ब्रोइलर प्यारेन्ट स्टक उत्पादन बर्सेनि १२ लाख ६० हजार गोटा पुर्‍याउने

बनेपा – मुलुककै पहिलो ग्रान्ड प्यारेन्ट फार्म ‘कब नेपाल प्रालि’ले कब–५०० जातको ब्रोइलर प्यारेन्ट स्टक(माउ कुखुरा)को उत्पादन बढाएर वार्षिक १२ लाख ६० हजार गोटा पुर्‍याउने भएको छ।

‘हामीले पाँचखालमा रहेको पहिलो ग्रान्ड प्यारेन्ट फार्मसँगै धुलिखेलको रयालेबेंशीमा अर्को फार्म सञ्चालनमा ल्याएका छौं। त्यहाँ अत्याधुनिक पूर्वाधार थपिरहेका छौं। आगामी तीन वर्षभित्रमा नेपालकै कब–५०० ग्रान्ड प्यारेन्टले मुलुकको प्यारेन्ट स्टकको अधिकांश माग पूरा गर्ने लक्ष्यले काम गरिरहेका छौं,’ कम्पनीका टेक्निकल अफेयर्स प्रमुख सुदिप हुमागाईंले भने। कब नेपालका अनुसार हाल वार्षिक ११ लाख ५० हजार गोटा प्यारेन्ट स्टक उत्पादन हुने गरेको छ। आव ०७८/७९ मा यो संख्या १२ लाख ६० हजार पुर्‍याउने लक्ष्याले पूर्वाधार विकास भइरहेको हो। हुमागाईं भन्छन्, ‘हाल नेपालमा तीन सय ११ ब्रिडर फार्म र ह्याचरीले ब्रोइलर चल्ला उत्पादनका लागि विभिन्न जातका प्यारेन्ट स्टक पालिरहेका छन्। यीनमा नेपालमै उत्पादित र आयातित गरी कब–५०० प्यारेन्ट स्टकले ८८ प्रतिशत ओगटेको छ,’ उनले थपे।

किसान र कोल्ड स्टोरको रोजाइमा परेको कब–५०० ब्रोइलरको प्यारेन्ट स्टक सन् २०१३ को नोभेम्बरदेखि नेपालमै उत्पादन हुन थालेको हो। कब नेपालले प्यारेन्ट स्टक यहीँ उत्पादन गरी नेपालका ह्याचरी उद्योगलाई बिक्री गर्दै आएको छ। किसानले यस्ता प्यारेन्ट स्टकको अण्डालाई इन्कुबेटर र ह्याचिङ मेसिनमा राखेर कोरलेपछि निस्कने एकदिने ब्रोइलर चल्ला मासुका लागि पाल्ने गरेका छन्। यहाँको उत्पादनले नपुग्दामात्रै यही जातको प्यारेन्ट स्टक र ग्रान्ड प्यारेन्टको अण्डासमेत नेपालका ब्रिडर फार्म र ह्याचरीले अन्य मुलुकबाट आयात गर्दै आएका छन्।

विश्व प्रसिद्ध कम्पनी कब–भान्ट्रेस इन्कको प्रत्यक्ष निगरानीमा प्यारेन्ट स्टक नेपालमै उत्पादन हुँदै आएको छ। विदेशबाट प्यारेन्ट ल्याउनु पर्दा हवाई भाडाबाहेक साढे पाँच सय रुपैयाँसम्म पर्ने गरेको छ भने यहीँको उत्पादनको पनि त्यति नै मूल्य पर्ने भए पनि हवाई भाडा बचत हुने भएकाले ह्याचरी र ब्रिडरले सकेसम्म नेपाली उत्पादन नै खोज्ने गरेका छन् । ब्रिडर फार्म व्यवस्थापन र ह्याचरीबाट चल्ला कोरल्ने क्रममा आउन सक्ने समस्या समाधानका लागि अमेरिकाबाटै विज्ञ बोलाएर कार्यशाला आयोजना गर्दै आएको कब नेपाल प्रालिका अध्यक्ष ईश्वर शर्माले जानकारी दिए। उनले भने, ‘अमेरिकाको अर्कान्सास राज्यमा मुख्यालय रहेको कम्पनीकै अन्तर्राष्ट्रिय विज्ञहरूको सहभागितामा दोस्रो पटक नेपालमा कार्यशाला आयोजना गरेका हौं। प्यारेन्ट स्टक पालनका बहुआयामिक पक्षसहित गुणस्तरीय चल्ला उत्पादनमा आउन सक्ने समस्या र समाधानबारे अन्तर्राष्ट्रिय विज्ञबाटै कार्यमूलक अनुसन्धानका नतिजासहित उद्यमीहरुलाई ज्ञान र सीप प्रदान गरेका छौ,’ शर्माले थपे।

सो अवसरमा कब–भान्ट्रेसका एसिया सेल्स डाइरेक्टर मोहम्मद ईस्माइलले एसियामा आवश्यक पर्ने ब्रोइलर ग्रान्ड प्यारेन्ट सप्लाईमा कमी हुन नदिन न्युजिल्यान्डमा कब–भान्ट्रेसले नयाँ प्योरलाइन फार्म सुरु गरेको जानकारी दिए। ‘विगतमा हामीले एफसिआर (दाना खुवाएको अनुपातमा कुखुरामा आउने तौलको दर)मा बढी ध्यान दिएका थियौं। यतिखेर सन् २०२३ सम्ममा कब–५०० प्यारेन्ट स्टकले दिने अण्डामा कसरी वृद्धि गर्न सकिन्छ भनि ‘पेडिग्री फार्म’मा अनुसन्धान गरिरहेका छौं। यो उपलब्धिसँगै नेपालका ह्याचरी र ब्रिडर उद्यमीलाई बढी लाभ मिल्नेछ,’ उनले थपे।

कार्यशालामा नेपाल पोल्ट्री महासंघका अध्यक्ष गुणचन्द्र बिष्टले पछिल्ला वर्षमा आयातित र नेपालमै उत्पादित ग्रान्ड प्यारेन्टबाट तोकिएअनुसार उत्पादन लिन नसकिएको दृष्टान्त पेस गरे। ‘प्योरलाइन कम्पनीले ‘जेनेटिक’ विकास गर्ने क्रममै विशेष ध्यान दिएर नेपाल सुहाउँदो ग्रान्ड प्यारेन्ट विकास गरेका खण्डमा नेपाली पोल्ट्री उद्योगलाई थप टेवा पुग्ने थियो,’ उनले सुझाए। सो अवसरमा पशु सेवा विभागका महानिर्देशक डा. वंशी शर्माले पछिल्ला वर्षमा नेपालमा पोल्ट्री र मत्स्यको क्षेत्रमा उल्लेख्य प्रगति भइरहेको जानकारी दिए। उनले भने, ‘पोल्ट्री क्षेत्रमा प्रगतिसँगै चुनौती पनि थपिँदो छ। हालसम्म ग्रान्ड प्यारेन्ट फार्मको संख्या दुईवटा रहेकामा अर्को एउटा थपिँदै छ। अध्ययनले प्रतिहप्ता ३५ लाखभन्दा बढी ब्रोइलर चल्ला खपत नहुने अवस्था देखाएको छ। यस्तोमा व्यवसायीले नै कति पाल्ने र कति चल्ला निकाल्दा खपत हुन्छ भनेर प्रत्येक ह्याचरीले उत्पादन चक्र निर्धारण गर्न जरुरी भइसक्यो,’ शर्माले सुझाए।

नेपालको पोल्ट्री भ्यालु चेन (कुखुराको मूल्य शृंखला) का कुनै एक चरणमा समस्या हुँदा आमकिसान र उपभोक्तालाई मर्का परेको दृष्टान्त दिँदै उनले भने, ‘कृषि उपज(गोलभेंडा, प्याज, लसुन)को मूल्य आकाशिँदा चुपचाप बस्नेहरु पशुजन्य उत्पादन (दूध, अण्डा र कुखुराको मासु)को मूल्य बढ्नासाथ हल्ला मच्चाउन थाल्छन्। खुल्ला बजार नीति भएकाले पशु सेवा विभागले सोझै हस्तक्षेप गर्दैन। तर, यसो भन्दैमा व्यवसायीलाई मनलाग्दी गर्न छुट दिइन्न,’ शर्माले थपे। ब्रोइलर किसानलाई जोगाइराख्नका लागि प्रत्येक प्रदेशमा कुखुराको बधशाला (पोल्ट्री स्लटर हाउस) बनाउनुपर्ने आवश्यकता देखेर नीतिगत रुपमै समेट्न गृहकार्य भइरहेको पनि उनले जानकारी दिए। ‘अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आसन्न भारत भ्रमणका क्रममा भारतको सरकारले कुखुराको लेग पिस र दूधजन्य पदार्थ न्यून भन्सार शुल्कमा अमेरिकाबाट किन्ने सम्झौता हुँदैछ। त्यसले हाम्रो पोल्ट्री र दूध उद्योगलाई प्रभावित पार्ने भएकाले चुनौती थपिँदो छ,’ शर्माले भने।

कार्यशालामा मुलुकभरका कब–५०० प्यारेन्ट स्टक पालिरहेका ब्रिडिङ फार्म, ह्याचरी सञ्चालक र भेटेरीनरी चिकित्सकको सहभागिता रहेको थियो। यतिखेर मुलकभर ब्रोइलर ब्रिडर फार्मको संख्या तीन सय ११ रहेको नेपाल ह्याचरी उद्योग संघले जनाएको छ। सबैभन्दा बढी ब्रिडर फार्म र ह्याचरी बागमती प्रदेशमा रहेको छ। यस्तै, ब्रोइलरको जातमध्ये ८८ प्रतिशतभन्दा बढी कब–५०० राख्ने ब्रिडर फार्म र ह्याचरीको बाहुल्य रहेको छ। बाँकी अन्य जात रोस ३०८ इन्डियर रिभर, हब्बर्ड, भेन्कब ४३० वाई र आर्बोर एकर्स रहेको संघले जनाएको छ।

Source:- nagariknetwork

Article by