बट्टाईपालन: अवसर र चुनौतीको बारेमा अच्युत आचार्यसंग को कुराकानी

करिब एक वर्ष अघि कृषि तथा बन बिज्ञान बिश्वबिद्यालयमा अध्यनरत भेटेरिनरी संकायका बिधार्थीहरुले आफ्नै फारममा बट्टाई पालेर आफ्नो पठन पाठनमा दक्षता बढाएको खबर विभिन्न पत्र पत्रिकाले छापेको थियो । किसानको माग अनुसार फार्म नेपाल (www.farm.com.np)को टोलि यसको बिस्तृत अध्ययन गर्न रामपुर क्याम्पस, नेपाल कृषि अनुसन्धान परिषद पुगेको थियो। उक्त बट्टाई पालनमा संलग्न बिद्यार्थीहरु मध्येका एक छात्र अच्युत आचार्यसंग को कुराकानी जस्ताको तस्तै :

(क) तपाईहरुलाई बट्टाई पालन गर्ने सोच कहाँबाट आयो?

-कृषि तथा बन बिज्ञान बिश्वबिधालयको पाठ्यक्रमले बिध्यार्थिका लागि शैक्षिक ज्ञान मात्र नभई ब्यबसायिक ज्ञान पनि दिने उदेश्यका साथ भेटेरिनरी संकायकै लगानीमा हामीलाई सह–प्राध्यापक डा. रेवन्त कुमार भट्टराईको प्रत्यक्ष निगरानीमा उक्तबट्टाई पालन गर्ने सहयोग मिलेको थियो। हामीले नेपालमा रहेको पशुपन्छी सम्बन्धि ब्यबसायिक सम्भावनालाई खोज अनुसन्धान हुने कार्यक्रम अन्तर्गत बट्टाईपालन गरेका थियौ । नेपालमा हेर्ने हो भने बट्टाई ब्यबसाय २०४६ साल देखिनै बालकोटमा सुरु गरिएको थियो । यो भन्दा पहिले नै पोखरामा पर्यटकहरुको लागि बेलायती कर्नेल रोबोटले पनि सुरु गरेको भन्ने सुन्न पाइन्छ । हाल नेपालको पश्चिम भागमा यसको पालन बृहत रुपमा भैरहेको छ । नेपाल कृषि अनुसन्धान परिषदले पनि यसको अनुसन्धान गरिनै रहेको छ ।

(ख) बट्टाई पालनको ब्यबस्थापनमा ध्यान दिनु पर्ने मुख्य कुराहरु के के हुन्?

-ब्यबसायिक पन्छी जस्तै कुखुरा,कालिज,सुतुरमुर्ग,टर्की,परेवा पालनको तुलनामा बट्टाईको लागि चाहिने फारमको बनावट,आहारा,खोर निकै नै सजिलो छ । वरिपरी जालीले छोपेको प्रत्येक ५ चल्लालाई एक वर्ग फुट बराबरको क्षेत्रफल आवश्यक पर्दछ। एक दिने चल्लालाई ब्रोइलर चल्ला जसरिनै ब्रूडिंग गर्ने भए पनि यिनीहरु एकदमै साना हुने कारणले पानीको भाडाहरु गहिरो हुनुहुदैन र यसका लागि गिट्टीको प्रयोग गर्न सकिन्छ । बट्टाईले धेरै अन्डा दिने र यसको मासुमा धेरै मात्रामा प्रोटिन पाइने हुँदा यसको आहारामा पनि बढी प्रोटिन हुनुपर्दछ । त्यसका लागि पहिलो चार हप्ता सम्म जिरो नं को ब्रोइलर दाना प्रयोग गर्न सक्छौ र २८ दिन देखि अण्डा पार्ने भएकाले उक्त समयमा हामीले २ नं लेयर्स दाना खुवाउन सक्छौं । आहारको अतिरिक्त रुपमा घरमा पाइने तरकारी तथा फलफुलको पनि प्रयोग गर्न सकिन्छ ।

दाना तथा पानीको तालिका

बट्टाईको उमेर

(हप्ता)

दाना प्रति चरा(ग्राम)

पानी प्रति चरा

(मिलिलिटर)

२८ ४-८
४९ १०-१३
६३ १३-१६
७७ १६-२०
११२ २०-२५
१४० २५-३०
१७५ ५०

स्रोत : चेत राज उप्रेती

(ग) बट्टाई पालनबाट आम किसानले के के फाइदा लिन सक्छन त ?

-बट्टाई पालन आर्थिक तथा स्वास्थ्यका हिसाबले निकै नै उपयोगी पालन हो । यिनीहरु संग रोग प्रतिरोधात्मक क्षमता धेरै नै हुने भएकाले औषधि खर्च न्यून हुन्छ । पन्छी पालनमा ७० प्रतिशत लगानी दानामा लागे तापनि यसमा दानामा लागत खर्च पनि निकै नै कम रहेको छ । जिउदो चराको १ रुपैया प्रति ग्राम पाइने यो चरा २८ दिन देखि बेच्न योग्य हुने र औसत तौल १५० ग्राम -२०० ग्राम सम्मको हुन्छ । बट्टाईले एक महिना पुगेपछी नै अन्डा दिन थाल्छ । यसका अन्डाहरु साना–साना भएता पनि पौस्टिक तत्वले भरिपुर्ण रहेका हुन्छन् । बजारमा एक अन्डा प्रति गोटा रु १० सम्म बिक्रि हुन्छ । प्रति बट्टाईबाट कम्तिमा पनि ५०-१०० रुपियासम्म नाफा लिन सकिने हाम्रो अनुभव रहेको छ । यसको मासु स्वास्थ्यका आधारमा हेर्ने हो भने बाथ रोग र मुटुरोग को लागि उत्तम मानिन्छ । यसको मासुमा कम चिल्लो पदार्थ, भिटामिन ए,बी,डी,इ,के र शरीरको लागि चाहिने आवश्यक खनिज पदार्थ पाइन्छ । जापान र भारतमा साना साना हुर्किदै गरेका बच्चाहरुलाई यसको अन्डा खुवाएमा बच्चाहरु मानसिक र शारीरिक तरिकाले बलियो हुने प्रमाणीत भएको छ ।

(घ) नेपालमा बट्टाई पालन गर्दा के के समस्या आउने रैछन ?

–नेपाल एक विकाशसिल मुलुक हो , नेपालीले अझ पनि आफ्नो खानामा पौष्टिक त्तत्व खोजेको पाइन्न जसले गर्दा बजारमा मेहेनत अलि बढी नै गर्नुपर्ने हुन्छ । यसको मासुको स्वाद फरक हुने कारणले कसैलाई मन नपर्ने र कसैलाई औधिनै मनपर्ने हुन्छ । काठमाडौँ र चितवनमा चल्लाको मूल्यमा आकाश पातालको फरक पाइएको छ ; काठमाडौँमा २० रुपिया प्रति चल्ला पाइएपनि चितवनमा किसानले ६५ रुपिया प्रति चल्ला तिर्नु परेको व्यथा छ । बट्टाई जंगलमा बस्ने उड्ने चराको जात भएकाले भाग्ने समस्या र बढी घाइते हुने समस्या देखा पर्न सक्छ । तसर्थ खोर बनाउँदा अनुभबी विज्ञको निगरानीमा बनाउनु उत्तम हुन्छ । यसको मासुको माग ठुलाठुला होटलहरुमा हुने भएकाले सामान्य किसानका लागि पहुच सजिलो नहुन सक्छ । भाले र पोथीको अनुपात मिलाउनु अपरिहार्य हुन्छ ; नमिले भालेले पोथीलाइ घाइते बनाइ मार्ने सम्भावना पनि हुन्छ । हामीले यी सब समस्याहरु समाधान गर्न सकिने खालको भएकाले ठुला समस्याको रुपमा लिनु हुन्न ।

(ङ) अन्तिममा, एक किसान जसले बट्टाई पालन गर्न चाहनुहुन्छ भने तपाइले के सुझाब दिनु चाहनुहुन्छ ?

–हेर्नुस, नेपालमा बिचौलियाहरुको बिगबिगी छ,कुनै पनि ब्यबसाय सुरु गर्नु अघि तेस्को बारेमा भित्रि कुरा सम्म बुझेर मात्र हात हाल्नु राम्रो हो । एउटै देशमा उही चल्लाको ४५ रुपिया सम्म फरक पर्नु भनेको देशमा ब्यबस्थित बजारको अभाब छ भन्ने चाही पक्कै बुज्नु पर्छ। किसान बर्गहरु जसले बट्टाई पालन सुरु गर्न चाहनु हुन्छ, उहाँहरुले पहिला यसको बजार ब्यबस्थापनमा ध्यान दिनुहोस । अन्डा र मासु लिने होटलको सम्पर्कमा आउनुस र एक बिज्ञको निगरानीमा सुरु गर्नु भएमा पक्कै पनि फाइदा छ ।  हामी पनि किसान दाजुभाइ दिदीबहिनीहरुलाई जानेका कुरा सिकाउन तयार छौ । अरु पनि बिस्तृत जानकारी लिन फार्म  नेपालमा सम्पर्क गर्न सक्नुहुन्छ । विषेश धन्यवाद । हजुरको अमुल्य समय र जानकारीको लागि ।

हजुर लगाएत सम्पुर्ण फार्म (www.farm.com.np) टिमलाई धन्यवाद मैले पनि यहाँ आएर मैले जानेका कुरा किसान सम्म पु¥याउने समय दिनुभएकोमा ।

जय कृषि जय पन्छी धन ।।।

Article by