भारतबाट आउने पशुपंक्षीजन्य उत्पादन रोक्न माग

चितवन, ०१ जेठ । भारतीय सीमावर्ती क्षेत्रबाट सहज रुपमा पंक्षीजन्य पदार्थहरु नेपाल भित्रिने गरेकाले यसको नियन्त्रण गर्न व्यवसायीहरुले माग गरेका छन् ।

भारतीय सीमा जोडिएका पूर्वी तराई तथा पश्चिम तराईका जिल्लाहरुबाट कुखुराजन्य उत्पादनहरु सहज रुपमा नेपाल भित्रिदा यसले विभिन्न रोगको संक्रमण बढाउन सक्ने व्यवसायीहरुले बताएका हुन् । भरतपुरमा आयोजना गरिएको पशु क्वारेनटाइन समन्वयबारे अन्तरक्रिया गोष्ठीमा पोल्ट्री व्यवसायी मञ्चका अध्यक्ष डाक्टर होमबहादुर बस्नेतले भारतीय सिमावर्ती बजारमा नेपालमा फार्म दर्ता गरेर रातारात भारतबाट कुखुराजन्य उत्पादन भित्र्याउने प्रवृत्ति बढेकाले यसको नियन्त्रण गर्नुपर्ने बताए ।


कार्यक्रममा पशु क्वारेनटाइन कार्यालय काठमाडौँका निमित्त प्रमुख डाक्टर ब्रजकिशोर ठाकुरले अवैध रुपमा नेपाल भित्रिने पशुपंक्षीजन्य उत्पादनको नियन्त्रणमा प्रहरी, स्थानीय प्रशासन, व्यवसायी, भन्सार कर्मचारी सबैले सहयोग गर्नुपर्ने बताए । नेपालबाट देशका विभिन्न क्षेत्रमा जाने पशुपंक्षी उत्पादनहरुको गुणस्तर चेकजाँच गर्नको लागि पशु क्वारेनटाइन स्थापना गरिएकोले उक्त ठाउँमा जँचाएर जान आग्रह गर्दै अन्यत्रबाट लिएर गएको पाइएमा कारबाही गरिने बताए ।
अन्तरक्रिया कार्यक्रममा राष्ट्रिय पंक्षी रोग अन्वेषण केन्द्रका प्रमुख डाक्टर दयाराम चापागाईँले खुला सिमानाका कारण अवैध रुपमा पशुपंक्षीजन्य उत्पादनहरु नेपाल भित्रिने गरेको बताए । जसका कारण भारतका पशुपंक्षीमा देखिएका विभिन्न सरुवा रोगहरु सजिलै नेपाल भित्रिन सक्ने भएकाले यस तर्फ सचेत हुनुपर्ने चापागार्इँको भनाइ थियो ।

जिल्लाका पशुपंक्षी व्यवसायी, पशु चिकित्सक, सुरक्षा निकाय, दाना व्यवसायी, सामुदायिक वनका प्रतिनिधिलगायतका सरोकारवालाहरु सहभागी भएको कार्यक्रमका प्रमुख अतिथि जिल्ला पशु सेवा कार्यालय चितवनका प्रमुख डाक्टर चेतनारायण खरेल रहेका थिए । पशु क्वारेनटाइन कार्यालय काठमाडौँका निमित्त प्रमुख डाक्टर ब्रजकिशोर ठाकुरको अध्यक्षतामा भएको छलफल कार्यक्रममा पशु क्वारेनटाइन चेकपोष्ट चितवनका प्रमुख डाक्टर दुर्गाप्रसाद पौडेलले स्वागत मन्तव्य राखेका थिए ।

Souce:-saurahaonline

Article by