चल्ला र दानामा पनि कार्टेलिङ

माघ २४, २०७६ राजु चौधरी, काठमाडौँ — कुखुराको मासुमा कार्टेलिङ गरिरहेका व्यवसायीले चल्ला र दानामा पनि चर्को मूल्य असुल्दै आएको पाइएको छ । उनीहरूले कार्टेलिङ गरेर सातामै चल्लाको मूल्य ३५ रुपैयाँसम्म बढाएका छन् । कुखुरापालक किसानका अनुसार नेपाल ह्याचरी उद्योग संघले माघ १० गते चल्लाको मूल्य ४० रुपैयाँ निर्धारण गरेको थियो ।
त्यसपश्चात मूल्य क्रमशः बढाएर एक सातामा ७० रुपैयाँ पुर्‍याइएको छ । किसानले भने ७५ रुपैयाँ तिर्दै आएको चुन्नीखेलस्थित चम्पादेवी पोल्ट्री फार्मका सञ्चालक विश्व खड्काले बताए । ‘सातामा चल्लाको भाउ ३५ रुपैयाँ बढ्नुपर्ने कुनै कारण नै थिएन तर संघसंस्था बनाएर वैधानिक ढंगबाट किसानलाई लुटेका छन्,’ उनले भने, ‘यसले किसान र उपभोक्ता सिधै मर्कामा परेका छन् ।’
ठूला व्यवसायी, दाना उद्योगी र ह्याचरी उद्योगीले प्रचलित कानुनविपरीत कालोबजारी/कार्टेलिङ गरिरहेको जनाउँदै राष्ट्रिय कुखुरापालक किसान संघर्ष समितिसमेत गठन गरिएको छ । समितिले आठबुँदे मागसहित नियमनकारी निकाय वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा उजुरी गरेको छ ।

अभाव देखाएर मूल्य बढाएको जानकारी पाए पनि सरकारी निकायले कारबाही गर्न चासो दिएको छैन

‘चल्ला र मासुको मूल्य दाना उद्योग संघ, ह्याचरी उद्योग संघ र राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघको नियन्त्रणमा छ । यी तीन संघको मिलोमतोमा मूल्य बढाइयो,’ संघर्ष समितिका संयोजकसमेत रहेका खड्काले भने ।
समितिका अनुसार ३० देखि ३५ रुपैयाँमा चल्ला तयार हुन्छ । ह्याचिङ गरेर बाहिर निकाल्दा ३५ रुपैयाँभन्दा बढी पर्दैन । ‘३० रुपैयाँमा तयार भएको चल्लाको ह्याचरी उद्योगले ७० रुपैयाँ तोकेको छ । बजारमा भने ७५ रुपैयाँसम्म पर्छ,’ उनले भने, ‘यो संस्थागत कालोबजारी हो ।’
ह्याचरी उद्योग संघका महासचिव बलराम किसीले माग र आपूर्तिको कारण मूल्य बढेको दाबी गरे । ‘उत्पादन पर्याप्त नहुँदा चल्लाको माग बढ्यो, मूल्य पनि त्यहीअनुसार वृद्धि भएको हो,’ उनले भने, ‘मूल्य माग र आपूर्तिले नै निर्धारण गर्ने हो ।’ उनले चल्लाको लागत मूल्य ५५ रुपैयाँ पर्ने दाबी गरे ।
ह्याचरी उद्योगीहरूले चल्ला अभाव दाबी गरे पनि जानाजान ‘चिक्स होलिडे’ गरेका थिए । मूल्य बढाउनकै लागि मंसिर २७ मा सम्पन्न व्यवसायीको भेलाले पोल्ट्रीले सेटर मेसिनमा सेट गरिएका ह्याचिङ अण्डा मंसिर २९ देखि पुस ८ सम्म नष्ट गर्ने निर्णय गरेको थियो ।
मंसिर २९ देखि पुस ८ सम्म ह्याचरीबाट उत्पादित ब्रोइलर चल्ला, कलर ब्रोइलर चल्ला र क्रोइलर चल्ला बिक्री वितरण तथा ओसारपसार बन्द गर्ने निर्णय गरेका थिए । सोहीअनुसार उनीहरूले नेपालका विभिन्न पोल्ट्री फार्मबाट कुखुराका चल्ला नष्ट गरे । ह्याचरी उद्योग संघका महासचिव किसीले भने चल्ला बिक्री नभएपछि नष्ट गरेको दाबी गरे । ‘मारेको होइन, डस्टबिनमा राखेको हो,’ उनले भने ।
ह्याचरी उद्योगले उपभोक्ता संरक्षण ऐनविपरीत बन्द र चल्ला नष्ट गरे पनि सरकार मौन बसेको थियो । त्यसको असर अहिले देखिएको हो । ‘वर्षौंदेखि यी संस्थामार्फत मूल्य निर्धारण हुँदै आएको छ । आफूअनुकूल चिक्स होलिडे गरेर किसानलाई लाखौं ऋणमा डुबाई विस्थापित गरिरहेका छन्,’ संघर्ष समितिले विभागमा दर्ता गरेको उजुरीमा उल्लेख छ । पशु सेवा विभागका महानिर्देशक वंशी शर्माले ह्याचरीको बचाउ गरे । उनले प्यारेन्ट आयात गरिएकाले महँगो परेको बताए । ‘उत्पादन लागत करिब ५० रुपैयाँ पर्छ । १० रुपैयाँ डिलर खर्च हुन्छ,’ उनले भने, ‘तर डिलरले बद्‌मासी गर्‍यो । ह्याचरीले दिएको मूल्यमा १०/१५ रुपैयाँ बढाएर बिक्री गरे ।’ मूल्यको सन्दर्भमा आपूर्तिसँगको सहकार्यमा अनुगमन भइरहेको दाबी गरे । व्यवसायीले २० प्रतिशतभन्दा बढी मुनाफा लिन नपाइने उनले बताए ।
‘तयारी मासुको हकमा किलोको साढे ३ सय रुपैयाँभन्दा बढी पर्दैन,’ उनले भने, ‘अहिलेको बजार मूल्य जायज होइन । प्रतिकिलो ३५० रुपैयाँभन्दा बढी मूल्य हुँदैन ।’ बजार मूल्य अस्वाभाविक रहेको बताए पनि बढी मूल्य लिने व्यवसायीलाई कारबाही हुन सकेको छैन ।
पशुपन्छीसम्बन्धी नियमन गर्ने निकाय पशु सेवा विभाग नै हो । मूल्यको सन्दर्भमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नियमन गर्दै आएको छ । उक्त विभागले पनि व्यवसायीले लिँदै आएको मूल्य उचित नभएको जनाएको छ । ‘व्यवसायीले मूल्य बढेको ट्रेन्ड बताएका छैनन् । जानीजानी मूल्य बढाएका छन् । अभाव देखाएर मूल्य बढाए,’ वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक नेत्र सुवेदीले भने, ‘चित्त बुझ्दो छैन । उत्पादन क्षेत्रमा अनुगमन गर्छौं ।’ व्यवसायीले ऐनविपरीत काम गरेर सरकारलाई चुनौती दिए पनि कारबाही हुन सकेको छैन । यीबाहेक नेपाल दाना उद्योग संघले पनि ठगी गर्दै आएको समितिले जनाएको छ ।
किसान संघर्ष समितिका अनुसार दाना तथा चल्लामा २ सय प्रतिशतसम्म मुनाफा राखी बिक्री भइरहेको छ । उनीहरूले व्यापारिक नियमअनुसार २० प्रतिशत नाफा राखी बिक्री वितरणको व्यवस्था मिलाउन माग गरेका छन् ।
‘दानाको कच्चा पदार्थमा ५० रुपैयाँ मूल्य वृद्धि हुँदा दानामा प्रतिकिलो २ वा बोरामा सय रुपैयाँसम्म बढाइएको छ । अहिले दानाको कच्चा पदार्थको मूल्य प्रतिकिलो २ रुपैयाँ घटेको छ तर दानाको मूल्य यथावत् छ,’ उजुरीमा उल्लेख छ ।

किसानलाई कम, उपभोक्तालाई चर्को मूल्य

कुखुरापालक किसान संघर्ष समितिका अनुसार कुखुराको मूल्य वृद्धिमा यी तीन संघ नै जिम्मेवार छन् । दाना र ह्याचरीको निर्देशनमा राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले मूल्य तोक्दै आएको छ ।
संयोजक खड्काका अनुसार माघ २२ गते जिउँदो कुखुराको मूल्य २६० रुपैयाँ निर्धारण गरिएको थियो । किसानले भने २५० रुपैयाँ मात्रै पाएका थिए । ‘संघले मूल्य निर्धारण गरे पनि तोकेको मूल्यको १० रुपैयाँ घटाएर किसानलाई पैसा दिन्छन् । बिल बनाउँदा थप १ प्रतिशत कम मूल्य दिन्छन्,’ उनले भने ।
जिउँदो कुखुराको मूल्य २६० रुपैयाँ हुँदा तयारी मासु खुद्रामा ३५० देखि ३७० रुपैयाँ मात्रै पर्ने समितिको दाबी छ । ‘तर होलसेलमा १० रुपैयाँ र खुद्रामा ३०/४० रुपैयाँ बढी मुनाफा राख्दा उपभोक्तालाई मार पर्‍यो,’ खड्काले भने । उनका अनुसार तिहारको समयमा कुखुराको लागत मूल्य २२० रुपैयाँ थियो ।
दाना उद्योग संघको निर्देशनमा राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले सस्तो मूल्य तोकेको उनीहरूको दाबी छ । त्यसबेला कोल्डस्टोरले सस्तोमा किलोको १६० रुपैयाँमा कुखुरा खरिद गरेकामा अहिले कोल्डस्टोरमै ३९० रुपैयाँमा बिक्री गरेको समितिको आरोप छ ।
Article by