कालिज संरक्षण गरिँदै

बागलुङ । बढ्दो शिकारले सङ्कटमा पर्ने देखिएपछि कालिज संरक्षण प्रयास अघि बढाइएको छ । कागलुङ् नगरपालिका–१ स्थित कालिका भगवती मन्दिर व्यवस्थापन समिति कालिज संरक्षणमा लागेको हो । वासस्थानको सुरक्षा र चोरी शिकार नियन्त्रणमा योजनाबद्ध काम सुरु गरिएको छ ।

मन्दिर वरिपरि रहेको १९० रोपनी वन क्षेत्रमा कालिजलगायतका पक्षींको वासस्थान छ । प्राकृतिक वासस्थानमै कालिज संरक्षण गरिएको मन्दिरका अध्यक्ष राजु खड्काले बताए । उनका अनुसार हिजोआज कालिज मन्दिरका परेवासँगै चारो टिपिरहेका हुन्छन् ।

संरक्षण र हेरचाहले कालिजको आनीबानी फेरिएको उनको बुझाइ छ । मन्दिर प्राङ्गणमै परेवाको बथानमा मिसिएर चर्छन्, अध्यक्ष खड्काले भने, “हेर्दा पनि अनौठो र रमाइलो लाग्छ । मन्दिर परिसरको जङ्गलमा दुर्लभ देखिने कालिज अहिले दैनिकजसो भेटिन थालेका छन् ।

जङ्गलभित्र आवतजावत रोक्ने गरी तारबार गरेपछि कालिज संरक्षणमा ठूलो टेवा पुगेको छ । मन्दिरमा खटिने प्रहरी, कर्मचारीलाई पनि विशेष रुपमा सचेत बनाएका छौँ, उनले भने, “जङ्गलको बीच–बीचमा कालिजलाई चारो पनि राख्ने गरेका छौँ ।

‘वन कुखुरा’ भनेरसमेत चिनिने कालिज बढी अवैध शिकार हुने जङ्गली चरा हो । कालिजको वासस्थान जोगाउन र चोरी शिकार रोक्न सके कालिज संरक्षण हुने देखिएको उनले बताए । मन्दिरमा अहिले चार वटा समूहमा कालिज रहेको अनुमान गरिएको छ । एउटा समूहमा सात–आठ वटासम्म कालिज देखिएको अध्यक्ष खड्काले बताए । विशेष गरी मन्दिरको दक्षिणी क्षेत्रको जङ्गलमा कालिजको बढी बसोबास छ । यही हिसाबले संरक्षण योजना सफल भए कालिजको सङ्ख्या बढ्दै जाने बताइएको छ ।

कालिज संरक्षणको प्रयास प्रशंसनीय रहेको डिभिजन वन कार्यालयका सहायक वन अधिकृत मदन सुवेदीले बताए । वन्यजन्तु संरक्षणमा अझै व्यवस्थित र योजनाबद्ध काम गर्न आवश्यक छ, ”उनले भने ।

पछिल्लो समय अवैध चोरी शिकारका कारण कालिज सङ्कटमा छ । मानव बस्तीदेखि नजिकैका जङ्गलमा पाइने भएको हुँदा कालिजको बढी शिकार हुन्छ । कालिजको मासु स्वस्थ र स्वादिलो मानिन्छ । लोपोन्मुख अवस्थामा नभए पनि कालिज शिकार गर्नु गैरकानूनी हुने सहायक वन अधिकृत सुवेदीले बताए ।

कालिजलगायत कुनै पनि पक्षी र वन्यजन्तु शिकार गरे जरिवाना र जेल सजायसम्म हुन्छ, ”उनले भने । शिकारको उजुरी आए कार्यालयले कारवाही प्रक्रिया अघि बढाउने उनको भनाइ छ । अनुमति लिएर र दस्तुर तिरेर केही निश्चित संरक्षित क्षेत्र र शिकार आरक्षमा मात्र कालिजको शिकार गर्न पाइने व्यवस्था छ ।

पछिल्लो समय नेपालमा कालिजको विकसित जातलाई व्यावसायिक रुपमा पनि पाल्न थालिएको छ । होटल, रेष्टुराँमा कालिजको मासु महँगो मूल्यमा बिक्री हुन्छ । मन्दिरमा वन्यजन्तु संरक्षण उद्यान निर्माणको लागि तारबार गर्ने, अग्निरेखा बनाउनेलगायतका काम अघि बढाइएको छ । वन्यजन्तु संरक्षणसँगै पर्यटकीय गन्तव्य बनाउन उद्यानको योजना ल्याइएको अध्यक्ष खड्काले बताए । मन्दिर क्षेत्रमा नभएका वन्यजन्तु र पक्षी बाहिरबाट ल्याएर राखिने जनाइएको छ ।

Source:-souryaonline

Article by