कागमा बर्डफ्लुको संक्रमण भेटियाे, संक्रमित आसपासका ठाउँबाट मासु नकिन्न विज्ञकाे सुझाव

काठमाडाैं । काठमाडौँको विभिन्न ठाउँका कागमा पनि बर्ड फ्लूको संक्रमण देखिएपछि सचेत रहन पशु चिकित्सकले आग्रह गरेका छन् । बाँस घारी बढि भएका क्षेत्रमा मरेका कागको परीक्षण गर्दा बर्ड फ्लूको संक्रमण भेटिएको विभागले पुष्टि गरेको हो । लैनचौर तथा नारायणहिटी दरबार क्षेत्रमा मरेका भेटिएका झण्डै ३ सय कागको परीक्षण गर्दा बर्ड फ्लू भाइरस एच फाइभ एन वान भएको पुष्टि भएपछि थप निगरानी बढाइएको पशु सेवा विभागका उपमहानिर्देशक काफ्लेले जानकारी दिनुभयो ।

यसैबीच, विभागले सकेसम्म कुखुरालगायत पशुको मासु नखान, रोग भेटिएको आसपासका ठाउँबाट पन्छिको मासु नकिन्न, र खानै परे राम्रोसँग पकाएर मात्र खान पशु सेवा विभागका उपमहानिर्देशक काफ्लेले आग्रह गर्नुभयो ।

व्यवसायीलाई पनि रोगबाट संक्रमित ठाउँबाट पन्छी नकिन्न पनि उहाँले सुझाव दिनुभएको छ । खानेलाई भन्दा मासु काट्ने, किनेर ल्याउने, कुखुराको हेरचाह गर्नेलाई रोग सर्ने जोखिम धेरै हुने चिकित्सकहरुको भनाइ छ । काठमाण्डौमा काग र कुखुरामा बर्ड फ्लू भएको पुष्टि भएपछि निगरानी बढाइएको पशु सेवा विभागले जनाएको छ ।

जंगली पन्छीमा देखिएको बर्ड फ्लू नियन्त्रण गर्न अत्यन्तै गाह्रो हुने उहाँको भनाइ छ ।  बर्ड फ्लू भएर मरेका पन्छीलाई तत्कालै गाड्ने र सक्रमण देखिने वित्तिकै नष्ट गर्ने, फार्मको जैविक सुरक्षा गर्ने, अरु पन्छीको पनि खोर ब्यवस्थित गर्ने लागयतका काम भइरहेको उहाँले बताउनुभयो ।

बाहिरी देशका कतिपय ठाउँका पन्छीमा पनि बर्डफ्लूको संक्रमण देखिएकाले ती देशबाट आउने मौसमी पन्छीले पनि नेपालमा बर्ड फ्लू सारेको हुनसक्ने उहाँले बताउनुभयो ।

काठामाण्डौ  भक्तपुर र ललितपुरका केही कुखुरा फार्ममासमेत अहिले बर्ड फ्लू भेटिएका छन् । यस्तै मकवानपुरको हेटौँडा उपमहानगरपालिका, कास्कीको मादी गाउँपालिका, मोरङ्गको सुन्दरहरैचा नगरपालिका तथा सुनसरीको इटहरी नगरपालिकाका फर्ममा पनि बर्ड फ्लू पुष्टि भएको थियो ।।

Article by