अविनाश पोल्ट्रीले बनायो सुलीबाट अर्गानिक मल

गाजीपुर । भरतपुर महानगरपालिका १८, गाजीपुरमा रहेको अविनाश पोल्ट्री फार्म प्रालिले फार्मबाट निस्केको सुली तथा फोहोरबाट अर्गानिक मल उत्पादन गरेको छ । फोहोरको व्यवस्थापनसँगै त्यहाँबाट फैलिने दुर्गन्धबाट स्थानीय बासिन्दाले पनि मुक्ति पाएका छन् ।

पोल्ट्री फार्मले रू पाँच करोडको लगानीमा जर्मन प्रविधिको उपकरणले सुली व्यवस्थापन गरेर अर्र्गािनक मल बनाउने नयाँ प्लान्ट तयार गरेपछि स्थानीयहरुले दुर्गन्धबाट मुक्ति पाएका हुन् ।

भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले सोमबार नयाँ प्लान्टको स्वीच अन गरेर शुभारम्भ गरिन् । प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेत, जिल्ला प्रहरी प्रमुख दानबहादुर मल्ललगायतले सुली व्यवस्थापन र नयाँ प्लान्टको निरीक्षण गरेका थिए ।

पोल्ट्री महासंघका अध्यक्षसमेत रहेका फार्मका सञ्चालक गुणचन्द्र विष्टले सुली तथा फोहोर व्यवस्थापनका लागि अत्याधुनिक जर्मनीको पोल्टेक कम्पनीको प्लान्ट नेपालमै प्रथम प्रयोगका रुपमा सुरू गरेको बताए ।

सञ्चालक विष्टले दुर्गन्धबाट स्थानीय बासिन्दा अब मुक्त हुने दाबी गरेका छन् । ‘दुर्गन्धकै कारण थप चल्ला हालेको थिइनँ, दुई सेट (कुखुरा खोर) खाली नै छ अझै पनि’, उनले भने । उनले अविनाश पोल्ट्री फार्मले दैनिक एक लाख ८० हजार कुखुरा तथा २ लाख ५० हजार अण्डा उत्पादन गर्ने गरेको र अत्याधुनिक उपकरणको प्रयोगसँगै उत्पादन पनि बढ्ने बताए ।

सुली व्यवस्थापन गरेर दैनिक २०/२५ टन अर्र्गािनक मल उत्पादन गरेर स्थानीय बजारमा पु¥याउने बताउँदै सञ्चालक गुणचन्द्र विष्टले नयाँ–नयाँ प्रविधिको प्रयोगले उत्पादन लागत कम पर्ने र पुरानै उपकरणहरुले उत्पादन लागत बढाउने बताए ।

भरतपुर १८, नारायणी तट गाजीपुरमा करिब ७ वर्षअगाडि सञ्चालनमा आएको उक्त फार्मबाट विसर्जन हुने सुली करिब १.५ बिगाहा क्षेत्रमा डम्पिङ गरिँदै आएको र सो कुखुराको सुलीको दुर्गन्ध वडा नं १७, १८ र २६ को ४ किलोमिटर टाढासम्म फैलेको हुँदा गाजीपुर, सिम्रीटाउन, भुवनबस्ती क्षेत्रका बासिन्दाहरु अति नै प्रभावित भएको भन्दै सुली तथा फोहोरको उचित व्यवस्थापनको माग भएको थियो ।

Source:-echitwanpost

Article by