएँ, तर सरकारी जागीरको भन्दा कमाई यो पेशामा रहेछ’, उनले थपे, ‘जिल्लामै रोजगारको सृजना गर्न सके विदेशमा भौतारिनु पर्दैन, मेहनत गरे घरमै बसेर पैसा कमाउन सकिन्छ।’
गाउँका युवा वैदेशिक रोजगारीमा गइरहँदा इन्द्रको कुखुरापालन व्यवसाय रोजगारीको गतिलो उदाहरण बनेको छ। डिग्री पास गरेर शिक्षण पेशामा लागेका उनले अहिले कुखुरापालन व्यवसायप्रति गौरव गर्न थालेका छन्।

Article by