कुखुरा पालकको सफलता : २५ करोड लगानी, ४० लाई रोजगार

(चितवन) — १२/१३ वर्षको छँदा लोकल कुखुरा पाल्न थालेकी लक्ष्मी राणा २१ वर्षको हुँदा विकासे कुखुरातर्फ आकर्षित भइन् । त्यसका लागि उनी पोखरा पुगिन्, त्यहाँबाट ३५० वटा चल्ला ल्याइन् । ‘बेकक भन्ने विकासे जात थियो । त्यसले अन्डा दिन्थ्यो,’ उनले सम्झिइिन्, ‘लोकल कुखुराको सेतो अन्डा १० पैसामा बिक्री हुन्थ्यो, बेककको अन्डालाई भने २५ पैसा पर्थ्यो ।’

यो ०३६ सालको कुरा हो । त्यसबेला किनेको चल्लाको मूल्यबारे भने उनलाई हेक्का छैन । रोग वा अन्य कारणले चल्ला मर्ने डर थिएन । ल्याएका मध्ये तीनवटाबाहेक सबै हुर्किए । त्यसपछि उनले सात सय चल्ला थपिन् । हजार, दुई हजार हुँदै उनको फार्ममा कुखुराको संख्या निरन्तर बढ्न लाग्यो । चितवनमा कुखुरा पालन फस्टाउन थालेसँगै २५ वर्षअघि उनले ५० हजार लेयर्स कुखुरा राखिन् ।

‘एकपटक खोरमा ७० हजार लेयर्स थिए । अन्डा दिन सुरु गरेको दुई महिनामात्रै भएको थियो,’ उनले सुनाइन्, ‘बर्डफ्लु देखापर्‍यो । खोरका सप्पै कुखुरा नष्ट गर्नुपर्दा ठूलो घाटा लाग्यो ।’ तर उनी हार मान्ने व्यक्ति थिइनन् । निश्चित समय पुगेपछि खोर संक्रमण मुक्त भयो । त्यसपछि ५० हजार चल्ला राखिन् ।

उनै लक्ष्मी अहिले कलेजी रङको प्राडो गाडी सानसँग हुइँकाउँछिन् । ६१ वर्षको उमेरमा पनि यो व्यवसायमा उनको सक्रियता घटेको छैन । भरतपुर महानगरपालिका–९ गोन्द्राङमा रहेको आशा पोल्ट्री फार्मले अहिले मासुका लागि पालिने ब्रोइलर कुखुराको  चल्ला उत्पादन गर्छ । आरसीसी ढलान गरेको तीनतले पक्की खोरभित्र ब्रोइलर कुखुराका ५० हजार प्यारेन्ट अटाएका छन् । हप्तामा ३० हजार गोटा चल्ला उत्पादन हुन्छ । तीन वर्षअघिसम्म लक्ष्मी अन्डा दिने लेयर्स कुखुरा पाल्थिन् । उनको फार्ममा ७० हजार लेयर्स थिए ।

चितवनलाई पोल्ट्रीको राजधानीसमेत भन्ने गरिन्छ । ५० को दशकदेखि यहाँ व्यावसायिक कुखुरा पालन फस्टाएको हो । अग्रणी पोल्ट्री व्यवसायी लक्ष्मीले विकासे जातका कुखुरा पाल्न थालेको चार दशक बितिसकेको छ ।

‘लगानीका लागि रकम जुटाउन नसक्दा गाह्रो हुने हो । यस्ता अप्ठ्यारा बेलाबेलामा आइरहन्छन्,’ कुनैबेला बर्डफ्लुबाट घाटा बेहोरेकी उनी भन्छिन्, ‘वित्तीय संस्थाले सहज लगानी गर्दा संकटबाट बाहिर निस्कन सहजै भयो ।’ ठूलो मात्रामा कुखुरा पालन थाल्दा सुरुसुरुमा उनले एकैपटक ५० लाख रुपैयाँसम्म वित्तीय संस्थाबाट ऋण लिएकी थिइन् । ‘मेरो व्यवसायप्रतिको लगावले पनि लगानीकर्ता ढुक्क भएका होलान्,’ उनको बुझाइ छ, ‘वा, आरसीसी गरेको कुखुराको खोर भएकाले ऋण दिन गाह्रो मानेनन् कि ।’

उनको ह्याचरीमा अहिले २५ करोड रुपैयाँ लगानी भएको छ । जसमध्ये अधिकांश बैंकको ऋण नै हो । अविवाहित लक्ष्मीलाई व्यवसायमा माइला दाइ पदमजंग राणाले पनि सघाउने गरेका छन् । ‘महिलालाई जहाँ पनि समस्या छ, तर ती कठिनाइलाई वास्ता नगरेपछि अगाडि बढ्न सकिने रहेछ,’ उनले अनुभव साटिन् ।

आफूले चाहेका सामग्रीहरू किन्दा बाबाआमासँग पैसा माग्न नपरोस् भनेर उनले कुखुरा पाल्न थालेकी हुन् । बिस्तारै व्यवसायबाट आर्थिक रूपमा आत्मनिर्भर भइन् । अहिले सफल व्यवसायीको परिचय बनाएकी उनले फार्ममा ३०/४० जनालाई रोजगारी दिएकी छन् ।

‘बाबाआमाबाट मैले भरतपुर क्षेत्रमा १४ कट्ठा जग्गा पाएको हो । अहिले मसँग यही भरतपुर वरपर पाँच बिघा जमिन छ । त्यो सबै यही व्यवसायबाट नै भएको हो,’ आफ्नो सफलताबारे उनले सुनाइन् । पहिला देशभर भारतीय अन्डा पुगेको थियो । ५५/५६ सालमा नेपाली व्यवसायीहरू सक्रिय भएर अभियान चलाएपछि यो क्रम रोकियो । उक्त अभियानमा उनी सक्रिय रूपमा लागेकी थिइन् ।

‘अहिले उत्पादन भएको मासु र अन्डालाई बजारको समस्या छ । काम गर्न मान्छे पाइँदैन,’ उनले भनिन्, ‘व्यवसाय बढ्दैसँगै चुतौतीहरू पनि थपिँदै छन् ।’ पशुसेवा विभागबाट ०७३ सालमा सफल व्यवसासीको रूपमा सम्मानित भएकी लक्ष्मीले गत भदौमा शिखर कर्मशील किसान पुरस्कार पनि हात पारिन् ।
Source:- ekantipur.
Article by