रुपन्देहीको कृषिले पर्यटक लोभ्याउँदै

बुटवल । रूपन्देहीमा फस्टाउँदो व्यावसायिक कृषिसँगै कृषि–पर्यटनको सम्भावना बढेको छ । विश्वकै ठूलो पक्षी अस्ट्रिचको व्यावसायिक पालन, देशकै ठूलो गाई फार्म तथा रिसर्च सेन्टर, व्यावसायिक माछापालन, मौरी, अर्गानिक तरकारी तथा च्याउको पकेट क्षेत्र विस्तारले कृषि–पर्यटनको सम्भावना बढ्दै गएको हो ।

तिलोत्तमा नगरपालिकाको गंगोलियामा रहेको अस्ट्रिच फार्ममा दैनिक एक हजारको हाराहारीमा आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् । त्यसबाट अस्ट्रिच नेपाल प्रालिले वार्षिक ५०–६० लाख रुपैयाँ आम्दानी गर्छ । लुम्बिनी आउने आन्तरिक पर्यटकमध्ये ५० प्रतिशतले अस्ट्रिच हेर्ने गरेका छन् । यहाँ १५–२० प्रतिशत बाह्य पर्यटक आउने गरेका छन्।

विश्वका सीमित देशमा अस्ट्रिच पालन हुने भएकाले बाह्य पर्यटकलाई यसले आकर्षित गरेको हो । दक्षिण कोरिया, मलेसिया, चीन, जापान, नेदरल्यान्ड, इजरायल, भारतका राजदूत, उच्चपदस्थ अधिकारी तथा अनुसन्धान टोलीले फर्मको अवलोकनपछि यसलाई नमुनाको रूपमा विकास गर्न सुझाव दिएको अस्ट्रिच नेपाल प्रालिका सञ्चालक सिपी शर्माले बताए।

यो फार्ममा अहिले माउ चल्ला गरी ६ हजार अस्ट्रिच छन् । एउटा वयस्क अस्ट्रिचको तौल दुई सय किलोसम्म हुन्छ । अण्डा दुई किलो । प्वाँख र छालाबाट जुत्ता, ज्याकेट बनाउन प्रयोग हुन्छ । बोसो सौन्दर्य क्रिमको कच्चा पदार्थ हो । कोलेस्ट्रोल फ्री हुने अस्ट्रिचको मासु स्वाथ्यका लागि सबैभन्दा उत्तम मानिन्छ । फर्म परिसरमा अस्ट्रिच, लोकल कुखुरा, माछा तथा अर्गानिक परिकारको रेस्टुराँ सञ्चालन गरिएको छ । सञ्चालक शर्माले यसलाई अस्ट्रिच अनुसन्धान केन्द्रको रूपमा विकास गर्ने लक्ष्य लिएका छन्।

रूपन्देहीको तिलोत्तमामा रहेको नेपालकै ठूलो गाई फार्म लुम्बिनी एग्रो प्रोडक्ट एन्ड रिर्सच सेन्टरमा दैनिक चार सयको हाराहारीमा आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् । त्यसबाट मासिक १५–२० लाख रुपैयाँ आम्दानी हुन्छ । भुटानको कृषि मन्त्रालय अन्तर्गतको विशेषज्ञ टोली, विश्व बैंक, नेदरल्यान्ड, फ्रान्स, जर्मन जस्ता देशका युनिभर्सिटीबाट अध्ययन अनुसन्धानका लागि टोली आएको रिसर्च सेन्टरका सञ्चालक शशी पौडेलले बताए । लुम्बिनी आइपुग्ने विभिन्न देशका राजदूत तथा उच्चपदस्थ अधिकारी र कूटनीतिज्ञ यहाँ आउन छुटाउँदैनन् । विभिन्न जिल्लाका अगुवा किसान, सहकारी सदस्यहरू, अनुसन्धानकर्ता तथा विद्यार्थीहरू भ्रमणमा आउँछन् ।

अवलोकनका लागि प्रतिव्यक्ति ५० र प्रतिबस दुई हजार रुपैयाँ शुल्क तोकिएको छ । फर्ममा होलिस्टिन, फ्रिजन र जर्सी जातका साढे चार सय गाई छन् । ती गाईबाट दैनिक दुई हजार लिटर दूध उत्पादन हुन्छ । मेसिनबाटै दूध दुहुने व्यवस्था छ । फार्मले आफ्ना लागि आवश्यक बायो ग्यास र ऊर्जा आफैं उत्पादन गर्छ । २२ बिघा जमिनमा उन्नत घाँस खेती गरिएको छ।

पर्यटकका लागि अपार्टमेन्टसहितको होटल निर्माण गर्ने सपना कृषि उद्यमी पौडेलले देखेका छन् । ‘राज्यको नीति सहयोगी भए जर्सी र होलिस्टिन गाईको अनुसन्धान केन्द्रकै रूपमा विस्तार गर्ने लक्ष्य छ,’ पौडेलले भने । उनको योजना पूरा भए कृषि उद्यम फस्टाउन र दक्ष जनशक्ति उत्पादनमा मद्दत पुग्नुका साथै कृषि पर्यटनलाई पनि बढावा दिनेछ ।

रूपन्देहीलाई चिनाउने अर्को कृषि–कर्म छपियाको माछापालन हो । यो गाउँमा पोखरी नभएका घर भेटिँदैनन् । गाउँलाई माछापालनले समृद्ध बनाएको छ । युवाहरू मत्स्य पर्यटन प्रवद्र्धनमा लागेका छन् । थारू समुदायको कला संस्कृतिसँग माछा गाउँलाई जोडेका छन् । माछा पोखरीमा डुंगा सयर गर्दै त्यहीका ताजा माछा खाने व्यवस्थासहितका होटल रेस्टुराँ खुलेका छन् । माछाले दिलाएको समृद्धि हेर्न र स्थानीय माछाको स्वादसँगै एकान्तमा हराउन गाउँ पुग्नेको संख्या उल्लेख्य छ।

पछिल्लो समय माछा गाउँ पुग्ने बाह्य पर्यटक पनि बढ्दै गएको अगुवा किसान गोपाल पान्डेले बताए । विशेषगरी भारतीय र युरोपियन देशका पर्यटक गाउँको मनोरम दृष्यसँगै माछाको स्वादमा रमाउन पुगे पनि पर्यटक होटलको अभावमा बुटवल भैरहवा फर्कन बाध्य हुने अवस्था छ ।

पर्यटक तान्ने अर्को गाउँ हो, देवदहको शरहन टाँडी । अर्गानिक तरकारीको पकेट क्षेत्र । बुद्ध मावली देवदहको शिरको यो गाउँ तीनतिरबाट जंगलले घेरिएको छ । मगर समुदायको मौलिक संस्कृति, लोकल कुखुरा र अर्गानिक तरकारी यसको अर्को विशेषता हो । सहरको बढ्दो कोलाहल र प्रदूषणबाट टाढा हरियाली, शीतल वातावरणमा रमाउन नजिकको पर्यटकीय गन्तव्य हो।

गाउँमा स्तरीय होटल तथा होमस्टे संचालन गर्न सके बाह्य पर्यटकका लागि पनि उत्कृष्ट गन्तव्य बन्ने नेपाल एसोसियसन अफ ट्राभल एजेन्सी नाटाका प्रदेश ५ का संयोजक बिष्णु शर्माले बताए ।

लुम्बिनी नजिकैको माछा गाउँ अस्ट्रिच पालन, लुम्बिनी एग्रो फर्म तथा रिसर्च सेन्टर, अर्गानिक गाउँ सरहन टाँडी, भैरहवाको राष्ट्रिय गहुँबाली अनुसन्धान केन्द्र आदिलाई समेटेर कृषि पर्यटनको योजना बनाउन सकिने जानकारहरू बताउँछन् । त्यसका लागि सडक, ऊर्जा, पर्यटकीय होटल तथा स्तरीय होमस्टे जस्ता संरचना निर्माणमा सरकार सहयोगी बन्नुपर्ने बताउँछन्, अस्ट्रिच विज्ञ सिपी शर्मा ।

बुद्ध जन्मस्थल लुम्बिनी आउने पर्यटकमध्ये २५ प्रतिशतलाई मात्रै कृषि क्षेत्रको भ्रमणमा ल्याउन सके ठूलो आर्थिक उपलब्धि हुने नाटाका प्रदेश ५ का अध्यक्ष शर्माले बताए । कृषि–पर्यटनको विकासले कृषि–कर्मलाई सम्मानजनक पेसाको रूपमा स्थापित गराउने ठहर छ, बुटवल बहुमुखी क्याम्पसका प्राध्यापक डा. शिवलाल भुसालको।

LCVIT-A

अर्थशास्त्री भुसाल भन्छन्, ‘कृषिलाई पर्यटनसँग जोड्न सके कृषिप्रतिको नैराश्यतालाई चिर्न सकिन्छ । पर्यटकको बसाइ लम्बिन्छ । कृषि उपजको बजारीकरणमा टेवा पुग्छ।’प्रदेश सरकारले पनि समृद्धिको मुख्य आधार कृषि र पर्यटनलाई मानेको छ । तर, मुख्य पर्यटकीय गन्तव्य लुम्बिनी आउने बाह्य पर्यटकमध्ये ९० प्रतिशत त्यही दिन फर्कन्छन् । पर्यटन विकासको यो चुनौतीलाई चिर्न कृषि–पर्यटन फलदायी सावित हुने जानकार बताउँछन् ।

GROVIT

Source:- newsagro.com/archives/tourism/17210

Article by