चितवनमा तीन हजार बढी कुखुराका चल्ला नष्ट

चितवन,साउन २७ ।, चितवनमा मापदण्ड पुरा नगरी बिक्रीका लागि लैजाँदै गरिएका कुखुराका चल्ला नष्ट गरिएको छ । पशु क्वारेन्टाइन चेकपोष्ट रामनगर चितवनले आइतबार भरतपुरबाट सो चल्ला नियन्त्रणमा लिएर सरोकारवालाको रोहबरमा नष्ट गरेको हो । काठमाडौंबाट काँकड भित्तातर्फ जाँदै गरेको ना ५ ख ७९३७ नम्बरको गाडीमा विराटनगर, दमक र झापा लैजान लागिएको चल्ला नियन्त्रणमा लिइएको पशु क्वारेन्टाइन चेकपोष्ट रामनगरका प्रमुख राम किशोर शाहले जानकारी दिए ।

चल्ला र अण्डा क्वारेन्टाइन पास गराएर लैजानुपर्ने व्यवस्था भए पनि उनीहरुले क्वारेन्टाइन छलेर लैजान लागेको शाहले बताए । बिक्री अनुमति पत्र, क्वारेन्टाइन चेकपोष्ट दरपिट भएको पत्र र अन्य आवश्यक केही कगजात नभएकाले चल्ला नष्ट गरिएको शाहले जानकारी दिए । चितवनका पोल्ट्री व्यवसायी, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, प्रहरी, पशु विज्ञ केन्द्रका प्रतिनिधि, पत्रकारलगायतको रोहबरमा चल्ला नष्ट गरिएको हो । यसअघि शुक्रबार मात्रै चितवनमा पाँच हजार ५०८ बोइलर कुखुराका चल्ला नष्ट गरिएको थियो ।

Source:- synergyfm

Article by