विदेशबाट फर्केर कुखुरापालन

 सिन्धुपाल्चोक — बलेफी गाउँपालिका टुनीबोटेका भोजप्रसाद नेपाललाई कतारबाट फर्केको अहिलेजस्तो लाग्छ । लाखौं ऋण लिएर उडेका नेपालले कमाइ गर्न नसकेपछि स्वदेश फर्केलगत्तै कुखुरा पालनमा जुटे । ‘बाहुनको छोरो भएर कुखुरा पाल्छस् ? जात फालिस् ।’ भन्दै उपदेश दिने समाज उनको प्रगति देखेर अहिले चुपचाप छ ।

‘पार्सपोर्ट सिरानीमुनि थन्क्याएको छु, अर्काको देश पुर्‍याएर दु:ख दिने कुरा के काम?’ कुखुरालाई पानी दिँदै उनले भने, ‘अब विदेश जानु छैन, आफ्नै देशमा दु:ख गरे मनग्गे कमाइन्छ ।’ विदेशमा २० महिना काम गरेर आएका उनले कुखुरा पालनबाट झन्डै मासिक डेढ लाखसम्म आम्दानी गरिरहेको सुनाए ।
 Broiler farming in Nepal
‘कुखुराबाट निक्लिएको मल आफ्नै खेतबारीमा प्रयोग गर्छु,’ उनले भने, मलले बारी पनि हराभरा भएको छ ।’ हजारभन्दा बढी चल्ला पालन गरिरहेका उनले ब्रोइलर र गिरीराज दुवै जातका कुखुरा फरक टनेल नै बनाएर पाल्ने गरेका छन् । पशु, कृषिसम्बन्धी विभिन्न तालिम लिइसकेका उनले कुखुरा पाल्नमा अब्बल भइसकेको दाबी गरे ।
मेलम्ची नगरपालिका भोटेचौरका सुदीप गुरुङले कुखुरा पालन व्यवसाय थालेको अहिले दुई वर्ष पुग्यो । लाखौं ऋणमा दुबई पुगेर फर्किएका उनले पासपोर्ट थन्क्याएर ब्रोइलर कुखुरा पालनमा खटे । ‘विदेशमा भौतारिनुभन्दा यहीं काम गर्ने जाँगर चल्यो,’ सुदीपले भने, ‘बिदेसिएकाले कमाउनेभन्दा तेब्बर कमाएपछि किन जानु ?’ हाल उनले यही व्यवसायबाट मासिक ६० हजारदेखि लाखसम्म कमाउँछन् । कुखुरा पालनको दुई वर्षे अन्तरालमा सुदीपले ठूलो सफलता हात पारेका छन् । निरन्तर पालनमा झन्झट भए पनि उपभोक्ताले चल्लादेखि ठूलो भइसकेका कुखुरा खोरबाटै लान थालेपछि यो व्यवसाय फस्टाउँदै गएको उनको अनुभव छ । ‘पहिलो पटक कुखुरा पालन आमाबाट सिके, सुरुमा झन्झट लागे पनि कमाइ राम्रै हुन थालेपछि यसमा जोड दिँदै गए,’ उनले हुर्किरहेका चल्ला देखाउँदै भने, ‘बिस्तारै यसबारे ज्ञान बढ्दै गएपछि जाँगर चल्न थाल्यो ।’
बलेफी गाउँपालिका, माङ्खाका २५ वर्षका सुबिन खड्कामलेसियाबाट फर्केपछि पार्सपोर्ट च्यातेर कुखुरापालन व्यवसायमा जमे । ‘स्वदेशमै केही गर्न सक्छु भन्ने लाग्यो, कुखुरा पालनमा लागे यसैको आम्दानीले जीवनस्तर पनि उठ्यो,’ उनले भने, ‘सुरुमा ढंग नपुर्‍याएकाले समस्या भयो, केही कुखुरा मरे, फेरि पछाडि फर्कनुपरेन ।’ उनले पहिलो पटकमा कमाएको नाफा बीस हजारको हौसलाले यहाँसम्म आइपुगेको बताए ।
हाल उनले कुखुरा पालनबाटै मासिक ८० हजार कमाउने गरेका छन् । खड्काको प्रगति देखेपछि बिदेसिन लागेका माङ्खाका युवायुवती र गाउँलेसमेत हाल कुखुरा पालनमा लागेका छन् । बिदेसिनुको सट्टा कुखुरा पालन गरेर राम्रै कमाइ गरिरहेका युवायुवती हिजोआज गाउँपिच्छे भेटिन्छन् । बजारमा माग बढिरहेकाले युवावर्गले ब्रोइलर कुखुरा पालनलाई बलियो व्यवासाय बनाएको कृषि विकास कार्यालयका कृषि प्रसार अधिकृत दुर्गादत्त पन्थी बताउँछन् । ‘ठूलो आम्दानी हुने देखेपछि कुखुरा पालनप्रति युवाको आकर्षण बढिरहेको देखिन्छ, पन्थीले भने, ‘विदेशबाट फर्किएका दुर्गम गाउँका युवा आजकल झनै सक्रिय भएका छन् ।’ उनले एक गाउँको टोलमा सातदेखि ८ सयसम्म विभिन्न जातका कुखुराको चल्ला पालन हुने गरेको बताए । ‘चार–पाँच महिनामै बिक्री गर्न सकिने भएकाले ब्रोइलर जातको कुखुरा पालनमा बढी आकर्षण देखिएको छ,’ उनले भने ।
यसक्षेत्रमा पालिएका कुखुरा बाह्रबीसे, खाडीचौर, सुकुटे, बलेफी बजारदेखि राजधानीसम्म लैजाने गरिएको छ । विशेष गरी गिरिराज, ब्रोइलर र टर्की जातका कुखुरा जिल्लाभर व्यवासायिक रूपमा पाल्न थालिएको छ । जिल्लाभर गाउँका लोकल कुखुराभन्दा ब्रोइलर, गिरिराज लगायतका जातका कुखुराले बजार लिन थालेको छ ।
Source:- kantipurdaily
Article by